गठबन्धनको समिक्षा- कांग्रेसको अन्तर्घातले सोचेझै परिणाम आएन – Nepal Press

गठबन्धनको समिक्षा- कांग्रेसको अन्तर्घातले सोचेझै परिणाम आएन

काठमाडौं । सत्तारुढ गठबन्धनको बैठकमा स्थानीय निर्वाचनबारे प्रारम्भिक समिक्षा भएको छ । बालुवाटारमा बसेको गठबन्धन बैठकले ‘केन्द्रमाजस्तै एकता तलसम्म नदेखिएको’ निष्कर्ष निकालेको छ ।

बैठकमा गठबन्धन दलहरुबीच आपसी सहमति नभएका कारण केही महत्वपूर्ण स्थानहरु गुमेको धारणा अधिकांश नेताहरुले राखेका थिए । बैठकले गठबन्धनको तल्लो तहमा समस्या देखिएपनि तालमेल जारी राख्ने निर्णय भने गरेको छ । गठबन्धनको चुनावी तयारी समितिका संयोजक रामचन्द्र पौडेलले गठबन्धनमा कुनै समस्या नरहेको दावी गरे ।

‘बैठकमा सबै सन्दर्भका कुराहरु भए । केन्द्रमा जस्तै हार्दिकता र एकता तल्लो तहसम्म कायम भएको भए गठबन्धनले अझ धेरै सफलता पाउँथ्यो भन्ने साझा निष्कर्ष रह्यो’, पौडेलले नेपाल प्रेससँग भने । उनले कतिपय स्थानीय तहमा भएका असमझदारी र अन्तर्घातबारे खुलेर कुराकानी भएको जानकारी दिए ।

बैठकमा जसपा नेपालका अध्यक्ष उपेन्द्र यादवले भने कांग्रेसको आन्तरिक द्वन्द्वका कारण गठबन्धनलाई घाटा भएको बताएका थिए । ‘कांग्रेसको आन्तरिक विवाद यति गहिरो रहेछ की कतिपय स्थानमा त्यही कारणले तालमेल गर्दापनि असफल भयौं’, बैठकमा यादवले भनेका थिए । यादवले तालमेलबाट अपेक्षित सफलता नपाएपनि गठबन्धन जारी रहने बताए । ‘गठबन्धनमा भएका समस्याबारे छलफल गरेका छौं । अहिले नै सबै समिक्षा हुँदैन । जिल्लाहरुबाट रिपोर्ट मगाएका छौं । कार्यपालिका र जिससको चुनाव बाँकी नै छ । मुख्य कुरा जसपा गठबन्धन कायम राख्ने पक्षमा छ’, यादवले नेपाल प्रेससँग भने ।

बैठकमा सहभागि कांग्रेस उपसभापति पूर्णबहादुर खड्काले स्थानीय निर्वाचन पूर्ण रुपमा नसकिएकोले समिक्षा जारी नै रहने बताए । उनले गठबन्धनमा टुटफुट ल्याउन प्रयास भएपनि त्यसले सार्थकता नपाउने दावी गरे । ‘गठबन्धनमा विवाद होला र दूनो सोझ्याउला भन्ने कसैलाई छ भने त्यो भ्रम हो । केही स्थानमा हामी सबैको कमजोरीले नतिजा सोचेजस्तो आएन होला तर गठबन्धनमा समस्या छैन’, खड्काले नेपाल प्रेससँग भने ।

बैठकले स्थानीय तहको कार्यपालिका र जिल्ला समन्वय समितिको निर्वाचनमा चुनावी तालमेल गर्न गठबन्धन आवद्ध दलका प्रदेश र जिल्ला समितिलाई निर्देशन समेत दिएको छ । बैठकपछि पाँच दलका शीर्ष नेताहरुले विज्ञप्ति नै जारी गरी ७७ वटै जिल्लामा तालमेल गर्न मातहतका समितिलाई निर्देशन दिएका छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर