कमल थापाको समीक्षा : एमालेको उदासीनताले चुनावी सहकार्य फलदायी भएन – Nepal Press

कमल थापाको समीक्षा : एमालेको उदासीनताले चुनावी सहकार्य फलदायी भएन

अब हिन्दूराष्ट्रबारे जनमतसंग्रहको मागसहित संघर्ष गर्ने

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालका अध्यक्ष कमल थापाले स्थानीय चुनावमा नेकपा एमालेसँगको सहकार्य आफ्नो पार्टीका निम्ति परिणाममुखी बन्न नसकेको निष्कर्ष निकालेका छन् । यो चुनावको अनुभवबाट पाठ सिकेर आगामी संसदीय चुनावको तयारी गर्नुपर्नेमा उनको जोड छ ।

पार्टीको केन्द्रीय कार्यसम्पादन समिति बैठकमा राजनीतिक प्रतिवेदन प्रस्तुत गर्दै अध्यक्ष थापाले कुनै महत्त्वाकाङ्क्षा र अपेक्षाबिना स्थानीय चुनावमा भाग लिएको बताएका छन् ।

‘पार्टी खडा भएको छोटो अवधिमा नै चुनावमा जानुपर्ने वाध्यात्मक अवस्था थियो । हामी चुनावमा भाग नलिन पनि सक्थ्यौँ, तर चुनाव बहिष्कार गर्दा गलत सन्देश जान्थ्यो,’ थापाको प्रतिवेदनमा भनिएको छ ।

राप्रपा नेपालले सांकेतिक रूपमा चुनावमा भाग लिएको तर, त्यो पनि परिणाममुखी हुन नसकेको उनले बताएका छन् ।

प्रतिवेदनमा भनिएको छ, ‘चुनावमा हामीले नेकपा९एमाले० सँग सहकार्य गर्ने निर्णय गर्‍यौँ । व्यवहारिक र रणनीतिक रूपमा ठिक भएता पनि नेकपा (एमाले)को उदासीनताको कारण स्थानीय स्तरमा सहकार्य अपेक्षाकृत परिणाममुखी हुन सकेन । यो चुनावमा प्राप्त अनुभवबाट पाठ सिकेर अब हामीले आगामी संसदीय निर्वाचनको तयारी गर्नुपर्छ ।’

राप्रपा नेपालले निकट भविष्यमा नै हिन्दू राष्ट्र पुनः स्थापनाको निम्ति देशव्यापी सशक्त अभियान थाल्ने थापाले बताएका छन् । सकेसम्म सर्वपक्षीय राष्ट्रिय सहमतिको आधारमा संविधान संशोधन गरी पूर्ण धार्मिक स्वतन्त्रतासहितको हिन्दू राष्ट्र पुनः स्थापना गर्न प्रयास गरिने उनको भनाइ छ ।

‘त्यस्तो सहमति जुट्न नसकेको अवस्थामा संविधान प्रदत्त अधिकार अनुरूप ‘धर्मनिरपेक्षता वा हिन्दूराष्ट्र’ भन्ने विषयमा जनताको प्रत्यक्ष अभिमत बुझ्न राष्ट्रिय जनमत संग्रह गरियोस् भन्ने माग सहित राप्रपा नेपालले जनसंघर्ष गर्नेछ ।’ प्रतिवेदनमा भनिएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर