प्रधानमन्त्री देउवालाई गगन थापाको सुझाब- अर्थतन्त्र जोगाउन युद्धको जस्तो सोच राखेर काम गरौं – Nepal Press

प्रधानमन्त्री देउवालाई गगन थापाको सुझाब- अर्थतन्त्र जोगाउन युद्धको जस्तो सोच राखेर काम गरौं

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री एवं सांसद गगनकुमार थापाले अर्थतन्त्र चुनौतीपूर्ण अवस्थामा पुगेको बताएका छन् । त्यसकारण युद्धको जस्तो सोच राखेर काम गर्न उनले प्रधानमन्त्री शेरबहादुर देउवालाई आग्रह गरेका छन् ।

प्रतिनिधिसभामा आज प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले मूल्यवृद्धिबारे राखेको संकल्प प्रस्तावमाथिको छलफलमा भाग लिँदै सांसद थापाले यस्तो सुझाव दिएका छन् ।

‘कोभिड र त्यसपश्चात रुस-युक्रेन युद्धको कारणले अन्तर्राष्ट्रिय बजारमा मूल्य अकाशिएको छ । सप्लाई चेन जसरी डिस्ट्रक्ट भएको छ । यसले आउँदा दिनहरू झनै चुनौतीपूर्ण बनाउने छ’, उनले भने, ‘यसले गर्दा भारतले जस्तो निर्णय गर्छ हाम्रो बजारलाई त्यसैगरी प्रभावित गर्छ । यसैले अहिलेको विश्व अर्थतन्त्र र बढ्दो महंगीलाई हल्का रुपमा नलेऔं ।’

‘म सम्माननीय प्रधानमन्त्रीजीलाई आग्रह गर्न चाहन्छु । युद्धको जस्तो सोच राखेर वार फुटिङमा काम गर्नुपर्ने बेला छ । कुनै एउटा मन्त्रालयलाई पन्छाएर वा कुनै एउटालाई देखाएर हिँड्ने बेला छैन्’, उनले थपे । सांसद थापाले अन्तर्राष्ट्रिय बजारबाट किनेको पेट्रोलियम पदार्थमा ६० पैसामात्रै प्रशासनिक खर्च लाग्ने दृष्टान्त संसदमा सुनाए ।

‘बाँकी त कर हो । पूर्वाधार कर हामीले हटायौं । पूर्वाधार कर कसले लगायो भनेर खोज्यौं भने धेरै तथ्यांक खुल्छन् । त्यतातिर पनि नजाऔं । अरु लागिरहेका थुप्रै कर छन् । त्यसको यति बहुआयामिक प्रभाव छ’, सांसद थापाले भने, ‘त्यसकारण हामीले यसमा भएका अन्य करहरू पनि घटाएर केही न केही भए पनि राहत दिनैपर्छ ।’

त्यसपछि मात्र मूल्यवृद्धिको समस्या नियन्त्रण हुने उनले बताए । सँगै खपत कम गर्ने उपाय पनि खोज्नुपर्नेमा उनले जोड दिए । पेट्रोलियम पदार्थमा रहेको स्टोरेजको क्षमतामा पनि बढोत्तरी गर्नुपर्ने सांसद थापाको भनाइ छ । उनले भने, ‘हाम्रो ६ महिनाको होइन ८-१० दिनको मात्र छ । हामीले स्टोरेज क्यापासिटी बढाउनैपर्छ ।’

यसबाहेक नेपालले अब ‘रिफाइन्ड’ तेल किन्नेभन्दा पनि ‘क्रुड’ तेल किनेर स्टोरेज गरी रिफाइन्ड गरेर प्रयोग गर्नेगरी पूर्वाधार तयार पार्नुपर्नेमा पनि उनले जोड दिए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर