भक्तपुरको मध्यपुर थिमि नगरपालिकाको कार्यपालिका सदस्य निर्वाचनमा कांग्रेस र माओवादीविरुद्ध एमाले – Nepal Press

भक्तपुरको मध्यपुर थिमि नगरपालिकाको कार्यपालिका सदस्य निर्वाचनमा कांग्रेस र माओवादीविरुद्ध एमाले

काठमाडौं । भक्तपुरको मध्यपुर थिमि नगरपालिकाको कार्यपालिका सदस्यमा नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्रले तालमेल गरेका छन् ।

वैशाख ३० गते भएको स्थानीय तह निर्वाचनअन्तर्गत मध्यपुर थिमि नपामा कांग्रेस एक्लैको बहुमत रहेको छ । तैपनि सत्ता गठबन्धनअनुसार निर्वाचनमा होमिएका कांग्रेस र माओवादी केन्द्रले कार्यपालिका सदस्य निर्वाचनमा गठबन्धन गरेका हुन् ।

जसले गर्दा कार्यपालिका सदस्यमा उम्मेदवारी दिएका यी दुई दलका सबै उम्मेदवार चुनिने निश्चित छ । तैपनि एमाले आफ्नो छुट्टै उम्मेदवारी दिएको छ ।

विधानअनुसार ३ जना दलित एवं अल्पसंख्यकसँगै पाँच महिला कार्यपालिका सदस्यमा निर्वाचित हुन्छन् । जसअनुसार ८ जना कार्यपालिका सदस्यमध्ये कांग्रेस र माओवादीले क्रमशः ७ र १ जना भागबन्डा गरेका छन् । माओवादीबाट दलित एवं अल्पसंख्यकतर्फ बालकृष्ण परियारको उम्मेदवारी दर्ता गरिएको छ ।

त्यस्तै कांग्रेसबाट दलित एवं अल्पसंख्यकतर्फ जसे सार्की र सरोज परियारको उम्मेदवारी दर्ता गरेको छ । एमालेले भने प्रमिला परियार, मञ्जु नेपाली र मन्दिरा थापा परियारको उम्मेदवारी दर्ता गराएको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । कार्यालयकी प्रमुख मैंया कँडेलका अनुसार जेठ १७ गते कार्यपालिका सदस्य चुन्न मतदान हुनेछ ।

पाँच महिला कार्यपालिका सदस्यतर्फ कांग्रेसले उज्वला थापा श्रेष्ठ, तुइलमाया चक्रधर, शर्मिला विश्वकर्मा, सरस्वती खड्का र सीता विश्वकर्माको उम्मेदवारी दर्ता गराएको छ । एमालेले अम्बिका रजक, कमला प्रजापति, रामकेशरी श्रेष्ठ, सरिता अर्याल र सुन्तली विश्वकर्माको उम्मेदवारी दर्ता गरेको छ ।

नौवटा वडा रहेको मध्यपुर थिमि नगरपालिकामा वैशाख ३० गते भएको स्थानीय तह निर्वाचनबाट ४६ जनप्रतिनिधि निर्वाचित भएका छन् । जसमध्ये वडा नं ४ मा दलित महिला सदस्यको उम्मेदवारी नै परेन ।

४६ सदस्यीय नगरसभामा कांग्रेसका मेयरसहित २६ जनप्रतिनिधि छन् । दोस्रोमा एमालेका २ वडा अध्यक्षसहित १४, माओवादीको उपमेयरसहित २ र एक वडा अध्यक्ष जितेको नेमकिपासँग ४ सभासद् रहेका छन् ।

निर्वाचनमा कांग्रेस र माओवादीबीच नै गठबन्धन गरिएकाले कार्यपालिका सदस्य निर्वाचनमा पनि तालमेल गरिएको कांग्रेस मध्यपुर थिमि नगर समितिले जनाएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर