कालु पाँडेको समाधिस्थल पुगिन् राष्ट्रपति (भिडिओ) – Nepal Press

कालु पाँडेको समाधिस्थल पुगिन् राष्ट्रपति (भिडिओ)

काठमाडौं । नेपाल एकीकरण अभियानका सारथी काजी कालु पाँडेको स्मृति दिवस मनाइएको छ । सोक्रममा उनको योगदानको स्मरण गरियो ।

स्मृति दिवसमा चन्द्रागिरी नगरपालिका-१ दहचोकस्थित पाँडेको समाधिस्थल परिसरमा राष्ट्रपति विद्यादेवी भण्डारीले पाँडेको सालिकमा माल्यार्पण गरी श्रद्धाञ्जली व्यक्त गरिन् ।

काजी कालु पाँडे, तुलाराम पाँडे स्मृति प्रतिष्ठानद्वारा आयोजित कार्यक्रममा नेपाल प्रज्ञा प्रतिष्ठानका उपकूलपति जगमान गुरुङले नेपालीकरणको विकासका क्रममा विभिन्न जातजातिहरूको समन्वय र संयुक्त योगदानको श्रृंखलालाई भुल्न नहुने र इतिहासको त्यही लयका आधारमा संघीय गणतन्त्र नेपाललाई सबल बनाउन सकिने बताए ।

उनले काजी पाँडेले पुर्खाको गौरव र वीरगाथाको अनुभवबाट जातीय सद्भावसहित राष्ट्र निर्माणमा सबै केन्द्रित हुनुपर्नेमा जोड दिए ।

कार्यक्रममा प्रतिष्ठानका अध्यक्ष पवनबहादुर पाँडेले जनता, सरकार र सेनाको समुच्चबाट नेपाल राष्ट्रको निर्माण र नवनिर्माण भएको तथा काजी पाँडेले त्यस मर्मलाई बलियोसँग आत्मसात गरेको बताए ।

विक्रम सम्वत् १७७० मा जन्मिएका काजी पाँडेले १८१४ जेठ १९ मा कीर्तिपुरको आक्रमणका सहादत प्राप्त गरेका थिए ।

पाँडेको वीरताको सम्मानमा नेपाली सेनाको सहयोगमा समाधिस्थलमा २०७८ सालमा कम्प्याउण्ड वाल, आइरन रेलिङ, सत्तल भवन निर्माण र स्तरोन्नति गरिएको छ । सो प्रतिष्ठान र नगरपालिकाको वडा नम्बर १ को संयोजनमा समाधिस्थलका सौन्दर्यीकरण कार्य गरिएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर