भक्तपुरको चाँगुनारायण र सूर्यविनायकको नगर कार्यपालिकाले पायो पूर्णता, काे काे भए निर्वाचित ? – Nepal Press

भक्तपुरको चाँगुनारायण र सूर्यविनायकको नगर कार्यपालिकाले पायो पूर्णता, काे काे भए निर्वाचित ?

काठमाडौं । भक्तपुरको चाँगुनारायण र सूर्यविनायक नगरपालिकाको कार्यपालिकाले पूर्णता पाएको छ । मंगलबार भएको मतदानबाट ८–८ जना सदस्य निर्वाचित भएसँगै यी दुई नपाको कार्यपालिकाले पूर्णता पाएको हो ।

कुनै पनि दलको स्पष्ट बहुमत नभएको चाँगुनारायणमा नेपाली कांग्रेस, नेपाल मजदुर किसान पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्टीका उम्मेदवारहरु कार्यपालिका सदस्यमा निर्वाचित भएका छन् ।

यहाँ कांग्रेस र नेमकिपा तथा एमाले र राप्रपाले चुनावी तालमेल गरेका थिए । स्थानीय तह निर्वाचनबाट चुनिएका ४७ जनप्रतिनिधिमध्ये कांग्रेसका मेयर र ४ वडा अध्यक्षसहित १८ र नेमकिपाका एक वडा अध्यक्षसहित ५ जना रहेका छन् । जुन तालमेलअनुसार कांग्रेस र नेमकिपासँग स्पष्ट बहुमत हुँदा पनि गठबन्धनको तर्फबाट नेमकिपाले एक महिला कार्यपालिका सदस्य गुमाएको छ ।

त्यस्तै एमालेसँग उपमेयर र २ वडा अध्यक्षसहित १८ र २ वडा अध्यक्ष रहेको राप्रपाका ६ जना जनप्रतिनिधि रहेका छन् ।

कांग्रेसबाट महिलातर्फ पूजा बर्देवा, निर्मला केसी र सीतादेवी दहाल लामिछाने तथा दलित एवं अल्पसंख्यकतर्फ दधिराम धिमाल कार्यपालिका सदस्य निर्वाचित भए ।

त्यस्तै नेमकिपाबाट महिलातर्फ कमला भारती गिरी र दलित एवं अल्पसंख्यकतर्फ जीवन नेपाली र युवराज सार्की (बयलकोटी) कार्यपालिका सदस्य निर्वाचित भए ।

नेमकिपाबाट महिला सदस्यतर्फकी उम्मेदवार सुमित्रा दर्जी पराजित हुँदा राप्रपाकी सोनु विश्वकर्मा विजयी भइन् ।

सूर्यविनायकमा एमालेका आठै जना विजयी

यता सूर्यविनायक नगरपालिकाको कार्यपालिका निर्वाचनमा भने एमालेका आठैजना उम्मेदवार विजयी भएका छन् । एमालेको एकल बहुमत रहेको सूर्यविनायकमा महिलातर्फ कमला पोखरेल, तारा खतविडा सापकोटा, हेमा दाहाल खतिवडा, शर्मिला बस्नेत र सावित्री मिश्र निर्वाचित भएका छन् ।

त्यस्तै दलित एवं अल्पसंख्यकतर्फ सुनिल भुजेल, सुमन परियार र प्रजुन त्रिखत्री नगर कार्यपालिका सदस्यमा निर्वाचित भएका छन् ।

यहाँ कांग्रेसको तर्फबाट उम्मेदवारी दिने महिलातर्फ कल्पना खतिवडा दाहाल, पूजा बराह, रञ्जिता त्रिखत्री, सरला विश्वकर्मा र हीरालक्ष्मी कोजू तथा दलित एवं अल्पसंख्यकतर्फ पूर्ण नेपाली बिसुंके, विदुर मगराती र रमिला मिजार पराजित भएका छन् ।

वैशाख ३० गते भएको निर्वाचनबाट चुनिएका ५२ जनप्रतिनिधिमध्ये एमालेका मेयर र उपमेयरसहित ३३ जना तथा कांग्रेसका ५ वडा अध्यक्षसहित १८ जना रहेका छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर