युक्रेनलाई सहयोग गर्नुभन्दा विद्यालय सुरक्षित बनाउन ध्यान दिनुपर्छ : ट्रम्प
न्यूयोर्क। केहीदिन अगाडि अमेरिकाको एक विद्यालयमा भएको गोलिबारी सम्बन्धी घटनामा प्रतिकृया दिँदै अमेरिकाका पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिकाले युक्रेनलाई सहयोग गर्नुपूर्व आफ्ना विद्यालयहरुलाई कसरी सुरक्षित बनाउन सकिन्छ भन्ने कुरामा ध्यान दिनुपर्ने बताएका छन् ।
यदी अमेरिकाले युक्रेनलाई सहयोगको रुपमा अर्बौ डलर दिन सक्छ भने आफ्ना बालबालिकालाई सुरक्षित बनाउनको लागि पनि जेसुकै गर्न पनि अमेरिका सक्षम हुनुपर्ने ट्रम्पको भनाइ छ ।
उनले भने ‘विश्व निर्माणको पहल सुरु गर्नुपूर्व हामीले आफ्ना बालबालिका लागि सुरक्षित विद्यालयहरु निर्माण गर्नमा ध्यान दिनुपर्छ’ ।अमेरिकाको सबैभन्दा ठूलो बन्दुकधारी समूह नेसनल राइफल एसोसियसनद्वारा आयोजित एक कार्यक्रमलाई संबोधन गर्दै ट्रम्पले यस्तो धारणा व्यक्त गरेका हुन् ।
केही दिन अगाडि अमेरिकाको टेक्सास प्रान्तस्थित एक प्राथामिक विद्यालयमा अन्धाधुन्द गोली चल्दा १९ बालबालिका सहित २१ जनाको मृत्यु भएको थियो ।
यसैबिच हाल अमेरिकामा हतियार राख्न पाउने नियमसम्बन्धी कडा नियन्त्रण हुनुपर्ने माग उठ्दै आएको छ । ट्रम्पले उक्त मागको खण्डन गर्दै दुष्टहरुको विरुद्ध सज्जन अमेरिकीहरुले बन्दुक बोक्न पाउन पर्ने र अमेरिकी विद्यालयलाई सुरक्षित बनाउन ‘फुल ओवरहलिङ’ गरिनु पर्ने माग राखेका थिए ।