संघीय बजेट : कर्णालीमा बग्रेल्ती योजना, बजेट खुलेन – Nepal Press

संघीय बजेट : कर्णालीमा बग्रेल्ती योजना, बजेट खुलेन

सुर्खेत । कर्णाली प्रदेशको रुकुम पश्चिमबाट प्रतिनिधित्व गर्ने अर्थमन्त्री जनार्दन शर्माले आइतबार संघीय संसदमा आर्थिक वर्ष २०७९/८० का लागि बजेट पेश गरे । विगतमा कर्णाली बजेटमा हेपिएको आरोप लाग्ने गरेको समयमा यसपटक कर्णालीले न्याय पाउने सबैको अपेक्षा थियो ।

कर्णालीवासीको अपेक्षाअनुसार यसपटकको बजेटमा कर्णालीका योजनाका नामहरु भने बग्रेल्ती समेटिए । तर, बजेट भने खुलाइएको छैन ।
वर्षौंदेखि चर्चामा आएको प्रादेशिक विमानस्थलले यसपटकको बजेटमा पनि स्थान पाएको छ । कर्णालीमा नयाँ विमानस्थल निर्माण हुने गरी बजेटमा समेटिएको छ । तर, यसका लागि बजेट खुलाइएको भने छैन । बजेट बक्तव्यमा सुर्खेतको रामघाटमा नयाँ प्रादेशिक विमानस्थल निर्माण गरिने उल्लेख छ ।

त्यस्तै सुर्खेत–रानीघाट–भुरीगाउँ सुरुङ्ग निर्माणको सम्भाव्यता अध्ययन गरिने भएको छ ।

डोल्पाको तिन्छे र ध्वोमा सुख्खा बन्दरगाह निर्माण गरी सञ्चालनमा ल्याइने छ । कर्णालीमा एक सयभन्दा बढीलाई रोजगारी दिने गरी स्थापना हुने उद्योगलाई १५ वर्षसम्म आयकरमा छुट दिइने छ ।

बजेटमा समावेश यी सवै आयोजना नयाँ हुन् । राष्ट्रिय गौरवको आयोजना भेरी–बबई बहुउद्देश्यीय आयोजनालाई निरन्तरता दिइएको छ । आयोजनाको हेडबक्स र पावर हाउस निर्माणलाई तीव्रता दिइने उल्लेख छ । जसका लागि २ अर्ब २७ करोड बजेट विनियोजित गरिएको मन्त्री शर्माले उल्लेख गरेका छन् । बजेटमा यो योजनाबाहेक अन्यमा रकम किटान गरिएको छैन ।

बजेटअनुसार प्रदेश राजधानी सुर्खेतमा दुई वटा मेडिकल कलेज बन्ने भएका छन् । हालको कर्णाली प्रदेश अस्पतालाई स्तरोन्नति गरी प्रादेशिक मेडिकल कलेजको रुपमा विकास गरिने छ ।

यस्तै सुर्खेत मेडिकल कलेजलाई अगाडि बढाइने योजना बजेटमा उल्लेख छ । सरकारले वर्षेनि बजेट भाषणमा यी कार्य गर्ने भन्दै आए पनि प्रगति भने शून्य छ ।

दैलेखको राकम कर्णालीमा सुविधा सम्पन्न ट्रमा सेन्टर निर्माण हुनेछ । कर्णाली प्रदेश अस्पतालमा मृगौला प्रत्यारोपणका लागि आवश्यक बजेट विनियोजन गरिएको अर्थमन्त्री शर्माले जानकारी दिए । यो बजेटबाट प्रदेश अस्पतालमा मृगौला प्रत्यारोपण हुने उल्लेख छ ।

कर्णालीको फापर, कोदो, गहुँ र जौ प्रशोधनका लागि उद्योग स्थापना गरिने बजेटमा उल्लेख छ । त्यस्तै पर्यटकीय पूर्वाधार विकासका लागि मुगुको रारा, डोल्पा, शे फोक्सुण्डो तथा हुम्लाको लिमीलाई पर्यटकीय स्थल बनाउन पर्यटकीय मार्ग निर्माणमा आवश्यक बजेट विनियोजन गरिएको छ ।

जडिवुटी र बहुमूल्य पत्थर प्रशोधनका लागि सुर्खेतमा प्रशोधन उद्योगको स्थापना गर्ने जस्ता विषय बजेटमा परेका छन् । खानेपानी पूर्वाधारका सन्दर्भमा सुर्खेतको पूर्वी गुर्भाकोट नगरपालिकामा रहेको सुभाघाट खानेपानी आयोजना निर्माण सुरु हुनेछ ।

त्यस्तै जुम्लाको कोक्लापाटनमा हाइअल्टिच्युट एण्ट टेनिङ सेन्टर निर्माण हुने बजेटमा उल्लेख छ ।

मध्यपहाडी लोकमार्गअन्तर्गत सल्यान र सुर्खेत खण्डमा पर्ने मदन भण्डारी राजमार्गको स्तरोन्नतिको काम जारी राखिने छ । कर्णाली र भेरी करिडोरअन्तर्गतका सडक स्तरोन्नति गरिने छ । हिमाली जिल्ला हुम्लालाई राष्ट्रिय सडक सञ्जालमा जोडिने बजेटमा उल्लेख छ ।

कर्णालीमा बहुउद्देश्यीय तालिम केन्द्र स्थापना गरिने भएको छ । समृद्ध कर्णालीका लागि ‘समृद्ध कर्णाली’ कार्यक्रमअन्तर्गत हुम्लाको लिमी र डोल्पाको डोल्पो बुद्धलाई हिमाली सहर र जुम्लाको सिंजामा एकीकृत बस्ती विकास गरिने छ । जलविद्युत आयोजनाअन्तर्गत फुकोट कर्णाली, जगदुल्ला जलविद्युत आयोजनालाई निरन्तरता दिइने छ । बेतन कर्णाली जलविद्युत आयोजनाको खरिद प्रक्रिया अगाडि बढाइने भएको छ ।

चौकुने सिमेन्ट कारखानाबारे बजेटमा केही उल्लेख गरिएको छैन ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर