मूल्यवृद्धिको समाधान खोज्न समिति बनाउने आपूर्तिमन्त्रीको आश्वासन (भिडिओ) – Nepal Press

मूल्यवृद्धिको समाधान खोज्न समिति बनाउने आपूर्तिमन्त्रीको आश्वासन (भिडिओ)

काठमाडौं । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दिलेन्द्रप्रसाद बडूले पेट्रोलियम पदार्थ र एलपी ग्यासको मूल्यवृद्धिले परेको असरको दीर्घकालीन समाधानका लागि अध्ययन गरिने बताएका छन् ।

प्रतिनिधिसभाको शुक्रबारको बैठकमा पेट्रोलियम पदार्थको मूल्य घटाउनेसम्बन्धी जरुरी सार्वजनिक महत्वको प्रस्तावमाथिको छलफलमा उठेका विषयमा जवाफ दिँदै मन्त्री बडूले पेट्रोलियम पदार्थ र एलपी ग्यासको माग, आपूर्ति र वितरण प्रणालीलाई व्यवस्थित गर्दै मूल्य समायोजनबाट समग्र अर्थतन्त्रमा परेको असर र समाधानका लागि दीर्घकालीन उपायबारे सुझाव दिन उच्चस्तरीय समिति गठन गरिने आश्वासन दिए ।

पेट्रोलियम पदार्थको वितरणमा निजी क्षेत्रको सहभागिता आदि सम्बन्धमा सुझाव दिन राष्ट्रिय योजना आयोगका उपाध्यक्षको संयोजकत्वमा उच्चस्तरीय समिति गठन गर्ने निर्णय भएको पनि उनले जानकारी गराए । मन्त्री बडूले रुस र युक्रेन युद्धका कारण विश्व बजारमा पेट्रोलियम पदार्थको मूल्यवृद्धि भइ नेपालमा बाध्यात्मकरूपमा मूल्यवृद्धि गर्नुपरेको प्रष्ट्याए । नेपाल आयल निगमलाई १ जुन २०२२ मा प्राप्त मूल्यका आधारमा पेट्रोलमा प्रतिलिटर ३१ रूपैयाँ घाटा हुँदा पनि बिहीबार प्रतिलिटर १० रूपैयाँ घटाइएको उनको भनाइ छ ।

मन्त्री बडूले विद्युतीय चुलो प्रयोगलाई अभियानका रूपमा विस्तार गर्नेलगायत सरकारको नीति तथा कार्यक्रमबारे अवगत गराउँदै ती कार्यक्रम प्रभावकारीरूपमा सञ्चालन गर्न सरकार प्रतिबद्ध रहेको बताएका छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर