सय मत गन्न बाँकी हुँदा सिरहामा हस्ताक्षरबिनाका मतपत्र भेटिए, कांग्रेस-एमाले कार्यकर्ताबीच झडप – Nepal Press

सय मत गन्न बाँकी हुँदा सिरहामा हस्ताक्षरबिनाका मतपत्र भेटिए, कांग्रेस-एमाले कार्यकर्ताबीच झडप

गणना रोकियो, सर्वदलीय बैठक जारी

जनकपुरधाम । सिरहाको धनगढीमाई नगरपालिकाको मतगणना स्थलमा नेपाली कांग्रेस र नेकपा एमाले कार्यकर्ताबीच झडप भएको छ ।

वडा नम्वर ८ को मतगणना गर्दा मतदान अधिकृतको हस्ताक्षर नरहेको १७ वटा मतपत्र भेटिएपछि कांग्रेसका कार्यकर्ताले ढुंगामुढा गरे । एमाले कार्यकर्ताहरू बसेको टेन्टमासमेत ढुंगा हानेपछि दुवै पक्षका कार्यकर्ताबीच झडप भएको बताइएको छ ।

कांग्रेस कार्यकर्ताहरू ढुंगामुढा गर्दा दुईवटा गाडीको सिसासमेत फुटेको छ । प्रहरीले स्थिति नियन्त्रणमा लिन अश्रुग्यास प्रहार गरेको छ । समस्या समाधानका लागि सर्वदलीय बैठक जारी छ ।

मतदान अधिकृतको हस्ताक्षरबिनाको मतपत्र भेटिएपछि धाँधली भएको भन्दै कांग्रेस कार्यकर्ता विरोधमा उत्रिएका छन् । गणनाको क्रममा मेयरका प्रत्यासी कांग्रेस जिल्ला सभापतिसमेत रहेका पूर्वसांसद रामचन्द्र यादव पछाडि छन् ।

नेकपा एमालेका मेयर उम्मेदवार शिवशंकर महतो सुरूदेखि नै अग्रता कायम राखेका छन् । करिब १ सय भोट मात्र गन्ना गर्न बाँकी रहेको र कांग्रेस हार्न लाग्दा बखेडा झिकेर लफडा गर्न खोजेको एमालेको आरोप छ ।

निर्वाचन अधिकृतको कार्यालयका एक कर्मचारीका अनुसार बिनाहस्ताक्षरको मतपत्र फेलापरेपछि विवाद हुँदा तत्काल मतगणना स्थगित भएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर