जनताको फैसला : बुटवल कसको किल्ला ? – Nepal Press

जनताको फैसला : बुटवल कसको किल्ला ?

मेयर गठबन्धनबाट कांग्रेसले जित्दा एमाले उपमेयरमा सीमित

रुपन्देही । तीन दशकयता नेकपा एमालेले पकडमा राखेको बुटवल उपमहानगरपालिकामा ११ वटा वडाध्यक्षसहित मेयरमा नेपाली कांग्रेसले जित निकालेको छ । मेयरमा साढे ७ हजारको मतान्तरमा पराजित एमालेले उपमेयरमा करिब ८ हजार मतान्तरले जित पायो । यसले बुटवलमा दलहरुले दावी गर्दै आएको किल्लामाथि जनताको मतले प्रश्न उठाएको छ ।

शनिबार सार्वजनिक मत परिणामअनुसार बुटवलको प्रमुखसहित बहुमत वडामा पाँच दलीय गठबन्धनको प्रतिनिधित्व गर्दै नेपाली कांग्रेसका खेलराज पाण्डे विजयी भए । यसअघिको निर्वाचनमा एमालेका शिवराज सुवेदीसँग २३०० मतान्तरले पराजित पाण्डे यसपटक एमालेकै बाबुराम भट्टराईलाई निकै फराकिलो मतान्तरले पराजित गर्न सफल भए ।

पाण्डेले कूल खसेकोमध्ये ३० हजार १३० मत प्राप्त गरेका छन् । एमालेका भट्टराईले २२ हजार ५९६ मत पाए । पाण्डेले भट्टराईभन्दा ७ हजार ५३३ मत बढी ल्याएका छन् । भट्टराईले २०७४ सालमा एमालेका सुवेदीले प्राप्त गरेको मत पनि जोगाउन सकेनन् । यसैगरी राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का मेयर उम्मेदवार मृगेन्द्र शेरचनले ४ हजार २९७ मत पाए ।

उपप्रमुख पदमा गठबन्धनबाट उम्मेदवार भएका नेकपा एकीकृत समाजवादीका चीनबहादुर गुरुङलाई पराजित गर्दै एमालेकी सावित्रा अर्यालले भारी मतान्तरले जित हासिल गरिन् । अर्यालले २४ हजार ९०४ मत प्राप्त गर्दा गुरुङले १६ हजार ९८० मत पाए । अर्यालले गठबन्धनका उम्मेदवारभन्दा ७ हजार ९२४ मत बढी पाइन् । यसैगरी राप्रपाकी भगवती पाण्डेले ६ हजार ५२९ मत पाइन् ।

गठबन्धनबाटै मेयर उम्मेदवार पाण्डेले फराकिलो जित निकाल्दा गठबन्धनकै उपमेयर उम्मेदवार गुरुङ पराजित हुन पुगे । आफ्ना उम्मेदवार पराजित भएपछि नेकपा एसले गठबन्धनभित्र ठूलो अन्तरघात भएको भनेको छ ।

बुटवलका १९ वटा वडामध्ये कांग्रेसले ११ वटा जितेको छ । ५ वटा वडा एमालेले जित्यो । बुटवलमा एकीकृत समाजवादीले एउटा र अर्को एउटा वडा स्वतन्त्र उम्मेदवारले जितेका छन् । वडा नं ४, ५, ६, ७, ८, ९, १२, १३, १५, १६ र १७ वडा कांग्रेसले जित्यो । वडा नं ३ मा चुनाव चिन्ह रुख लिएका माओवादी केन्द्रका विष्णु ढकाल, ४ मा नरिश्वर शर्मा, ५ मा हरिप्रसाद श्रेष्ठ, ६ मा लोकनाथ न्यौपाने, ७ मा पदमराज गाहा, ८ मा यज्ञप्रसाद पंगेनी, ९ मा प्रदीपकुमार श्रेष्ठ, १२ मा डिल्लीप्रसाद शर्मा उपाध्याय, १३ मा नारायणप्रसाद पुन, १५ मा शिव राना, १६ मा कृष्णप्रसाद पौडेल र १७ मा ज्ञानबहादुर रेश्मी वडा अध्यक्ष विजयी भए ।

त्यस्तै एमालेले १०, ११, १४, १८ र १९ वडा जितेको छ । एमालेबाट १० मा बलबहादुर पुन, ११ मा रामचन्द्र क्षेत्री, १४ मा दधिराम न्यौपाने, १८ मा गुरुप्रसाद पंगेनी र १९ मा चन्द्रसिंह थापामगरले वडा अध्यक्ष जिते । वडा नं १ मा स्वतन्त्र उम्मेदवार नरेन्द्र बस्नेत विजयी भए । उनले कांग्रेसबाट विद्रोह गरी स्वतन्त्र उम्मेदवारी दिएका थिए । वडा नं २ मा गठबन्धनबाट एकीकृत समाजवादीका सुनिल शाक्य विजयी भए ।

शासक होइन, सेवक बन्छु : पाण्डे

नगर प्रमुखमा निर्वाचित पाण्डेले बुटवल उपमहानगरलाई सबै दल र संघसंस्थाको साझा चौतारी बनाउने आफ्नो प्रतिबद्धतामा कुनै कमी नआउने बताएका छन् । उनले सबैको रायसुझावका आधारमा काम गर्ने उल्लेख गर्दै बुटवल उपमहानगरलाई सबैले अपनत्व लिने गरी सबै दल र संघसंस्थाको साझा चौतारी बनाउने जानकारी दिए ।

पाण्डेले भने, ‘कार्यपालिका गठनपछि सबैको रायसुझावका आधारमा मात्रै निर्णय गर्छु । एक्लै केही गर्दिनँ, अर्को मुख्य कुरा म शासक होइन, सेवक बन्छु ।’

उनले बुटवलमा सबैको चासो र आवश्यकताका रुपमा रहेको चौराहा–बुटवल सडक निर्माणलाई छिटो पूरा गराउने, खानेपानी समस्या, ज्योतिनगर पहिरो नियन्त्रण, मोतीपुर औद्योगिक क्षेत्र, तिनाउ दानव करिडोर प्रभावित र सुकुम्बासी तथा अव्यवस्थित बसोबासीका समस्या समाधान आफ्नो प्राथमिकतामा रहेको बताए ।

कार्यभार सुरु गरेपछि कानूनी व्यवस्था गरेर घर बहाल कर, हाटबजार बैठकी कर, ई–रिक्सा सवारी कर र सिफारिस शुल्क घटाउने पाण्डेले बताए । उनले आफू मेयरको कुर्सीमा बसेकै आर्थिक हैसियतमा पाँच वर्षपछि बिदा हुने घोषणा पनि गरेका छन् ।

यस्तो छ बहुदलपछि बुटवलको राजनीतिक इतिहास

बुटवलमा लामो समयदेखि नेकपा एमालेले जित्दै आएको थियो । २०४६ सालको जनआन्दोलनपछि २०४९ सालमा भएको स्थानीय चुनावमा कांग्रेसका सूर्यप्रसाद प्रधान मेयरमा तथा रामप्रसाद खनाल उपमेयरमा विजयी भएका थिए । त्यसपछि २०५४ सालमा भएको स्थानीय चुनावमा एमालेले कांग्रेसबाट सत्ता खोसेको थियो । प्रधान एमालेका भोजप्रसाद श्रेष्ठसँग पराजित भएका थिए ।

त्यसपछि २० वर्षसम्म निर्वाचन हुन सकेन । २०७४ मा आएर भएको निर्वाचन पनि एमालेले जितेको थियो ।

एमालेले बुटवल नगरपालिकामात्र होइन यस क्षेत्रको संघीय तथा प्रदेश निर्वाचनमा पनि जित्दै आएको थियो । २०५४ सालमा मेयर पराजित सूर्यप्रसाद प्रधानले दुई वर्षपछि २०५६ को संसदीय चुनाव जितेका थिए । त्यसबेला कांग्रेसका प्रधानसँग एमालेका विष्णु पौडेल पराजित भएका थिए ।

यसअघि २०४८ सालको पहिलो आमनिर्वाचनमा बुटवल र आसपासका क्षेत्र समेटिएको तत्कालीन रुपन्देही क्षेत्र नम्बर ३ बाट कांग्रेसका बालकृष्ण खाँण प्रतिनिधिसभा सदस्यमा विजयी भएका थिए । तर २०५१ सालको मध्यावधि निर्वाचनमा उनै खाँण एमालेका मोदनाथ प्रश्रितसँग पराजित भए ।

एमालेले २०६४ र २०७० सालमा सम्पन्न संविधानसभा निर्वाचन र २०७४ सालको संघीय निर्वाचनमा यस क्षेत्रमा जितेको थियो । आठ वर्षअघिको चुनावमा हारेका पौडेल २०६४ सालको संविधानसभा निर्वाचनमा बुटवलसमेत रहेको निर्वाचन क्षेत्रबाटै विजयी भए । पहिलो संविधानसभाको निर्वाचनमा माओवादी केन्द्र दोस्रो हुँदा कांग्रेस तेस्रामा झरेको थियो ।

२०५४ सालमा बुटवलको मेयरमा पराजित कांग्रेसले यसवर्ष गठबन्धनको बलमा जित हासिल गर्दै आएको एमालेको विरासतलाई ढालेको छ । पाण्डेको जितले बुटवलमा एमालेको शक्तिलाई आँकलन गरिएभन्दा बढी कमजोर देखाएको छ । कांग्रेसका पाण्डेको जितसँगै आगामी प्रतिनिधिसभा र प्रदेशसभामा समेत बुटवल एमालेको लागि चुनौती बनेको छ ।

को हुन् खेलराज पाण्डे ?

२०२६ साल फागुन ५ गते बुवा लीलाबल्लभ पाण्डे र आमा तारादेवी पाण्डेको कोखबाट स्याङ्जाको साविक आलमदेवी २ (हाल कालीगण्डकी २) मा जन्मिएका पाण्डे हाल बुटवल उपमहानगरपालिका वडा नं ६ का बासिन्दा हुन् ।

पाण्डे १३ वर्षको उमेरमै २०३८ सालमा परिवारसहित बुटवल झरेका थिए । पार्टी राजनीति बुटवलबाटै सुरू गरेका उनी स्याङ्जामा विद्यार्थी राजनीतिमा सक्रिय थिए ।

उनले आदर्श माध्यमिक विद्यालय स्याङ्जाबाट २०३९ सालमा नेपाल विद्यार्थी संघको सदस्यता लिएका थिए । पाण्डे २०४० सालमा पाल्पाको जेभिटी स्कुलमा पढ्दा नेविसंघकै समितिमा आबद्ध भए ।

त्यसपछि २०४३ सालमा त्रिभुवन विश्वविद्यालयअन्तर्गत पाल्पा क्याम्पसमा विज्ञान संकायको इकाई सदस्य, २०४४ सालमा अमृत साइन्स क्याम्पसमा नेविसंघको सचिव, २०४७ सालमा बुटवल बहुमुखी क्याम्पसको नेविसंघ उपसभापति र २०५२ सालमा रूपन्देहीको नेविसंघ सचिव भए ।

विद्यार्थी राजनीतिपछि तरूण दलमा आबद्ध पाण्डे २०५९ सालमा तरूण दल रूपन्देहीको अध्यक्ष, २०६० सालमा तरूण दल केन्द्रीय सदस्य भए । २०६७ सालमा नेपाली कांग्रेस बुटवल नगर सभापति भए ।

२०६७, २०७२ र २०७८ सालमा भएका अधिवेशनबाट पाण्डे निरन्तर कांग्रेस बुटवल नगर समितिको सभापति रहेर पार्टी र सामाजिक काममा क्रियाशील छन् ।

श्रीमती सीता भट्टराई पाण्डे र छोरा अभिषेक पाण्डेका साथ बुटवलमा बसोबास गर्दै आएका पाण्डेले स्नातक तहसम्मको अध्ययन गरेका छन् ।
पार्टीमा तत्कालीन अवस्थामा बुटवलमा पूर्वमेयर तथा कांग्रेसका नेता स्व. सूर्यप्रसाद प्रधान निकट रहेर काम गर्दै आएको हँुदा उनी पार्टीमा देउवाविरोधी समूह रामचन्द्र पौडेलसँग थिए । तर, महाधिवेशनमा पौडेलले देउवालाई समर्थन गरेपछि भने पाण्डेको धार स्पष्ट थिएन । उनी रुपन्देहीमा गृहमन्त्री बालकृष्ण खाँणको विपक्षीका रुपमा चिनिन्छन् ।

को हुन् उपमेयर विजयी सावित्रा अर्याल ?

बुटवल उपमहानगरपालिकाको उपमेयरमा निर्वाचित सावित्रा अर्यालको जन्म पाल्पाको कुसुमखोलामा भएको हो । उनका बाबु नेत्रप्रसाद आचार्य र आमा दिलकुमारी आचार्य हुन् । विष्णुप्रसाद अर्यालसँग विवाह गरेपछि बुटवलमा बस्दै आएकी उनका एक छोरा र एक छोरी छन् । अर्यालले प्रमाणपत्र तहसम्मको अध्ययन गरेकी छन् ।

२०३६ सालको आन्दोलनबाट सक्रिय राजनीतिमा प्रवेश गरेकी अर्यालले २०४७ सालमा तत्कालीन नेकपा मालेको सदस्यता प्राप्त गरी निरन्तर पार्टीमा सक्रिय रहँदै आएकी छन् । हाल नेकपा एमाले केन्द्रीय सदस्य रहेकी अर्याल २०४९ सालमा तत्कालीन बुटवल नगरपालिकाको कार्यपालिका सदस्यमा मनोनीत भएकी थिइन् । २०५४ सालमा निर्वाचित वडा सदस्य उनीसँग जनप्रतिनिधिको भूमिका निर्वाह गरेको अनुभव छ ।

२०६२/६३ मा भएको जनआन्दोलनमा सक्रिय रहँदा घाइतेसमेत भएकी अर्याललाई बुटवल महिला जेसिजले लेडी अफ द इयर २००८ बाट सम्मान गरेको छ ।

बुटवलमा महिला समाजसेवीको सशक्त पहिचान बनाएकी अर्यालले बाल्यकालमा विद्यालय जान नपाएका आमाहरूका लागि महिला विद्यालय स्थापना गरी शिक्षा क्षेत्रमा अभियान चलाएकी थिइन् । उनकै अध्यक्षतामा स्थापना भएको साधना महिला विद्यालयमा अहिले पनि १५ वर्षदेखि ७० वर्ष उमेरसम्मका १ सयभन्दा बढी महिलाहरू अध्ययनरत छन् ।

शिक्षा क्षेत्रमा महत्वपूर्ण योगदान पुर्‍याएको भन्दै उनी राष्ट्रपतिबाट शिक्षासेवीको जनसेवा श्री चतुर्थबाट विभूषितसमेत भइसकेकी छन् । अर्याल शिक्षासँगै सञ्चार क्षेत्रमा पनि निरन्तर क्रियाशील छन् ।

बुटवलमा महिलाहरूले स्थापना गरेको रेडियो मुक्तिको पूर्वअध्यक्ष, रेडियो मदन पोखराको संस्थापक सदस्य, लुम्बिनी टेलिभिजनको संस्थापक सदस्य रहेकी अर्याल जीवराज आश्रित स्मृति प्रतिष्ठान र मदन आश्रित अक्षयकोषकी पनि संस्थापक सदस्य रहेर काम गर्दै आएकी थिइन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर