निर्वाचित भएको सात दिनभित्र पद तथा गोपनियताको शपथ लिइसक्नुपर्ने – Nepal Press

निर्वाचित भएको सात दिनभित्र पद तथा गोपनियताको शपथ लिइसक्नुपर्ने

काठमाडौं । निर्वाचन आयोगले स्थानीय तहको निर्वाचनमा निर्वाचित भएका जनप्रतिनिलाई निर्वाचन भएको सात दिन भित्र पद तथा गोपयिनताको शपथ लिइसक्न निर्देशन दिएको छ ।

निर्वाचित जनप्रतिनिधिमध्ये गाउँपालिकाको अध्यक्ष, नगरपालिकाको प्रमुख र जिल्ला समन्वय समितिको प्रमुखले आफ्नो कार्यभार सम्हाल्नु अगावै निर्वाचित भएको सात दिनभित्र सम्बन्धित जिल्ला न्यायाधीश समक्ष पद तथा गोपनियताको शपथ लिनुपर्ने जनाएको हो ।

यस्तै गाउँपालिकाको उपाध्यक्ष, नगरपालिकाको उपप्रमुख, वडाअध्यक्ष, गाउँ तथा नगरसभाका सदस्य र जिल्ला समन्वय समितिका उपप्रमुख र सदस्यले अध्यक्ष वा प्रमुखले शपथ लिएको सात दिनभित्र पद तथा गोपनियताको शपथ लिनुपर्ने जनाएको छ । त्यसै अनुसार गर्न गराउन सम्बन्धित सबैलाई स्मरण गराएको हो । निर्वाचितस्थानीय सरकार सञ्चालन ऐन, २०७४ मा शपतको ढाँचा रहेको छ ।

यस्तै गाउँ सभाको निर्वाचनको अन्तिम परिणाम प्राप्त भएको मितिले पन्ध्र दिनभित्र गाउँ सभाका सदस्यले आफूमध्येबाट निर्वाचित गरेका चार जना महिला सदस्य र दलित वा अल्पसंङ्ख्यक समुदायबाट गाउँ सभाले निर्वाचित गरेका दुई जना सदस्य हुने व्यवस्था रहेको पनि आयोगले स्मरण गराएको छ ।

नगर सभाको निर्वाचनको अन्तिम परिणाम प्राप्त भएको पन्ध्र दिनभित्र नगर सभाका सदस्यले आफूमध्येबाट निर्वाचित गरेका पाँच जना महिला सदस्य र दलित वा अल्पसंङ्ख्यक समुदायबाट नगर सभाले निर्वाचित गरेका तीन जना सदस्यसमेत नगर कार्यपालिकाको सदस्य हुने व्यवस्था रहेको जनाएको छ । त्यसै व्यवस्थाबमोजिम गर्न पनि आयोगले सम्बन्धित निकायलाई स्मरण गराएकोछ । नेपालको संविधानको धारा २ सय १५ को उपधारा (४) र धारा २ सय १६ को उपधारा (४) यस्तो व्यवस्था गरिएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर