मतगणना निख्रिँदै, सडकमा फोहोर थुप्रिँदै (तस्बिर/भिडिओ)
काठमाडौं । पछिल्ला दिनमा उपत्यकाका चोकचोकबाट फोहोर उठ्न सकेको छैन । सडक किनारमा थुपारिएका फोहोरमाथि नै गाडी कुदाएर फोहोरले नै आधा सडक ढाकिसकेको छ ।
फोहोर उठाउने जिम्मा महानगरको हो । स्थानीय चुनावअन्तर्गत मतदान सकिएर महानगरको नेतृत्वका लागि मतगणना जारी छ ।
काठमाडौं महानगरपालिकाका अनुसार सिसडोल ल्यान्डफिल साइटअन्तर्गतको तीनपिप्ले-मुड्खु सडक कालोपत्रे गर्नुपर्ने माग गर्दै स्थानीयहरूले सडक अवरुद्ध गर्दा काठमाडौंमा फोहोर थुप्रिएको हो ।
‘फोहोर बोकेका गाडीहरूलाई स्थानीयले जान दिएका छैनन् । त्यही भएर समस्या भएको हो । हामीले आंशिक रूपमा फोहोर उठाउन सुरू गरिसकेका छौं । अबको केही दिनमा सबै फोहोर उठ्छ’, काठमाडौं महानगर वातावरण विभाग प्रमुख सरिता राईले बताइन् ।
गत वैशाख दोस्रो सातादेखि नै उपत्यकाको फोहोर व्यवस्थापन भएको छैन । सटरअगाडि थुप्रिएका फोहोर कुहिएर डुङडुङ गनाएपछि सबै खालका व्यवसायका ग्राहक जमघट प्रभावित बनेको सम्बन्धित व्यवसायीले बताएका छन् । सागै जनस्वास्थ्यमा जोखिम पनि बढेको छ ।
काठमाडौं उपत्यकामा दैनिक एक हजारदेखि १२ सय टन फोहोर निस्किन्छ । त्यो सबै सिसडोलमै पुग्छ । स्थानीयको अवरोध भनिए पनि चुनावको बेला फोहोर नउठ्नुले कतिपयले यसलाई राजनीतिक मुद्दासमेत बनाएका छन् । महानगरका मेयर विद्यासुन्दर शाक्यले चुनावपछि मात्र फोहोर फ्याँक्न चलखेल बढेको बताएका थिए ।
सिसडोलको ल्याण्डफिल भरिएको वर्षौं भइसक्यो । त्यसको विकल्पमा बन्दै गरेको बञ्चरेडाँडाको ल्याण्डफिल साइटमा जस लिने होडले अझै खुल्ला हुन सकेको छैन । फोहोर बञ्चडेडाँडामा फाल्न सुरु गरे जस मेयरलाई जाने भन्दै अझै शहरी विकास मन्त्रालयले खुला गराउन नचाहेको बताइएको थियो ।
भौतिक पूर्वाधार मन्त्रालयले २०७० देखि बनाइरहेको पासाङल्हामु राजमार्गको बाटो समयमै नबनेको कारण सिसडोलका स्थानीयहरुले महानगरसँग रिस पोख्न आन्दोलन गरिरहेको महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्यले बताएका थिए ।
चुनावबाट जितेर आउँने जनप्रतिनिधिसँग आफ्ना योजनाको सौदाबाजी गर्न फोहोर रोक्न चलखेल भइरहेको कतिपयले बताएका छन् ।