टेक्सस गोलीबारी घटनामा प्रहरी प्रतिक्रियाबारे अनुसन्धान गरिने
काठमाडौं । गत हप्ता अमेरिकाको टेक्सास प्रान्तस्थित एक प्राथमिक विद्यालयमा भएको गोलीबारी प्रकरणमा प्रहरी जनाएको प्रतिक्रियाबारे अमेरिकाले अनुसन्धान गर्ने भएको छ ।
उक्त घटनामा १९ जना बालबालिकासहित २१ जनाको मृत्यु भएको थियो । आक्रमणकारीले विद्यालयमा कब्जा गरेपश्चात विद्यार्थीले प्रहरीलाई जानकारी गराए पनि प्रहरीले विद्यालय प्रवेश गर्न र आवश्यक कारबाही गर्न विलम्ब गरेको भनेर चर्को आलोचना भएसँगै अमेरिकाले प्रहरी कारबाहीबारे अनुसन्धान गर्ने भएको बीबीसीले जनाएको छ ।
अमेरिकी राष्ट्रपति जो बाइडेनले आइतबार घटनास्थलको निरीक्षण गरी पीडित परिवारलाई पनि भेट गरेका थिए । सो समयमा पनि विद्यालय बाहिर घटनाको बारे छानबिन गर्न नाराबाजी भएको थियो । जसमा प्रतिक्रिया दिँदै बाइडेनले यस सन्दर्भमा छानबिन हुने बताएका थिए ।
यता अमेरिकाको न्याय विभागले पनि उक्त घटनाको समीक्षा घोषणा गर्दै त्यस दिन कानून प्रवर्तन कार्य र प्रतिक्रियाहरूको बारेमा अनुसन्धान गरी त्यस किसिमको घटनामा प्रतिक्रियाको उत्कृष्ट अभ्यासको बारे पहिचान गर्ने जनाएको छ ।
अमेरिकामा यसै वर्ष मात्र २ सय गोलीबारीका घटना घटेका छन् । गत हप्ताको घटनामा प्रहरी ४० मिनेट ढिला पुगेको प्रहरीले स्वीकार गरेको छ ।