हामी पूँजीवाद भत्काउन यो प्रणालीमा आएका हौं, समाजवादी क्रान्ति अनिवार्य छः नारायणकाजी श्रेष्ठ – Nepal Press

हामी पूँजीवाद भत्काउन यो प्रणालीमा आएका हौं, समाजवादी क्रान्ति अनिवार्य छः नारायणकाजी श्रेष्ठ

काठमाडौं । नेकपा माओवादीका नेता नारायणकाजी श्रेष्ठले आफ्नो पार्टी दलाल पूँजीवादलाई भत्काउन शान्तिपूर्ण प्रतिस्पर्धात्मक राजनीतिमा आएको बताएका छन् । तर, शान्तपूर्ण बाटो अवरुद्ध गरियो भने समाजवादी क्रान्ति सम्पन्न गर्न माओवादीले जुनसुकै बाटो लिन सक्ने उनले चेतावनी दिए ।

माओवादीबाट निर्वाचित जनप्रतिनिधिहरुका लागि आज आयोजित अभिमुखीकरण कार्यक्रममा नेता श्रेष्ठले पार्टीको सैद्धान्तिक पाटोमा प्रकाश पारेका थिए । उनले पार्टीले अख्तियार गरेको शान्तिपूर्ण बाटोलाई लिएर भ्रम र अन्योल देखिएको बताए ।

उनले भने, ‘हामीले शान्तिपूर्ण बाटो भनेका छौं । अहिलेको शान्तिपूर्ण बाटोको मुख्य पक्ष शान्तिपूर्ण प्रतिस्पर्धा हो । तर, शान्तिपूर्ण प्रतिस्पर्धा भनेको शान्तिपूर्ण बाटोको सम्पूर्ण पक्ष होइन ।’

श्रेष्ठले थपे, ‘शान्तिपूर्ण बाटोबाटै अगाडि बढ्दै गर्दा के स्पष्टता राख्नुपर्छ भने शान्तिपूर्ण बाटोमा शान्तिपूर्ण जनआन्दोलन र शान्तिपूर्ण विद्रोह पनि हुन सक्छ । शान्तिपूर्ण बाटो अवरुद्ध गरियो भने जे गर्दा समाजवादी क्रान्ति सम्पन्न हुन्छ त्यो गर्नु अनिवार्य हुन्छ ।’

संसदीय अभ्यासमा आएपछि यो अलिअलि विकृति त भइहाल्छ नि भन्ने मान्यता नराख्न उनले जनप्रतिनिधिलाई आग्रह गरे । शान्तिपूर्ण प्रतिस्पर्धा र संसदबाद एउटै नभएको उनको भनाइ छ ।

‘हामी पूँजीवादलाई बलियो बनाउन यो प्रतिस्पर्धामा आएका होइनौं । हाम्रो शान्तिपूर्ण प्रतिस्पर्धा संसदबाद होइन । हामी पूँजीवजादको विरुद्ध छौं । जनप्रतिनिधिमूलक प्रणालीलाई संसदीय व्यवस्था भन्ने चिन्तन गलत छ,’ श्रेष्ठले भने ।

आफ्नो पार्टी हामी जनप्रतिनिधिमूलक संस्था र निर्वाचनको पक्षमा रहेको उनले स्पष्ट पारे । तर, त्यो भनेको पूँजीवादमा सहभागिता नभएको श्रेष्ठले बताए ।

‘यो निर्वाचनमा हाम्रो सहभागिता र भूमिका पूँजीवादलाई भत्काउन हो । यो बुझिएन भने निर्वाचन लड्नुको अर्थ र जित्नुको अर्थ हुन्न,’ उनले भने ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर