सामाजिक सञ्जालमा चरित्रहत्या गरिएको भन्दै सञ्चारकर्मी पौडेलले दिए साइबर ब्यूरोमा उजुरी
काठमाडौं । सञ्चारकर्मी तथा फोटो पत्रकार श्रीधर पौडेलले सामाजिक सञ्जालमा आफ्नो तस्बिर दुरुपयोग गर्दै चरित्रहत्या गरिएको विषयमा प्रहरीको साइबर ब्यूरोमा निवेदन दिएका छन् ।
एक युवतीले आफूमाथि भएको यौन शोषणको विवरण बाहिर ल्याएपछि त्यसमा आफूलाई अनावश्यक रूपमा मुछेर चरित्रहत्या गरिएको उनको गुनासो छ ।
पौडेलले आज आफ्नो तस्बिर प्रयोग गरी गालीगलौज र झूटो लाञ्छना लगाउने फेसबुक, इन्स्टाग्राम तथा टिकटकका अकाउन्टहरूको विवरणसहित ब्यूरोमा ठाडो उजुरी दिएका हुन् ।
उक्त घटनामा आफू कतै संलग्न नरहेको र पीडितले पनि आफ्नो नाम नलिएको अवस्थामा आफू र परिवारलाई समेत मानसिक तनाव हुने गरी दुष्प्रचार भएपछि प्रहरीमा पुगेको पौडेलले बताए ।
आफ्नो तस्बिर प्रयोग गरेर दुष्प्रचार गर्नेहरूलाई पक्राउ गरी कारबाही गर्न पौडेलले माग गरेका छन् । साइबर ब्यूरोका एसपीले घटनाबारे अनुसन्धान गर्ने बताए ।