आफ्नै नामले साह्रै डिस्टर्ब उपेन्द्र सुब्बा भन्छन्- परिचय बेकारको भारी हुँदोरहेछ (भिडिओ)
धेरै क्षेत्रमा काम गरेँ । तर, कतै सन्तुष्ट छैन म ।
काठमाडाैं । उपेन्द्र सुुब्बा को हुन् ? सुब्बा स्वयंसँगै यस प्रश्नको ठ्याक्कै उत्तर पत्तो छैन । आफैलाई आफैले ठोसरुपमा ‘मेरो परिचय यो हो’ भनेर भन्न सक्दैनन् ।
‘खोलाको गीत’ कविता संग्रहका कविताका पंक्तिहरुमा झुम्यो, उनी कवि हुन् । ‘लाटो पहाड’ कथासंग्रहका पन्नाहरु पल्टायो, उनी कथाकार हुन् । ‘कबड्डी’ फिल्मको सिरिजदेखि केही फिल्मका नामहरु सरसर्ती पढ्योे, उनी पटकथा लेखक हुन् । प्रदर्शन हुन बाँकी ‘जारी’ फिल्मलाई सम्झ्यो, उनी निर्देशक हुन् । ‘कबड्डी’मा झाँक्रीले खिर खुवाएको दृश्य हेर्यो, उनी कलाकार हुन् । केही गीतहरुलाई श्रवण गर्यो, उनी गीतकार हुन् ।
एकै परिचय भए पो ठ्याक्कै ‘यो हुँ’ भन्न सकोस् सुब्बाले । उनी स्वयं पनि कहिलेकाहीँ अलमलमा पर्छन् । साहित्य सर्कलका साथीभाइका लागि कवि, कथाकार हुन् । संगीतज्ञहरुका लागि गीतकार । फिल्म क्षेत्रका लागि सफल पटकथा लेखक र निर्देशक ।
यी परिचयमध्ये एक प्रिय परिचय छान्नुपर्दा सुब्बा भन्छन्, ‘म त साँच्चै कन्फ्युज भएँ । साँच्चिकै धेरै काम गरेछु । एकै ठाउँ नअडिएको रहेछु । एक कुनै विषयमा दख्खल नपुर्याएपछि मान्छे यसरी भौतारिँदोरहेछु ।’
यता पो हुन्छ कि उता पो हुन्छ कि भनेर अनेक क्षेत्रमा भौतारिएको बताउँछन् सुब्बा । उनी बेलाबेला कवि श्रवण मुकारुङ सम्झन्छन्, जो बेजोड कविता लेख्छ र कविताबाहेक अरुथोक गर्नु नै छैन । उनी गर्विलो आख्यान लेखिरहेका साथीहरुलाई हेर्छन्, जसलाई आख्यान लेख्नुबाहेक अर्थोक गर्नु नै छैन । सुब्बा सुनाउँछन्, ‘मैले चाहिँ त्यसो गर्न नसक्दो रहेछु । त्यसो गर्न नसके पनि मलाई पनि आनन्द, खुसी चाहियो नि त ! अनेक क्षेत्रमा हात हाल्नु मेरो आफ्नै खोजी होला । धेरै क्षेत्रमा काम गरेँ । तर, कतै सन्तुष्ट छैन म ।’
यति भनिसकेर आँखा छोपिने गरी लामो सिग्नेचर हाँसो हाँस्छन् सुब्बा ।
भनिन्छ, मान्छे एक क्षेत्रमा असफल भएपछि अर्को क्षेत्रमा जान्छन् । त्यही क्षेत्रमा सफल हुन्छन् । अर्काथरि मान्छे एक क्षेत्रमा असफल हुन्छन् । फेरि असफल हुन्छन् । फेरि हुन्छन् । र, अन्त्यमा एक दिन सफल हुन्छन् । सुब्बाको पोल्टामा भने उस्तो असफलता आइपरेन । जुन जुन क्षेत्रमा लागे, त्यही त्यही क्षेत्रमा सफल नै भए । सुब्बालाई भने आफू त्यस्तो सफल र राम्रो नभएको लाग्छ । भन्छन्, ‘मैले क्षेत्र फेरिरहनुमा एकै विषय, एउटै दिनचर्या नरुचाएर पनि होला । कवि भएर दश बाह्र वर्ष हिँडेँ । फिल्मतिर स्क्रिप्ट लेखेर दश बाह्र वर्ष बिताएँ । अहिले मेरो दानापानी चल्ने यसैले हो ।’
र, अहिले फिल्म निर्देशनमा पनि हात हालेका छन्– ‘जारी’ । रहर अनि जिम्मेवारीले निर्देशनमा हात हालेको बताउँछन् । तर, सुब्बाको अहिलेको भव्य परिचय त पटकथा लेखन नै हो । ‘कबड्डी’को प्रचारप्रसारमा जाँदा पनि उनलाई थुप्रैले सोधेका थिए, ‘तपाईं त नेपालको व्यस्त पटकथा लेखक होला !’
तर, वास्तविकता भने मान्छेले सोचेभन्दा निकै नै फरक रहेछ । उनी सुनाउँछन्, ‘मसँग त्यस्तो धेरै प्रोजेक्ट छैन । त्यही कबड्डी सिरिज लेखेको छु । कबड्डीले गर्दा पनि मान्छेले कामको चाप छ ठान्लान् । तर, मेरो हातमा प्रोजेक्ट नै छैन । लेखकको रुपमा बिजी हुनुपर्ने हो, छुइनँ । मान्छेले सुनेजस्तो होइन रहेछु म ।’
नेपालमा वर्षमा सरदर सय फिल्म बन्छन् । सयमध्ये वर्षको दुईवटामात्रै लेख्न पाउँदा पनि सुब्बाको जीविका चल्ने हो । तर, उनले चाहे जसरी प्रोजेक्ट पाएकै छैनन् । सुब्बा लामो हाँसोपछि थप्छन्, ‘अभिनयको कुरा गर्दा पनि फुलुकमा लागेको दाउ जस्तो हो झाँक्री । अभिनय म गर्नै सक्दिनँ । मान्छेहरु सोच्लान्, यो सुब्बालाई फिल्ममा पनि अफर आयो होला । मैले चाहिँ अफर नै पाएको छुइनँ । झाँक्री त अनुहार मिलेकाले, केके मिलेकाले हिट भएको हो । मलाई सफल कथाकारभन्दा प्रकाशकहरु पछि लागेका होलान् भन्ने सोच्लान् । तर, प्रकाशक खोजेर मै हिँडिरहेको छु । मसँग किताब छाप्नलाई रेडी छ । प्रकाशकले लेखकहरुलाई दश लाख, पन्ध्र लाख दिएर लेख्न लगाउँछन् रे ! तर, म चाहिँ प्रकाशक नै भेट्दिनँ ।’
वास्तविकता निकै नै क्रूर हुने सुब्बाको अनुभव छ ।
०००
सुब्बा उमेरले ५० हिर्काइसकेका मान्छे हुन् । यतिबेला उनको निर्देशन रहेको फिल्म ‘जारी’ प्रदर्शनको तयारीमा छ । कबड्डी फिल्म बम्पर बुकिङ भइरहेको छ । कथासंग्रहको पाण्डुलिपिसँग छन् ।
भनिन्छ, सृजनशील हुने पनि समय हुन्छ । एक समयमा मात्रै मान्छे औधी सृजनशील हुनसक्छ । अनि त्यसको ब्याज खाँदै बस्नुपर्ने स्थितिमा मान्छे पुग्छन् पनि भनिन्छ । उमेरले म्याच्युअर्ड हुँदै जाँदा सुब्बा पनि झण्डै झण्डै सृजनाहरुको ब्याज खाने स्थितिमा पुगेका स्रष्टा हुन् । तर, उनको सवालमा सृजनशीलताको ‘हदम्याद’ किन लागू भएन ?
सृजनशीलताको समय हुन्छ, सुब्बालाई पनि यो महसुस हुन्छ । उनीसित जति कथाहरु थिए/छन् ती सबै युवाकालमै लेख्छु भनेर सोचेका थिए । फिल्मका जति कामहरु भएका छन्, ती सबै कुनै समय गरिसकेका थिए । भन्छन्, ‘देखिँदा अहिले गरिरहेजस्तो । तर, पहिला गर्न नपाएका काम हुन् यी । एक खालको उमेर आएपछि मान्छेले सिक्न चाहिँ छाड्दोरहेछ । मलाई पुग्यो, योभन्दा धेरै जान्नु आवश्यक छैन भन्ने अवस्था आयो भने अथवा मैले जानिसकेँ भन्ने भयो भने चाहिँ सिक्ने प्रक्रिया सकिँदोरहेछ मान्छेको ।’
सुब्बालाई लाग्छ, सिक्ने जाँगर भएसम्म मान्छे सृजनशील भएरै छाड्छ । आफू सृजनशील भइरहनुमा विधा परिवर्तन गरिरहनु हो भन्ने पनि लाग्छ उनलाई । उनले गीत लेखे, कविता लेखे, कथा लेखे, फिल्म लेखे, निर्देशन गरे । यसरी फरक विधा टेस्ट गर्दा नयाँ नयाँ सिक्नुपर्ने कुराहरु धेरै हुन्छन् । यसैले पनि आफूलाई नयाँ नयाँ विधामा जान रमाइलो लाग्ने बताउँछन् ।
उनी थप्छन्, ‘यसरी काम गर्दा रमाइलो पनि हुन्छ, मलाई सृजनशील बनाइरहन्छ पनि । नयाँ विधाले उत्साह र जाँगर पनि थप्छ । अनि आत्मविश्वास पनि दिन्छ ।’
४० कटेपछि मान्छे थोरै स्लो हुन्छ भनिए पनि ४० वर्षपछि प्रसिद्ध लेखक पाउलो कोएल्हो लेखनमा लागे । सुब्बा त पचास पुगिसके । यो उमेरमा आफू थोरै स्लो भए पनि काम गर्न मज्जा आइरहेको बताउँछन् ।
बच्चाको उमेरमा युवाकालको प्रतीक्षा हुन्छ । युवाकालपछि आउने प्रौढकाल चाहिँ मान्छेले अलि डरलाग्दो मान्छन् । तर, सुब्बालाई लाग्छ, जीवन चाहिँ त्यस्तो होइन । ‘म पचास छिरेँ । प्रौढकाल कस्तो बनाउने भन्दा त्यसबेला के कुरामा इन्जोय गर्ने भन्ने कुरामा भर पर्छ होला । बच्चामा जे कुराले सन्तुष्टि मिल्थ्यो, युवाकालमा त्यसले मिल्दैन । युवामा जे जे कुरा मिल्छ, प्रौढमा त्यो मिल्दैन । कोही मान्छे प्रौढ भयो र युवाकाल जसरी नै बाँच्न चाह्यो भने सन्तुष्टि मिल्दैन’, सुब्बा थोरै फिलोसोफिकल हुँदै आफ्नै स्वभावमा आइपुग्छन्, ‘प्रौढमा गर्ने मेरा काम यी हुन्, यी काम गर्दा आनन्दित हुन्छु भन्ने निर्धारण गरियो भने गज्जब हुन्छ । कति खुसी हुने, कसरी बाँच्ने भन्ने मानसिकता न हो । प्रौढ त भयंकर सुन्दर उमेर हो, मान्छेहरुले नबुझेकोमात्रै हो । यसबेला केही नगरे पनि आदर मिल्छ । बाजे भन्छन्, ढोग्छन्, हप्काउँदैनन् । म त छिटो ७० पुगूँ भन्ने इच्छा राख्छु ।’
विधा परिवर्तन गरिरहने सुब्बाले पचास छोए पनि पटकथा लेखन छोएको करिब १० वर्षको वरिपरिमै छ । एक दशक एकै क्षेत्रमा बिताइसक्दा अब त सुब्बालाई बोर लाग्न थालिसक्यो होला । तर, पटकथा लेखन आफ्नो दालचामलको समस्या भएको बताउँछन् । जुन काम पाएसम्म गर्ने उनको ध्येय छ । उनले जानेको काम पनि यही हो । तर, उनका अनुसार कसैले पत्याउँदैनन् । सामान्य बनिरहेको नेपाली फिल्मभन्दा राम्रो लेख्छु भन्ने पनि लाग्छ उनलाई, त्यसको प्रमाण पनि छन् । तर, मान्छेले नपत्याउने बताउँदै हाँस्छन् ।
०००
परबाट हेर्दा भने सुब्बासँग कामकै चाप छ । उनका प्रोजेक्टहरु दर्शकले रुचाइदिएका छन् । उनले लेखेका सिनहरुमा खेलेर कति कलाकारले करियर तन्काएका छन् । यस हिसाबले पनि सुब्बालाई डिमान्डेडमात्रै होइन, उत्तिकै महँगा लेखक होलान् भन्ने देखिन्छ । तर, आफू त्यस्तो नभएको बताउँछन् उनी ।
भन्छन्, ‘मैले मलाई यति देऊ भनेर डिमान्ड गर्नै पाएको छैन । त्यसरी लेखाउन कोही आएका पनि छैनन् । टाढादेखि देख्दा त्यस्तो लाग्दोरहेछ । जे होस्, बाँचिरहेको छु । पुग्दो छैन ।’
नेपाली सिनेमा हलमा कबड्डी प्रदर्शन भइरहेको छ । प्रदर्शनअघि फिल्म युनिटले देशभर प्रमोसन गर्यो । मुख्य कलाकारसँगै प्रमोसनको मुख्य हिस्सा बनेर सुब्बा पनि डुले । कलाकारसँगै स्टेजमा उभिए, बोले ।
प्रायः नेपाली फिल्मका पटकथा लेखकहरु प्रमोसनमा खासै खोजिँदैनन् । प्रिमियरको दिन पनि लेखक कता हुन्छन्, मान्छेले पत्तो पाउँदैनन् ।
आफू त्यसरी प्रमोसनमा पनि पुग्नुपर्ने अवस्थाको पछाडि यस सिरिजले बिताएको लामो समयलाई कारक देख्छन् । भन्छन्, ‘अब रामबाबु गुरुङ गएन । उसको सट्टा उभिनुपर्यो । कसैले सोधेको प्रश्नको उत्तर दिनुपर्यो । रामबाबु मिडियामा आउन कमै रुचाउँछ । त्यो भएर पनि होला ।’
०००
बलिउड फिल्ममा जावेद अख्तर, सलिम खानहरु एक सय हिरोभन्दा ठूला स्टार थिए । हिरोभन्दा महँगा थिए । त्यो उनीहरुले आफ्नै मेहनतले बनाएका थिए । पटकथा लेखकहरुले त्यसरी नै आफूलाई निर्माण गर्नुपर्ने देख्छन् सुब्बा । ‘यसको मतलब म क्षमतावान भएर भन्न खोजेको होइन । कबड्डी हाम्रै प्रोडक्सन र सिरिज भएकाले होला । तर, नेपाली फिल्ममा स्क्रिप्टलाई गम्भीर रुपमा नलिइँदा लेखकहरु छायाँमा पर्छन् ।’
नेपाली मिडियामा भने मेकरहरु यतिउति पैसा दिन्छु, लेख्ने कोही छ भनेर धमास दिइरहेका हुन्छन् । जति नै धमास दिए पनि मेकरहरुले त्यसरी लेखाएको चाहिँ सुब्बाका आँखाले देखेका छैनन् । फिल्म राम्रो बन्न स्क्रिप्ट नै गतिलो हुनुपर्छ भन्ने बुझे पनि, मिडियामा आएर बोले पनि वास्तविकता त्यस्तो नभएको बताउँछन् सुब्बा ।
नेपाली फिल्ममा पटकथा नै झूर हुन्छ भन्ने गरिन्छ । त्यसका लागि चाहिँ लेखकलाई पत्याएर काम लगाएर नतिजा निकाल्न सुझाव दिन्छन् सुब्बा । भन्छन्, ‘जे लेख्यो, त्यही बनायो भने त कहाँबाट हुन्छ र ! राम्रो र नराम्रो छुट्याउन र लेखकलाई काममा मेहनत गराउन सक्नुप¥यो मेकरले । अलि धेरै गफ गर्छन् यो फिल्म लाइनमा ।’
सुब्बाले पटकथा लेखेको कबड्डी सफल भयो । सफल हुँदै जाँदा चौथो सिरिजसम्म आइपुग्यो । अब त कबड्डीको सिरिजले पुग्यो होला ! त्यही भएर नै यो फाइनल बनाएको बताउँछन् सुब्बा । भन्छन्, ‘योभन्दा धेरै तन्कँदैन, निचोरेर कति निकाल्ने भनेर फाइनल बनाएको हो । यो स्टोरी चाहिँ फाइनल गरौं भनेर नै हो ।’
०००
सुब्बाको दाबी छ, ‘कबड्डी’ सुरुवातदेखि नै सफल हुँदै आउनुमा मेकरले चुनौती मोल्ने आँट गरेर नै हो, खतरा मोल्न सकेर नै हो । मेकरहरुले जे चल्छ, त्यस्तै बनाउन खोजेर समस्या देखिएको हो । आँट गरेपछि ‘कबड्डी’ फरक बन्यो । ‘लुट’ चलिरहेको फिल्मभन्दा फरक थियो, खतरा मोल्यो, चल्यो ।’
नेपाली मेकरहरु खतरा मोल्न तयार नभइदिनाले गतिला फिल्महरु कम आएको बताउँछन् । अर्कातिर संसारभर लगानीको पाँच प्रतिशत पटकथालाई छुट्याइन्छ । नेपालमा तीन करोडमा फिल्म बन्छ भने १५ लाख लेखकलाई छुट्याउनुपर्ने हो । यसो गर्दा वर्षमा दुईवटामात्रै फिल्म लेख्दा एक लेखकले सरदर नेपालीको अनुसार जीवन चलाउन सक्ने बताउँछन् सुब्बा । तर, पटकथालाई त्यसरी नलिइँदा कमसल फिल्महरु ज्यादा बन्ने गरेको उनको तर्क छ ।
– अनि, स्क्रिप्टभन्दा छुट्टै प्रसंगको कुरा गरौं । कबड्डीले अहिलेसम्मकै सबैभन्दा धेरै शो पाएको छ । तर, हल सञ्चालकहरुले नेपाली फिल्मलाई शो नै दिएन भन्ने गुनासो ज्यादा सुनिन्छ । उनीहरुले शो दिनका लागि कस्तो फिल्म बन्नुपर्ने रहेछ ?
हल सञ्चालक, वितरक व्यापारी भए । हल सञ्चालकहरुको आफ्नै सञ्जाल हुन्छ । उनीहरुले फिल्म कस्तो छ भनेर आफ्नै तरिकाले बुझ्छन् । हाइपअनुसार शो दिन्छन् । हलिउड, बलिउडका ठूला फिल्ममा पनि दर्शकको चासोअनुसार शो दिन्छन् । नेपाली फिल्मलाई पनि त्यसै गर्ने हुन् । सत्य चाहिँ हामीले फिल्म बनाउनै नसकिएको हो । ‘कबड्डी’ चाहिँ सिरिज भयो, काजीको पनि आफ्नै दर्शक छन् । हल सञ्चालक पनि दर्शक आउनेमा विश्वस्त भएर शो दिएका हुन् ।
– भनेपछि राम्रो शो पाउन फिल्म नै राम्रो बनाउनु पर्ने रहेछ ?
हो, व्यापारीले कमाउने नै सोच्छ । उसको हल भरिभराउ हुनुप¥यो । जुन फिल्मले हल भर्छ, त्यसलाई नै शो दिने हो । उनीहरुको उद्देश्य नै त्यति हो ।
यसपछि सुब्बाले आफ्ना दुईवटा कविता हामीलाई सुनाए । कविता सुनाइसकेपछि भने, ‘अस्ति धरानमा कविता सुनाउन गएँ । तर, एकदम व्यापक डिजास्टर अनुभव भयो । रेस्टुरेन्टको ओपनिङ थियो । मैले कविता सुनाउनुअघि नै दर्शक बियर र ह्वीस्की खाएर बसेका थिए । उनीहरुलाई कविता कसरी सुनाउनु ? अब चाहिँ रेस्टुरेन्टमा कविता सुनाउन जान्नँ । कविलाई दर्शक, स्रोता छुट्टै र सचेत चाहिने रहेछ । मदहोसवाला भए भने नमज्जा आउने रहेछ । हामीलाई त हाम्रा कविता सुनिदेओस् भन्ने हुन्छ । एउटा फिलमा वाचन गरिएको हुन्छ । तर, त्यहाँ यस्तो टाउको दुख्यो कि, अब त नाइँ… ।’
अनि लामो हाँसो हाँसे सुब्बा ।
– अन्त्यमा, तपाईंलाई अनेक सम्बोधनमध्ये कुन सम्बोधन प्रिय लाग्छ ?
खासमा परिचय नै बेकारको भारी हुँदोरहेछ । पहिला कवि भनिदेओस् भन्ने लोभ लाग्थ्यो । पछि अरु परिचय थपिए । म ठूलो नाम भएको मान्छे त होइन । तर, मेरो परिचय छरपस्ट रहेछ । कसैले झाँक्री भन्छन्, कसैले कवि भन्छन् । शान्त बस्न दिइरहेको छैन आफ्नै नामले । बाटोमा हिँड्दा एकोहोरो सोच्दै हिँड्न मन लाग्छ । तर, बाटोमा पुलको छेउमा सेल्फी खिच्ने भेटिन्छन् । त्यसले दिक्क लाग्ने नि त ! रोक्यो, दाइ भन्यो, सेल्फी भन्यो । कुन मुडमा, दुःखमा होइन्छ, अनुहार पनि किचिमिची हुन्छ । तर, मानिदिनै पर्यो । हाँसिदिनै पर्यो । त्यसले आफ्नो सोचको निरन्तरता टुट्ने । त्यो बोर हुन्छ । अनि चिया पसल छिर्यो, चिया माग्यो, खास आफैसँग ठुस्क्यो अनि मुड बनाएर हिँड्यो । यो नामले मलाई साह्रै डिस्टर्ब भएको छ । नाम इन्जोय नगर्नेमा पर्दोरहेछु म ।’
भिडिओ : नविनमुनि स्थापित