पल शाहका वकिल भन्छन्ः उच्च अदालतको आदेश निराशाजनक तर ‘ड्यू प्रोसेस’ यही हो – Nepal Press

पल शाहका वकिल भन्छन्ः उच्च अदालतको आदेश निराशाजनक तर ‘ड्यू प्रोसेस’ यही हो

काठमाडौं । जिल्ला अदालतको आदेश सदर गर्दै उच्च अदालत पोखराले पल शाहलाई थुनामै राख्ने निर्णय लिएपछि उनका समर्थकहरु निराश बनेका छन् । पिडित भनिएकी नाबालिग गायिका होस्टाइल भएपछि उच्च अदालतले पललाई धरौटीमा वा साधारण तारेखमा रिहा गर्ने आशा उनका समर्थकले राखेका थिए ।

अब फैसला नहुञ्जेलसम्मका लागि पल शाह कारागारमै रहनुपर्ने भएको छ । पुनरावदेनको निर्णय चित्त नबुझेको खण्डमा सर्वोच्च अदालत जाने अन्तिम विकल्प भने बाँकी छ । पल शाहको तर्फबाट बहस गरेका कानून व्यवसायी कमलामोहन वाग्लेले उच्च अदालतको आदेशको पूर्णपाठ आएपछि थप कदमबारे निर्णय लिने बताए ।

उनले नेपाल प्रेससँग भने, ‘भोलि आदेशको पूर्णपाठ अध्ययन गरेपछि सर्वोच्च जाने विषयमा छलफल र निर्णय लिनेछौं ।’
उच्चको आदेशलाई भने उनले ‘निराशाजनक’ संज्ञा दिएका छन् । वाग्लेको भनाइमा पिडितले नै आफ्नो अस्मिता सुरक्षित रहेको भनेर बयान दिइसकेपछि अदालतले आरोपिलाई तारेखमा छाड्नु वाञ्छनीय हुन्थ्यो ।

‘अदालतले साधारण तारेखमा वा धरौटीमा छाड्छ भन्नेमा हामी निकै आशावादी थियौं,’ उनले भने । यद्यपि, अदालतको आदेशप्रति उनले कडा टिप्पणी भने गरेनन् । वाग्लेको थप भनाइ यस्तो छः

उच्च अदालतको आदेश मैले हेरिसकेको छैन । पूर्णपाठ भोलि मात्रै आउला । अदालतले तत्काल प्राप्त प्रमाणको आधारमा आदेश गर्ने हो । वकपत्रभन्दा अगाडि वा अभियोगपत्र अदालतमा प्रवेश गरेपछिका प्रमाणलाई आधार मानिँदैन । अदालतमा अभियोगपत्र प्रवेश गरेपछि अभियुक्तको बयानसम्मलाई तत्काल प्राप्त प्रमाण मानिन्छ । त्यसपछि भएका वकपत्रहरुलाई मानिँदैन । त्यसैले तत्काल प्राप्त प्रमाणका आधारमा अदालतले जे देख्यो त्यसकै आधारमा आदेश गर्ने हो । पूर्णपाठ हेरिनसकेकाले विस्तृतमा त भन्न सक्दिनँ, मलाई लाग्छ, यसरी नै आदेश गर्नुभएको होला ।

म भयंकर आशावादी थिएँ । यो मुद्दामा थुनामा राख्नुपर्ने कहीँ कतैबाट केही आधार नै देखेको थिइनँ । हाम्रो कानूनमा थुनामा राखिएको रहेछ भने पनि पछि प्रमाण बुझ्दै जाँदा थुनामा रहेको व्यक्ति निर्दोष रहेछ, थुनामा राखिरहनुपर्ने रहेनछ भने त्यस्तो व्यक्तिलाई जुनसुकै समयमा थुनाबाट मुक्त गर्नसक्ने मुलुकी फौजदारी कार्यविधि संहिताको दफा ७१ मा स्पष्ट व्यवस्था छ । त्यसलाई पनि हामीले न्यायमूर्ति समक्ष पेश गरेका हौं ।

जाहेरवाला होस्टाइल भइसक्नुभएको अवस्था छ । पिडित पक्षले नै आफूमाथि केही भएको होइन भन्नुभएको छ । मेरो अस्मिता सुरक्षित छ, मेरो अस्मितामा कहीँ कतै दाग लागेको छैन, म चोखी छु, म कन्या छु भनेर भन्दाभन्दै पनि थुनामा राखिनु चाहिँ निराशाजनक हो ।

अर्को, पिडित र जाहेरवाला लगायत केही व्यक्तिको वकपत्रसमेत तनहुँ जिल्ला अदालत, नवलपूर जिल्ला अदालतमा भइसकेको कारणले अब यथासिघ्र चाँडै मुद्दाको प्रमाण बुझेर फैसला गर्नु भनेर आदेशमा लेखिन पनि सक्छ ।
तल्लो अदालतले गरेको आदेशलाई माथिल्लो अदालतले जाँच गर्ने हो । जाँच गर्दा तल्लो अदालतको आदेश ठिकै छ भनेर गरेको आदेशलाई लिएर व्यक्तिगतरुपमा म खुशी छु छैन तर कानूनीरुपमा ‘ड्यू प्रोसेस’ यही हो ।


प्रतिक्रिया

One thought on “पल शाहका वकिल भन्छन्ः उच्च अदालतको आदेश निराशाजनक तर ‘ड्यू प्रोसेस’ यही हो

  1. पैसाका लागि जे पनि गर्ने वकिलहरू ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर