लुम्बिनीमा प्रमुखमा उम्मेदवारी दिने १२ महिलामध्ये २ विजयीः दोस्रो प्रयासमा सफल अर्याल, उपाध्यक्षबाट अध्यक्ष बनिन् चिदी – Nepal Press

लुम्बिनीमा प्रमुखमा उम्मेदवारी दिने १२ महिलामध्ये २ विजयीः दोस्रो प्रयासमा सफल अर्याल, उपाध्यक्षबाट अध्यक्ष बनिन् चिदी

रुपन्देही । लुम्बिनी प्रदेशका १०९ पालिकामध्ये २ वटामा मात्रै महिला प्रमुखमा निर्वाचित भएका छन् । दलहरुले उम्मेदवारी दिने समयमै महिलाहरुलाई उपेक्षा गरेका थिए । उम्मेदवारी दिएकामध्ये पनि हालसम्म २ जनामात्रै निर्वाचित भएका छन् ।

गणना भइरहेका पालिकामा महिला उम्मेदवारको अग्रता छैन । जसले गर्दा लुम्बिनी प्रदेशले २ जनामात्रै महिला प्रमुख पाउने निश्चित भएको छ । यसपटक निर्वाचित दुवै जना एमालेका छन् ।

संविधानमा एउटै दलले पालिकाको प्रमुख र उपप्रमुखमा उम्मेदवारी दिँदा एक जना महिला अनिवार्य व्यवस्था गरिएको छ । तर, दलहरुले महिलाको लागि उपप्रमुख नै हो भन्ने गरी उम्मेदवार छनोट गरेको देखिन्छ । त्यसमाथि दलहरु गठबन्धन गरेर निर्वाचनमा जाँदा कतिपय पालिकामा उपप्रमुखमा पनि पुरुषकै उम्मेदवारी परेका छन् । जसले गर्दा महिलाको उम्मेदवारी झनै घटेको छ ।

लुम्बिनीमा पाल्पाको बगनासकाली र पश्चिम नवलपरासीको सुनवल नगरपालिकामा एमालेका महिला उम्मेदवार प्रमुखमा निर्वाचित भएका हुन् । पाल्पा बगनासकाली गाउँपालिकाको अध्यक्षमा सरस्वती चिदी र सुनवल नगरपालिकामा विमला अर्याल प्रमुखमा चुनिएका छन् । सुनवल नगरपालिकामा गठबन्धनलाई पराजित गर्दै एमालेकी अर्याल विजयी भएकी हुन्। उनले नेपाली कांग्रेसका जिल्ला सभापतिसमेत रहेका अर्जुनकुमार पोखरेललाई पराजित गरिन् । अर्यालले १४ हजार ८३८ ल्याउँदा प्रतिस्पर्धी पोखरेलले ११ हजार ६२० मत ल्याए ।

एमालेको केन्द्रीय सदस्य तथा जिल्ला सहइन्चार्ज रहेकी अर्याल ५ वर्षअघि प्रमुख पदमै पराजित भएकी थिइन् । अर्यालले यो जित आफ्नो नभई सुनवलवासीको भएको भन्दै जनताको काम नै आफ्नो काम भएको बताइन् । आफूलाई जनताले धेरै अपेक्षा गरेको भन्दै जनताको अपेक्षा, आशामा आघात नपर्ने गरी काम गरेर देखाउने उनले बताइन् ।

‘गत निर्वाचनमा पराजित भए पनि म निरन्तर जनताको काममा, पार्टीको काममा खटिएँ । यही कारणले मलाई यहाँका नागरिकले विश्वास गर्नुभयो, म नागरिकले महसुस गर्ने गरी सेवामा खटिनेछु’, अर्यालले भनिन् ।

पाल्पा गनासकाली गाउँपालिकामा सरस्वती चिदीले नेपाली कांग्रेसकी सुनिता अधिकारीलाई पराजय गरिन् । चिदीले ८३३ मतान्तरले कांग्रेसकी अधिकारीलाई पराजित गरेकी हुन् । चिदीले ६ हजार ४६६ मत ल्याउँदा कांग्रेसकी अधिकारीले ५ हजार ६३३ मत प्राप्त गरिन् ।

चिदी २०७४ सालको स्थानीय तह निर्वाचनमा उपाध्यक्षमा विजयी भएकी थिइन् । गाउँपालिकाको अध्यक्षमा विजयी चिदीले यसअघि उपाध्यक्ष हुँदाको अनुभवलाई लिएर जनताको सेवक बन्ने बताएकी छन् । निर्वाचनमा लडेका सबैलाई साथमा लिएर अघि बढ्ने बताउँदै उनले सडक, पूर्वाधार, शिक्षा, स्वास्थ्य, महिला तथा पछाडि परेको समुदाय, खानेपानी, कृषिलगायतका विषयलाई प्रमुख प्राथमिकतामा राखेर काम गर्ने बताइन् ।

‘५ वर्ष उपाध्यक्ष भएर अनुभव लिएकी छु, स्थानीय सरकार कसरी सञ्चालन गर्नुपर्छ भन्ने अनुभव छ । जनताको काम मेरो प्राथमिकता रहनेछ’, उनले भनिन् ।

लुम्बिनीमा एमालेले ६ पालिका प्रमुमा महिलालाई उठाएको थियो । कांग्रेसले एक पालिकामा मात्रै महिला उठाएको थियो । माओवादी केन्द्र र जसपाले समान २–२ स्थानको प्रम्खमा महिलालाई उम्मेदवार बनाएका थिए । नेकपा एकीकृत समाजवादीले भने एउटामा मात्रै महिला प्रमुख उठाएको थियो । तर, कसैले जित निकाल्न सकेनन् ।

एमालेबाट नवलपरासीको सुनवलको मेयरमा विमला अर्याल, रुपन्देहीको लुम्बिनी सांस्कृतिकको मेयरमा रमावती यादव, बाँकेको डुडुवाको अध्यक्ष सरोजकुमारी यादव, नरैनापुरको अध्यक्षमा पदमावती यादव, पाल्पाको बगनासकालीको अध्यक्षमा सरस्वती चिदीले उम्मेदवारी दर्ता गराएका थिए ।

कांग्रेसबाट अर्घाखाँचीको सन्धिखर्कको मेयरमा शान्ता भण्डारीले उम्मेदवारी दिएकी थिइन् । माओवादीले कपिलवस्तुको बुद्धभूमिको प्रमुखमा कमला भुसाल र शुद्धोदनको अध्यक्षमा कमला यादवलाई उम्मेदवार बनाएको थियो ।

जसपाले पाल्पाको बगनासकाली गाउँपालिका र बर्दिया मधुवन नगरपालिकामा महिलालाई प्रमुखमा उठाएको थियो । नेकपा एसले रुपन्देहीको तिलोत्तमा नगरपालिकाको मेयरमा आशा चौधरीलाई उम्मेदवार बनाएको थियो ।

गत निर्वाचनमा प्रदेशबाट १ जनामात्रै महिला प्रमुखले निर्वाचन जितेकी थिइन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर