प्रमुख अतिथि, बहुसंख्यक मन्त्री र सांसदलाई जुरेन समय – Nepal Press
लुम्बिनीको गणतन्त्र दिवस कार्यक्रमः

प्रमुख अतिथि, बहुसंख्यक मन्त्री र सांसदलाई जुरेन समय

रुपन्देही । बितेका दुई वर्ष कोरोना महामारीका कारणले विशेष तरिकाले मनाउन नपाएको गणतन्त्र दिवस विशेष तरिकाले मनाउने तयारी गरेको थियो लुम्बिनी प्रदेश सरकारले ।

त्यसो त ५ दलीय गठबन्धनमा बनेको यो सरकारको पहिलो यस्तो ठूलो कार्यक्रम आयोजना भएको थियो । आइतबार प्रदेश सरकारले बिशेष तामझामका साथ १५ औ गणतन्त्र दिवस मनाइरहँदा सरकारका बहसंख्यक मन्त्री तथा सांसदहरु भने त्यो औपचारिक कार्यक्रममा आफ्नो सहभागिता देखाएनन् ।

बहुसंख्यक मन्त्री तथा सांसदहरु सहभागी नभएको त्यो कार्यक्रमका प्रमुख अतिथि निम्त्याइएका प्रदेश प्रमुख पनि जान सकेनन् ।
बुटवलको दिपनगरस्थित सिद्धेश्वरीे खेलमैदानमा आयोजना गरिएको मूल समारोहमा प्रमुख अतिथि प्रदेश प्रमुख अमिक शेरचन बिरामी परेका कारण सहभागी हुन नपाएको जानकारी दिइएपनि प्रदेश सरकारका १७ मन्त्रीमध्ये ३ जना मन्त्री मात्रै सहभागी भए अरु मन्त्री किन सहभागी भएनन् कसैले पत्तो पाएनन् ।

कार्यक्रममा सभामुख,उपसभामुख तथा प्रदेश सभा सदस्यहरु भोजप्रसाद श्रेष्ठ र तुलाराम घर्ती मात्रै सहभागी भएका थिए ।आइतबार बिहानैदेखि मौसमको प्रतिकुलतका बावजुत सर्वसाधारणको उत्साहजनक सहभागिता रहँदा प्रमुख अतिथि, प्रदेशका मन्त्रीहरु भने गणतन्त्र दिवस मनाउन किन आएनन्, कार्यक्रम स्थल किन व्यवस्थित भएन भनेर सहभागिले एकआपसमा प्रश्न गरिरहेका थिए ।

मन्चमा मन्त्रीहरुका लागि राखिएका कुसीहरु रित्तै रहेको देख्दा कार्यक्रम नै खल्लो भएको विभिन्न संघसंस्थाबाट सहभागीले जनाएका छन् । दुई दिनअघि नै यो कार्यक्रमको व्यवस्थापन गरेको आन्तरिक मामिला तथा सञ्चार मन्त्रालयले अहिलेको कार्यक्रमलाई विशेष तरिकाले गर्न लागिएको र तयारी राम्रो गरी भएको जानकारी दिएका थिए ।

मन्त्रालयले सबै मन्त्रीहरुलाई निमन्त्रणा गरेको र समारोह मनाउने सन्दर्भमा मुख्यमन्त्री कार्यालयमै छलफल भएको भएपनि मन्त्रीहरुले गणतन्त्र दिवस मनाउन किन चासो दिएनन् भन्ने विषय सहभागीले उठाइरहे ।

१७ जना मन्त्री रहेको सरकारका आन्तरिक मामिला मन्त्री तिलकराम शर्मा, कानून महिला बालबालिका तथा जेष्ठ नागरिक मन्त्री रमा घर्ती, शिक्षा विज्ञान युवा तथा खेलकुद मन्त्री बसिउद्धिन खां मात्रै सहभागी रहेका थिए । कार्यक्रममा अधिकांश नगरपालिकका प्रमुख तथा उपप्रमुखहरु, विभिन्न सामाजिक संघसंस्था तथा विद्यालयका शिक्षक विद्यार्थी तथा पुस्कृत व्यक्तित्वहरु सहभागी रहेका थिए । कार्यक्रममा सहभागिता नभएको बारे अधिकांश मन्त्रीहरुले तयारी जवाफ दिएका छन् मौसम यस्तै पर्यो ।

मन्त्री सुरेन्द्र हमालले बाँकेमा बिरामी परेको, मन्त्री ईन्द्रजित थारुले बिरामी भएको, मन्त्री सुष्मा यादवले पानी परेर सन्चो नभएको,मन्त्री पुर्मती ढेंगाले थकाई लागेको,मन्त्री अजय शाहीले विशेष काम परेर मुख्यमन्त्रीलाई जानकारी दिएको, मन्त्री बिरबहादुर रानाले जरुरी काम परेको, आर्थिक मामिला मन्त्री कृष्णध्वज खड्काले काठमाण्डौ भएको जवाफ दिएपनि मन्त्रीहरु बिमला वली, डिल्ली चौधरी, रिना नेपाल बिक, सुमन शर्मा रायमाझी, अर्जुनकुमार श्रेष्ठ र सहसराम यादवले फोन उठाएनन मोबाइल नै उठाएनन् ।

कार्यक्रममा सहभागी अधिकारकर्मी तथा अध्यापक लालहरी पाण्डेले सरकारको औपचारिक कार्यक्रममै यति धेरै मन्त्री र सांसदहरुले वेवास्ता गर्नु लज्जास्पद भएको टिप्पणी गरे ।

उनले उनीहरुको सहभागिताको विषय मात्रै नभएर विद्यालय तहका विद्यार्थीलाई गराइएको सहभागिता, कार्यक्रमस्थलको व्यवस्थापन, पुस्कृत व्यक्तिलाई फ्रेमबिनाको प्रमाणपत्र दिइनु सरकारको झारा टार्ने काम भएको र यसले यहाँको कार्यक्रमको स्तरको मापनलाई कमजोर बनाउने बताए ।

संघ र स्थानीय तहको संयोजन भएको छः मुख्यमन्त्री केसी

लुम्बिनी प्रदेशका मुख्यमन्त्री कुलप्रसाद केसीले संघीय लोकतान्त्रिक गणतन्त्र नेपालको संविधानले दिएको जिम्मेवारी पूरा गर्न प्रदेश सरकार प्रतिवद्ध रहेको बताएका छन् ।

गणतन्त्र दिवस २०७९ बिशेष समारोहलाई सम्वोधन गर्दै मुख्यमन्त्री केसीले सार्वभौम नेपाली जनताले अधिकार प्राप्त गरेको जेठ १५ गतेलाई नेपाली इतिहासकै स्वर्णिम दिनको रुपमा लिपिबद्ध गरिएको बताए ।

प्रदेश सरकारलाई संघ र स्थानीय तहहरुको संयोजन गर्ने भूमिका दिएको बताउँदै उनले त्यो भूमिका निर्वाहमा प्रदेश सरकार सधै लागि रहने बताएका हुन् ।

मुख्यमन्त्री केसीले गणतन्त्रलाई जनताको जनजीविकाको उत्तम प्रणालीको रुपमा विकास गर्दै लैजानुपर्ने बताउँदै गणतन्त्रात्मक व्यवस्था एउटा गतिशील सुशासन कायम भएको व्यवस्था भएकोले यसलाई समृद्ध बनाउनुको विकल्प नभएको बताए ।

मुख्यमन्त्री केसीले आफ्ना अधिकारहरुलाई संस्थागत गरेको संघीय लोकतान्त्रिक गणतन्त्र नेपालप्रति गौरव र हर्षउल्लासपूर्वक घर–घर गाउँगाउँसम्म एउटा महान चाडकै रुपमा मनाउनको लागि आग्रह गरे ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर