एमालेले ११ महिनापछि खुलाउने भयो लुम्बिनी प्रदेशसभा
रुपन्देही । प्रमुख प्रतिपक्ष दल नेकपा एमालेले लुम्बिनी प्रदेशसभाको अवरोध खुलाउने भएको छ । उसले प्रदेशसभामा गएको साउन १ गतेदेखि अवरोध गर्दै आएको थियो ।
पाँच दलको गठबन्धनमा एमालेले कारबाही सिफारिस गरेका दुई सांसद विमला वली र अजय शाहीसमेत सहभागी भएपछि उनीहरुलाई हटाउन माग गर्दै एमालेले सदन बहिस्कार गर्दै आएको थियो । तर, प्रदेशसभाको दशौं अधिवेशनको दोस्रो बैठक एमालेले अवरोध नगर्ने भएको छ ।
यससँगै अधिवेशन नियमित हुने भएको छ । मंगलबारदेखि संसदको नियमित प्रक्रिया सुरु हुने प्रमुख प्रतिपक्ष दल एमालेका प्रमुख सचेतक भूमिश्वर ढकालले जानकारी दिए । उनका अनुसार बैठकमा एमाले संसदीय दलका नेता एवं निवर्तमान मुख्यमन्त्री शंकर पोखरेलले सम्बोधन गर्ने कार्यक्रमसमेत रहेको छ ।
ढकालले बजेट, नीति तथा कार्यक्रमको तयारीलगायतका महत्वपूर्ण विषयमा सदनमा छलफल गर्नुपर्ने भएकाले सदनमा अवरोध नगर्ने भएको बताए ।
एमालेले संसदमा अवरोध नगर्ने संकेत पाएपछि सरकारले मंगलबार नै प्रदेश प्रहरी सेवा सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक र सञ्चारमाध्यय व्यवस्था गर्न बनेको विधेयक पेश गर्ने तयारी गरेको छ ।
आजको बैठकमा विपक्षी दलका नेता पोखरेलले विशेष समयमा बोल्ने र आन्तरिक मामिला तथा सञ्चारमन्त्री तिलकराम शर्माले ती विधेयक सदनमा पेश गर्ने कार्यसूची रहेको प्रदेशसभा सचिव दुर्लभकुमार पुनले जानकारी दिए ।