निर्मला पन्तको बलात्कार र हत्याको प्रमाण मेटिएको छ, पक्राउ गरेरै छाड्छौं : प्रधानमन्त्री देउवा (भिडिओ) – Nepal Press

निर्मला पन्तको बलात्कार र हत्याको प्रमाण मेटिएको छ, पक्राउ गरेरै छाड्छौं : प्रधानमन्त्री देउवा (भिडिओ)

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले निर्मला पन्तको बलात्कार र हत्या गर्नेलाई पक्राउ गरेरै छाड्ने प्रतिबद्धता जनाएका छन् ।

चौथो राष्ट्रिय महिला अधिकार दिवसका अवसरमा महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयले सोमबार काठमाडौंमा आयोजना गरेको कार्यक्रममा प्रधानमन्त्री देउवाले निर्मला पन्तको बलात्कार र हत्यापछि प्रमाण मेट्ने काम भएको भन्दै उक्त घटनामा संलग्नलाई पक्राउ गरेरै छाड्ने बताएका हुन् ।

‘बलात्कारजस्तो घटनामा अपराधीलाई क्षमा दिन सकिँदैन, ढिलो-चाडो अपराधीलाई कानूनी कठघरामा उभ्याइने छ । महिलाविरूद्ध हुने सबै किसिमका हिंसाजन्य कार्य र शोषणलाई कानुनले दण्डनीय हुने व्यवस्था गरेको छ’, प्रधानमन्त्री देउवाले भने ।

संविधानले महिलाउपर हुने सबै प्रकारका भेदभावको अन्त्य गर्दै समानुपातिक समावेशी एवं समतामूलक समाजको निर्माण गर्ने सङ्कल्प गरेको उनको भनाइ छ ।

प्रधानमन्त्री देउवाले लैङ्गिक विभेद तथा हिंसाका घटनालाई जरैदेखि निर्मूल गर्न शून्य सहनशीलताको नीति लिइ कार्य गर्दै आएको बताउँदै आगामी दिनमा यस नीतिलाई अझ प्रभावकारी ढंगले कार्यान्वयन गर्ने पनि बताए ।

कार्यक्रममा महिला अधिकारको क्षेत्रमा काम गर्ने विभिन्न व्यक्तिहरूलाई सम्मान गरिएको थियो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर