धनगढी उपमहानगरपालिकामा गठबन्धनभन्दा दोब्बर मतले स्वतन्त्र उम्मेदवार अगाडि – Nepal Press

धनगढी उपमहानगरपालिकामा गठबन्धनभन्दा दोब्बर मतले स्वतन्त्र उम्मेदवार अगाडि

उपप्रमुखमा गठबन्धनलाई एमाले उम्मेदवारले उछिनिन्

कैलाली । सुदूरपश्चिम प्रदेशका एक मात्र उपमहानगरपालिका धनगढीमा मतगणना जारी छ । ६३ हजार ७१५ मतमध्ये ५१ हजार ६५ मत गणना भइसकेको छ ।

१२ हजार ६५० मत गणना गर्न बाकी रहँदासम्म प्रमुख पदमा स्वतन्त्र उम्मेदवार गोपाल हमाल निकै अगाडी छन् । गठबन्धनका तर्फबाट उम्मेदवार बनेको नृपबहादुर वड भन्दा दोब्बर मतले हमालले अग्रता बनाइरहेका छन् ।

हमालले २२ हजार ५२१ मत पाउँदा गठबन्धनका तर्फबाट उम्मेदवार बनेका कांग्रेसका वडले ११ हजार ५४४ मत मात्रै पाएका छन् । अघिल्लो स्थानीय तहको निर्वाचनमा हमाल वडसँग पराजित भएका थिए । अघिल्लो पटक पनि स्वतन्त्र उम्मेदवारी दिएका हमाल २ हजार ७९७ ले पारिजात भएका थिए । तर, अहिले हमालले आफू अघिल्लो निर्वाचनमा पाएको मत भन्दा दोब्बर मत ल्याइसकेका छन् ।

एमाले उम्मेदवार रणबहादुर चन्दले अहिले ६ हजार ४२३ मत पाएका छन् ।

उपप्रमुखमा भने एमाले उम्मेदवार कन्दकला रानाले गठबन्धनकी उम्मेदवार शान्ति अधिकारीलाई उछिनेकी छन् । मतगणना सुरु भए सँगैबाट अग्रता बनाइरहेकी गठबन्धनको तर्फबाट उम्मेदवार बनेकी माओवादीकी अधिकारी अहिले पछि परेकी छन् । ५१ हजार ६५ मत गणना हुँदा सम्म १७८ मतले पछि परेकी हुन् ।

अधिकारीले १० हजार ७०२ मत पाउँदा रानाले १० हजार ८८० मत ल्याएकी छन् । स्वतन्त्र उम्मेदवार प्रभाकर भण्डारीले ६ हजार मत ल्याएका छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर