बालेन कि विधि ?
भनिन्छ शक्तिमा भएको व्यक्तिभन्दा व्यक्तिमा भएको शक्ति नै लोकतन्त्रमा बलवान् हुन्छ । यसपटक स्थानीय तहको निर्वाचनमा काठमाडौंका जनताले व्यक्तिमा निहित त्यही शक्तिको पहिचान गरे । लामो राजनीतिक विरासत र संगठनको तागत बोकेकाहरुलाई ‘व्यक्तिको तागत’ ले पराजित गरिदियो । अर्थात्, काठमाडौं महानगरको प्रमुखमा स्वतन्त्र युवा उम्मेदवार बालेन्द्र साह उर्फ बालेन निर्वाचित भए ।
निर्वाचन अभियानका दौरान बालेन सबैभन्दा धेरै सुनिए, सबैभन्दा धेरै हेरिए । पृष्ठभूमिमा बलिदान चलचित्रको ‘गरिबको बोलदिने कोही छैन कोही छैन’ गीत घन्काउँदै बालेनले आफूलाई निमुखाहरुको आवाजका रुपमा परिचित गराए ।
काठमाडौंबासीले दिनहुँ भोगेका स–साना समस्यासमेतको समाधानका सुत्रहरु पस्किए । जनमतले त्यसलाई सदर गर्यो । बालेनले उठाएका प्रश्नहरुको जवाफ दिने ठाउँमा काठमाडौंबासीले बालेनलाई नै पठाइदिए । अब बालेन प्रश्न गर्ने ठाउँमा रहेनन्, जवाफ दिनु नै उनको दायित्व हो ।
काठमाडौंका जनतामा निहित शक्तिको समग्रता नै बालेनको जित हो । यसर्थ निर्वाचनअघि दललाई, नेतालाई, कर्मचारीलाई, व्यवस्थालाई प्रश्न गर्दै गरेको बालेन अब हाम्रा सामु रहेनन् । महानगर प्रमुखका रुपमा हिजो आफैले तेस्र्याएका प्रश्नहरुको उत्तर खोज्ने ठाउँमा बालेन पुगेका छन् ।
बालेन जितको अर्थ
स्वतन्त्र उम्मेदवारका रुपमा काठमाडौं महानगर प्रमुखमा बालेनले कसरी जिते ? दशकौ लामो इतिहास बोकेका राजनीतिक दल, तिनका संगठन र नेताहरु कसरी बालेन हराउन असफल रहे ? कतिपयले बालेनको जितलाई ‘दलीय व्यवस्था’को असफलतासँग जोडिसकेका छन् ।
चुनावकै दौरान विपक्षीहरुले बालेनलाई ‘निर्दलीय उम्मेदवार’ को संज्ञा दिएकै थिए । यद्यपि बालेन निर्दलका प्रतीक होइनन् । उनी त बहुदलीय लोकतान्त्रिक व्यवस्थाभित्रै उदाएका हुन् । लोकतन्त्रको सौन्दर्य भनेकै उपलब्धहरुमध्ये भरपर्दोलाई शासनको जिम्मेवारी दिनु हो । काठमाडौंका हकमा यहाँका मतदाताले बालेनलाई भरपर्दो मानेर मत दिए ।
बालेनलाई दिइएको मत विश्वासको हो, भरोसाको हो, आशाको हो अनि अपेक्षाको पनि हो तर लोकतान्त्रिक व्यवस्थाविरुद्धको कदापि होइन । राजनीतिक दलका उम्मेदवारविरुद्ध जितेपनि बालेनको जित लोकतान्त्रिक बहुदलीय व्यवस्थाको मैदानभित्र सम्भव भएको हो । यसर्थ उनी लोकतान्त्रिक विधि र प्रक्रियाको मैदानबाहिर रहनेछैनन् भन्ने विश्वास गर्नुपर्छ ।
बालेनले काम गर्लान् त ?
स्वतन्त्र उम्मेदवारका रुपमा जितेकाले बालेनसँग वा धरानका हर्क साङपाङसँग मात्रै होइन दलबाट जितेका देशैभरीका जनप्रतिनिधिबारे यो प्रश्न सोधिनुपर्छ । उम्मेदवारका रुपमा स्वतन्त्र र दलीय उम्मेदवारका बीच भिन्नता थियो होला तर जनप्रतिनिधिका रुपमा बालेन वा हर्क वा कुनैपनि दलबाट जितेको प्रतिनिधिसँग समानता खोजिनुपर्छ । यसर्थ बालेनले मात्रै होइन देशैभरका जनप्रतिनिधिले काम गर्लान् त ? भन्ने प्रश्नमार्फत् सामाजिक खबरदारी यथावत राखिनुपर्छ ।
काठमाडौंको सन्दर्भमा चर्चा गर्दा महानगर प्रमुखमा निर्वाचित भएलगत्तै बालेनले कसरी काम गर्लान् ? प्रतिवद्धताहरु पूरा गर्न सक्लान् वा नसक्लान् ? भन्ने चासो स्वभाविक हिसाबले बढेको छ । यहीस्तरको चासो र खबरदारी २०४८ यताका सबै जनप्रतिनिधिसँग गरिएको भए सायद आज बालेनमाथि यति धेरै बहस गर्नुनै पदैनथ्यो ।
खैर बालेनले काठमाडौंको फोहोर व्यवस्थापन नगर्दासम्म आफ्नो जितको ‘खुसीसमेत नमनाउने’ उद्घोष गरेका छन् । उनी आफैंले आफ्नो प्राथमिकताको घोषणा गरिसकेपछि अन्य धेरै समस्याहरुको चाङमाथि बालेनको काम खोज्न जरुरी छैन । तत्कालका लागि काठमाडौंको फोहोर व्यवस्थापनका लागि गरिने प्रयत्न र परिणामले नै बालेनको मूल्यांकन गर्न सहज हुनेछ ।
उम्मेदवारका रुपमा उनले फोहोरको वर्गीकरण घरमै गराउने, नियमित फोहोर संकलन गर्ने, गल्ने फोहोरलाई मल बनाउने, प्लास्टिकजन्य फोहोरबाट सडक पिच गर्ने केमिकल निर्माण गर्ने लगायतका योजना सुनाएका थिए । त्यसलाई कार्यान्वयन गर्न महानगरको पहिलो कार्यपालिका बैठकमा उनले प्रस्तावपनि पेश गरे । यतिन्जेल बालेनको प्रयत्नमा खोट लगाउने ठाउँ छैन । यद्यपि कार्यपालिका बैठकको निर्णय प्रक्रियामा केही वडा अध्यक्षहरुले प्रश्न उठाएका छन् ।
बालेनलाई विधि सिकेर आउन उनीहरुले आग्रह पनि गरेका छन् । त्यसउप्रान्त बहस मोडिएको छ । सामाजिक सञ्जालमा बालेनका समर्थकहरुको असन्तुष्टी चर्को छ । विधिको विषय उठाउने वडा अध्यक्षहरुमाथि गालीको वर्षा भइरहेको छ । यही विन्दूदेखि बालेनमाथि प्रश्न तेर्सिएको छ ।
बालेन की विधि ?
आवरणमा जे देखिएपनि काठमाडौं महानगरमा यतिबेला ‘बालेन की विधि ?’ भन्ने प्रश्नकै जवाफ खोजिदैछ । मूलधारको राजनीतिमा खासै चासो नराख्ने हजारौं युवाहरुको साथ बालेनलाई छ । निर्वाचन जिताउन कस्सिएकामध्ये अधिकांशको प्रस्तुति ‘विधि होइन बालेन’ भन्नेतर्फ लक्षित छ । यतिबेला मोही माग्नु ढुंग्रो लुकाउनको अर्थ छैन । प्रष्ट भाषामा भन्नैपर्ने हुन्छ- बालेन होइन विधि ।
बालेनका लागि विधिको बलि स्वीकार छैन । विधिलाई औपचारिक मानेर बालेनलाई सबैथोक मान्ने दृष्टिकोणले जनमतको सम्मान गर्दैन । महानगरको अव्यवस्थालाई बालेनले सोधेको प्रश्नको उत्तर काठमाडौंका जनताले जनमतमार्फत सदर गरिसकेका छन् । अब महानगरलाई व्यवस्थित र विधिसम्मत ढंगले सञ्चालन गर्ने दायित्व बालेनको हो ।
जसरी बालेन जननिर्वाचित हुन्, त्यसरी नै उपमेयर र ३२ वटै वडाका अध्यक्षहरु पनि जननिर्वाचित हुन् । निर्वाचनमा राजनीतिक आवद्धता वा चुनाव चिन्ह जुनसुकै बोकेको भएपनि काठमाडौं । महानगरको कार्यपालिकामा उनीहरुले विशुद्ध जनप्रतिनिधिको भूमिका निर्वाह गर्नुपर्छ । आफ्ना अभिव्यक्तिहरुमा ‘इञ्जिनियर हुँ नि’ भनेर बालेनले जुन आत्मविश्वास देखाउने गरेका थिए, प्रमुखका रुपमा पहिलो कार्यपालिका सञ्चालनमा उनको आत्मविश्वास देखिएन ।
महानगर बैठक सञ्चालनको विधि र प्रक्रियाबारे जानकारी नहुँदा उनी सम्पूर्ण रुपमा ‘कर्मचारी’ प्रति निर्भर देखिए । हाम्रो संवैधानिक अभ्यासले स्थानीय कार्यपालिकालाई ‘स्थानीय सरकार’ सरहकै मान्यता दिएको छ । सरकार सञ्चालनका निश्चित वैधानिक प्रक्रिया हुन्छ । जति नै जनपक्षीय र लोककल्याणकारी प्रस्ताव भएपनि विधि र प्रक्रिया त्यसको शर्त हो ।
हामीकहाँ राजनीतिक दल वा राजनीतिक व्यक्तिको ईच्छाशक्ति मात्रै विसंगतिको कारण होइन । विधिलाई संस्थागत गर्न नसक्ने प्रवृत्तिपनि हाम्रो असफलताको कारक हो । यसर्थ विधिलाई बलियो बनाउने प्रयत्नले नै बालेनलाई बलियो बनाउनेछ । उनका समर्थकहरुले ‘विधिभन्दा माथि बालेन’ भन्ने भाष्य निर्माण नगर्दा नै काठमाडौं महानगरको भविष्य सुध्रन्छ । राजनीतिक र शासकीय अभ्यासमा नयाँ भएकाले प्रारम्भिक दिनहरु बालेनका लागि पक्कै सहज हुनेछैनन् ।
यद्यपि हरेक सफल व्यक्तिका लागि सिकाई एक निरन्तर प्रक्रिया हो । बालेनले अघि सारेका योजनाहरु निश्चय नै महानगरको मुहार फेर्न योग्य देखिन्छन् । ती योग्य योजनाहरुलाई हतार वा हतास मनस्थितिबाट नभएर विधि, प्रक्रिया र अन्य जनप्रतिनिधिहरुसँगको सहकार्यबाटै बालेनले पार लगाउनुपर्नेछ ।