जसले उत्कृष्ट मेयरको अवार्ड पाए, उनीहरू नै चुनावमा पराजित भए – Nepal Press

जसले उत्कृष्ट मेयरको अवार्ड पाए, उनीहरू नै चुनावमा पराजित भए

काठमाडौं । स्थानीय तह निर्वाचनको ठीक दुई महिनाअघि नेपाल नगरपालिका संघले आयोजना गरेको कार्यक्रममा विभिन्न विधागत आधारमा १० वटा नगरपालिका उत्कृष्ट ठहर गर्दै ती नगरका मेयरलाई पुरस्कृत गरिएको थियो ।

प्रधानमन्त्रीबाट पुरस्कृत भएकामध्ये चार वटा नगरपालिकाका मेयरले मात्र सम्बन्धित दलबाट पुनः टिकट पाए । ती चारमध्ये धादिङको नीलकण्ठ नगरपालिकाका भीम ढुंगानाबाहेक अन्य तीनजना उत्कृष्ट मेयर चुनावमा भने पराजित भए ।

स्याङ्जाको वालिङ र पुतलीबजार नगरपालिका संस्थागत विकासतर्फ उत्कृष्ट ठहर भएका थिए । वालिङका मेयर दीलिपप्रताप खाण र पुतलीबजारकी मेयर सीमा क्षेत्रीले उत्कृष्ट मेयरको अवार्ड पनि थापे ।

यसपटक पनि कांग्रेसले खाणलाई र एमालेले क्षेत्रीलाई पुनः उम्मेदवार बनाउँदा दुवैजना उत्कृष्ट मेयर आ-आफ्नो नगरपालिकामा पराजित भए । एमालेकी सीमा क्षेत्री कांग्रेसका तुलसीराम रेगमसँग करीव २४ सय मतान्तरमा पराजीत भइन् ।

कांग्रेसका दीलिपप्रताप पनि एमालेका कृष्ण खाणसँग करिब २२ सय मतान्तरले पराजित भए । यद्यपी यो नगरपालिकामा उपमेयर भने कांग्रेसकै कविता तिवारीले जितिन् । उत्कृष्ट मेयर पराजित हुनुको कारण कांग्रेसकै देउवा पक्षले रामचन्द्र पौडेल पक्षको अन्तर्घात भन्ने गरेको छ ।

अर्को मतदानकै दिन वालिङमा कांग्रेसका मतदाता बोकेको जीप दुर्घटना हुँदा मानवीय क्षति भयो र उनी त्यसको उद्धारमा लाग्नुपरेको कारण पनि पराजय भोग्नुपरेको कांग्रेसको भनाइ छ । त्यसो त पुतलीबजारमा सीमा क्षेत्रीको पराजयमा पनि एमालेभित्र टिकट वितरणकै विवाद मान्ने गरिएको छ ।

अर्का उत्कृष्ट मेयर ठहरिएका थिए हरिवनका गणेश प्रसाई । स्थानीय तहको आर्थिक विकासतर्फ उत्कृष्ट नगरपालिकाको मेयरको अवार्ड थापेका प्रसाई दोस्रोपटक उम्मेदवार बन्दा झिनो मतले पराजित भए ।

प्रसाई नेकपा माओवादी केन्द्रकाा रमेश बुढाथोकीसँग १५३ मतको अन्तरले पराजित भए । जबकी माओवादीले एउटा वडा पनि जितेको छैन । उपमेयरसहित बहुमत वडाध्यक्ष एमालेले जित्दा प्रसाई पार्टीभित्रकै अन्तर्घातले पराजित भए । यहाँ नेकपा एमाले विभाजनको असर पनि पर्याप्त देखियो ।

उत्कृष्ट नगरपालिकाको मेयरबाट अवार्ड पाएका इलामका महेश बस्नेत, तिलोत्तमाका वासुदेव घिमिरे र राप्तीकी प्रभा बराल यसपटक उम्मेदवार बनेन् । उनीहरू तीनैजना एमालेबाट निर्वाचित थिए ।

तर, इलाम र राप्ती एमालेले हारिसकेको छ भने तिलोत्तमाको मतगणना जारी रहँदा कांग्रेसले अग्रता लिएको छ ।


प्रतिक्रिया

One thought on “जसले उत्कृष्ट मेयरको अवार्ड पाए, उनीहरू नै चुनावमा पराजित भए

  1. हरिवनका प्रसाईले पुर्ब लोकपृय उपमेयर रेणुका पौडेललाई पार्टी माहासचिब शंकर पोख्रेल र ईश्वर पोख्रेलले दियको टिकट खोसेर गाउकै एकदम सोझी महिलालाई जनजातीको नाम भजायर टिकट दिय, ७४ को चुनाबमा करिब ३५०० लोकप्रीय मत सहित बिजयी भयकी पौडेललाई सारा नगरले मनपराउनु र उनले टिकट नपाय पछि धेरै महिलाबर्गले भोट डाईभर्ट गर्नुले पनि प्रसाईं हारे, नगर अध्यक्ष सिताराम, जिला उपाध्यक्ष बिदुर प्याकुरेलहरुले लाखौ पैसा लियर टिकट बाढेको भय धेरै वडामा समेत लजास्पक हार भयको छ एमालेको

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर