अजय थापाको संयोग : कांग्रेसले टिकट नदिएपछि राप्रपा प्रवेश, एक महिनामै शिवराजको मेयर – Nepal Press

अजय थापाको संयोग : कांग्रेसले टिकट नदिएपछि राप्रपा प्रवेश, एक महिनामै शिवराजको मेयर

रुपन्देही । उम्मेदवारी दर्ता गराउने अघिल्लो दिनसम्म नेपाली कांग्रेसमा रहेका कपिलवस्तुको शिवराज नगरपालिकाका अजय थापा टिक पाउने सर्तमै राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) प्रवेश गरेका थिए । प्रवेश गरेसँगै उनी राप्रपाको तर्फबाट उम्मेदवारी दर्ता गराए र चुनाव प्रचारमा लागे ।

एक महिना नपुग्दै उनले सो पार्टीबाट मेयरमा आफ्नो जित दर्ता गराए । यसअघि नेकपा एमालेले मेयर उपमेयरसहित बहुमत वडाध्यक्ष जितेको नगरपालिकामा थापाको उम्मेदवारीलाई धेरैले जित्ने विश्वासै गरेका थिएनन् ।

बल्ल ३३ वर्ष पुगेका उनले मेयरमा जिते पनि पालिकामा रहेका कुनै वडा राप्रपाले जित्न नसकेकाले उनको व्यक्तिगत प्रभावकै कारण जितेको प्रस्ट हुने स्थानीयको विश्लेषण छ ।

थापाले नगरपालिकामा खसेको कुल ३३ हजार ६ सय २९ मतमध्ये ७ हजार ६ सय २ मत प्राप्त गरेका छन् ।

उनका प्रतिस्पर्धी नेकपा एमालेका उम्मेदवार महादेव पोख्रेलले ७ हजार १ सय २८ मत प्राप्त गरे।

०७४ सालको स्थानीय तहको निर्वाचन थापा स्वयम राप्रपाबाट उम्मेदवार थिए ।

मेयरमा पराजित थापा मंसिरमा सम्पन्न संघीय र प्रदेशको चुनावमा नेपाली कांग्रेस प्रवेश गर्दै प्रदेशसभामा चुनाव लडेका थिए । त्यहाँ पनि पराजित भएका थापा मनोनयन दर्ताको अघिल्लो दिनसम्म कांग्रेसमा सक्रिय थिए ।

पार्टीले मेयरमा टिकट नदिएपछि पार्टीबाट विद्रोह गर्दै राप्रपा लागेका थापा अन्ततः मेयरमा निर्वाचित भए । शिवराजमा कांग्रेसका मेयरका उम्मेदवार हुमकान्त खनाल तेस्रो स्थानमा पुगेका छन् ।

नगरको उपप्रमुख पदमा भने नेकपा एमालेकी शिवकुमारी थारु निर्वाचित भएकी छन् । थारुले ७ हजार ९सय ५५ मत प्राप्त गरी निर्वाचित भएकी हुन् । उनकी प्रतिस्पर्धी नेपाली कांंग्रेसकी उम्मेदवार शारदा कार्कीले ६ हजार १ सय ८५ मत प्राप्त गरिन्। एमाले उम्मेदवार थारुले २०७४ मा पनि नगर उपप्रमुख जितेकी थिइन् ।

शिवराज नगरपालिकामा राप्रपाले नगर प्रमुख मात्रै जितेको छ। एमालेले नगर उपप्रमुखसहित ३ वटा वडा, कांग्रेसले ३ वडा, नेकपा माओवादी केन्द्रले २ वडा, लोकतान्त्रिक समाजवादी पार्टीले २ वटा वडा र जनता समाजवादी पार्टीले १ वटा वडा जितेका छन् ।

११ वडा रहेको शिवराजमा सुरुवातदेखि अग्रता बढाउँदै गएका थापा बिहीबार अन्तिम मत परिणाम आउँदासम्म अग्रस्थानमै रहेका थिए ।

स्नातक पढेका सामान्य परिवारका थापाले एकाएक नगरपालिकाको मेयर बनेर सबैलाई आश्चर्यमा पारेका छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर