बर्दगोरिया कार्यपालिकामा एमालेको एकल जित – Nepal Press

बर्दगोरिया कार्यपालिकामा एमालेको एकल जित

कैलाली । कैलालीको बर्दगोरिया गाउँपालिकाको कार्यपालिका सदस्य निर्वाचनमा सबै पदमा एमालेका उम्मेदवार विजयी भएका छन् । आज बिहान सम्पन्न भएको निर्वाचनमा गठबन्धनका उम्मेदवारहरूलाई हराउँदै एमालेका उम्मेदवार विजयी भएका हुन् ।

चारजना महिला सदस्य निर्वाचित हुनुपर्नेमा आठजनाको उम्मेदवारी परेको थियो । त्यसमा एमालेका चारजना र गठबन्धनको तर्फबाट एकजना कांग्रेसका र तीनजना माओवादीका उम्मेदवार थिए ।

त्यस्तै दलित वा अल्पसङ्ख्यकतर्फ दुईजनका लागि चारजनाको उम्मेदवारी परेको थियो । एमालेका तर्फबाट दुईजना र गठबन्धन तर्फ माओवादी र कांग्रेसले १–१ जना उम्मेदवार तयार थिए ।

६ पदका लागि ३२ जनाले मतदान गरेका थिए । एमाले र गठबन्धनका तर्फबाट गाउँसभा सदस्यहरू बराबर सदस्य रहे पनि निर्वाचन रोचक हुने आँकलन गरिएको थियो । यहाँ एमालेका १६ जना र माओवादी तथा कांग्रेसका पनि १६ जना मतदाता रहेका छन् ।

सबै उम्मेदवारको १६–१६ मत आउने र त्यसपछि गोला प्रथाबाट सदस्य टुंगो लाग्नसक्ने धेरैले अनुमान गरेका थिए । तर, निर्वाचनको परिणाम त्यस्तो आएन ।
एमालेका चारजना महिला सदस्यले १६ मत प्राप्त गर्दा दलित वा अल्पसङ्ख्यक तर्फ २ जनाले १७ मत प्राप्त गरे ।

यता गठबन्धनका उम्मेदवारहरुले महिलातर्फ १६ मत र दलित वा अल्पसङ्ख्यक तर्फ १५ मत पाउनुपर्ने देखिन्थ्यो । तर, महिलातर्फ ११ मत पाउँदा दलित वा अल्पसङ्ख्यक एकजनाले ११ र अर्को एक जनाले ९ मत प्राप्त गरे ।

महिलातर्फ कलावती कुमारी रेग्मी, माया देवी चौधरी, मिरा देवी आले मगर,सरस्वती कामी विजयी भए । दलित वा अल्पसङ्ख्यकतर्फ भीमबहादुर विश्वकर्मा र पुस्कर सुनार विजयी भए । सुनार अघिल्लोपटकको स्थानीय तह निर्वाचनमा माओवादी केन्द्रको तर्फबाट वडा सदस्यमा निर्वाचित भएका थिए । निर्वाचनको दौरानमा एमाले अध्यक्ष केपी शर्मा ओली बौनिया आउँदा सुनार एमालेमा प्रवेश गरेका थिए ।

बराबर मतदाता हुँदा पनि एमालेका उम्मेदवारहरू महिलातर्फ पाँच मत र दलित वा अल्पसङ्ख्यकतर्फ एक जना ६ मतले र अर्का आठ मतले विजयी भएको निर्वाचन अधिकृत बद्री पाठकले जानकारी दिए ।

उनले १० मत बदर भएको बताए । महिलातर्फ पाँच र दलित वा अल्पसङ्ख्यक तर्फ पनि पाँच मत बदर भएको पाठकले जानकारी दिए । यति धेरै मत बदर हुनुमा मतदान शिक्षाको अभाव वा नियोजित भन्ने कुरा पुष्टि हुन नसकेको उनको भनाइ छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर