यस्तो थियो २०६५ सालमा पारित भएको पाँच बुँदे गणतन्त्र घोषणा – Nepal Press

यस्तो थियो २०६५ सालमा पारित भएको पाँच बुँदे गणतन्त्र घोषणा

इटहरी। आज नेपालमा गणतन्त्र दिवस मनाइदैछ । राजतन्त्रात्मक मुलुकको हुलिया फेरेर अहिले नेपाली गणतन्त्र किशोरावस्थामै छ ।

२०६५ जेठ १५ गते पहिलो संविधानसभाबाट गणतन्त्र घोषणा भएको थियो । दिनको ४ बजे गणतन्त्र प्रमाणीकरणसमेत भएको थियो । यस्तो थियो गणतन्त्र घोषणाको औपचारिक भाषाः

नेपाली जनताले २००७ साल पहिलेदेखि पटक–पटक गर्दै आएका ऐतिहासिक सङ्घर्ष, क्रान्ति र जनआन्दोलनहरुमार्फत् अभिव्यक्त जनादेशको सम्मान गर्दै, प्राप्त उपलब्धिहरुलाई संस्थागत गर्न, राजनीतिक दलहरुका बीच भएको सहमति तथा नेपालको अन्तरिम संविधान, २०६३ को धारा १५९ को उपधारा (२) अनुरुप इतिहासले सुम्पेको अभिभारालाई आत्मसात् गर्दै नेपाल सरकार, मन्त्रिपरिषदको तर्फबाट माननीय प्रधानमन्त्री श्री गिरिजाप्रसाद कोइरालाले संविधानसभाको पहिलो वैठकमा प्रस्ताव गरी संविधानसभाको पहिलो वैठकले बहुमतबाट पारित गरेको हुँदा सर्वसाधारणलाई जानकारीको लागि प्रकाशन गरिएको छः

१. सार्वभौमसत्ता र राजकीयसत्ता नेपाली जनतामा निहीत रही स्वतन्त्र, अविभाज्य, सार्वभौमसत्तासम्पन्न, धर्मनिरपेक्ष, समावेशी नेपाल आजैका मितिदेखी एक सङ्घीय लोकतान्त्रिक गणतन्त्रमा विधिवत् परिणत भएको संविधानसभाको यो पहिलो बैठक घोषाणा गर्दछ ।

२. मुलुकमा विधिवत् लोकतान्त्रिक गणतन्त्र कार्यान्वयन भएकाले यससँग बाझिने सबै संवैधानिक प्रावधान, कानुन र प्रशासनिक व्यवस्था आजैका मितिदेखी बाझिएको हदसम्म खारेज भएको मानिनेछ । यो घोषणा पारित हुनुभन्दा तत्काल अघि प्रचलित कानुन, परम्परा, रीति सामाजिक तथा सांंस्कृतिक व्यवहार एवम् अभ्यासमा रहेका तत्कालीन सामाजिक तथा सांस्कृतिक व्यवहार एवम् अभ्यासमा रहेका तत्कालीन राजा र निजको परिवारका सदस्यलाई आम नेपाली नागरिकलाई भन्दा भिन्न रुपमा प्राप्त सम्पुर्ण अधिकार, सुविधा, हैसियत तथा उपाधि स्वतः अन्त्य हुनेछ ।

३. नेपाल सङ्घीय लोकतान्त्रिक गणतन्त्रमा विधिवत् घोषित भएको अवस्थामा राष्ट्रपतिको व्यवस्था लगायतका अत्यावश्यक प्रावधानलाई संवैधानिक रुपमा संस्थागत गर्न नेपालको अन्तरिम संविधान, २०६३ मा आवश्यक संशोधन विधेयक पेश गरिएको छ । राष्ट्रपतिको निर्वाचन प्रणालीलगायत अन्य आवश्यक विषयमा संविधान संशोधनसम्बन्धी अर्को विधेयक पेश गरिनेछ ।

४. नेपाल सङ्घीय लोकतान्त्रिक गणतन्त्रमा विधिवत् प्रवेश गरी नयाँ युग आरम्भ भएको ऐतिहासिक अवसरमा यो वैठकमा सम्पुर्ण ज्ञान–अज्ञात शहिदहरुप्रति हार्दिक श्रद्धाञ्जली अर्पण गर्दछ । यस अवसरमा सम्पुर्ण नेपाली जनतालाई हार्दिक बधाई ज्ञापन गर्दै आज र अब उप्रान्त प्रत्येक सालको जेठ १५ गते गणतन्त्र दिवसलाई हर्षोल्लासपूर्ण वातावरणमा व्यापकरुपमा विविध कार्यक्रमहरुकासाथ मनाउन देशभित्र र बाहिर रहनुभएका सम्पुर्ण नेपालीहरुमा यो वैठक हार्दिक आह्वान गर्दछ ।

५. नेपालमा लोकतान्त्रिक गणतन्त्र कार्यान्वयन भइसकेको सन्दर्भमा नारायणहिटी दरबार परिसर तथा यसभित्र रहेको सम्पूर्ण सम्पदालाई ऐतिहासिक सङ्ग्रहालय लगायत राष्ट्रिय हितमा उपयोग गर्न नेपाल सरकारले आवश्यक व्यवस्था मिलाउनेछ ।

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर