भट्टराईलाई जोडेर आमसञ्चार प्रतिष्ठानमा राजनीतिकरण गरियो : प्रेस चौतारी – Nepal Press

भट्टराईलाई जोडेर आमसञ्चार प्रतिष्ठानमा राजनीतिकरण गरियो : प्रेस चौतारी

काठमाडौं । सरकारले गठन गर्न लागेको आमसञ्चार प्रशिक्षण प्रतिष्ठानमा कृष्णप्रसाद भट्टराईको नाम जोडिएकोप्रति प्रेस चौतारी नेपालले आपत्ति जनाएको छ ।

चौतारीले एक विज्ञप्तिमार्फत सरकारले नीति तथा कार्यक्रममार्फत गलत तथ्यहरू प्रस्तुत गरेर आमसञ्चार क्षेत्रलाई प्रभावित पार्ने गलत उद्देश्यका साथ कार्यक्रम ल्याउनु आफैंमा निन्दनीय विषय भएको भन्दै ध्यानाकर्षण भएको जनाएको हो ।

महासचिव हिरामान लामाको हस्ताक्षरमा जारी विज्ञप्तिमा भनिएको छ, ‘सञ्चारकर्मीको क्षमता विकासका लागि प्रतिष्ठान गठन गर्ने निर्णय स्वागतयोग्य हो । तर, आफ्नै पार्टीको संस्थापक नेतालाई गलत तथ्य प्रस्तुत गरेर जबरजस्त रुपमा स्थापित गराउन खोज्ने कार्य कुनै पनि मानेमा सैह्य हुन सक्दैन । नेपाल पत्रकार महासंघको संस्थापक सभापति सत्यनारायण बहादुर श्रेष्ठ हो भन्ने तथ्य महासंघकै दस्तावेजबाट प्रमाणित भइसकेको अवस्थामा सरकारले गलत तथ्यको आधारमा कृष्णप्रसाद भट्टराईलाई नेपाल पत्रकार महासंघ (तत्कालीन संघ) को संस्थापक अध्यक्षको रुपमा स्थापित गर्न खोज्नु र प्रतिष्ठानलाई राजनीतिकरण गर्नु आफैंमा ठूलो बेइमानी भएको भनिएको छ ।’

कसैको इतिहास र योगदानलाई नामेट पार्ने र आफ्नो पार्टीको संस्थापक नेतालाई आमसञ्चार प्रतिष्ठानको अगाडि फुर्को जोडेको भन्दै प्रेस चौतारीले टिप्पणी गरेको छ ।

यसअघि तत्कालीन सञ्चारमन्त्री मोहनबहादुर बस्नेतको पालामा पनि भट्टराईको नाम जोड्न खोज्दा चौतारी र संघसंस्थाहरूले आपत्ति जनाएका थिए । विरोधपछि राजनीतिक उद्देश्यबाट मुक्त भएर ‘आमसञ्चार प्रतिष्ठान’ नै कायम राख्ने सहमति भएको विज्ञप्तिमा लेखिएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर