भारत र नेपालको डबल पेन्सन थाप्ने प्रितम सरको संघर्ष
रुपन्देही । सामान्य मान्छेलाई एउटा जागिर खाएर रिटायर्ड भएपछि अरु काम गर्ने मूड नै हुँदैन । त्यसमाथि सेना प्रहरीबाट रिटायर्ड हुनेहरु धेरै रमाइलो गरेर बाँकी जीवन बिताउने गर्दछन् । तर अर्घाखाँचीको मालारानी -२ पटौटीका पृतम पछाई भारत र नेपालका दुई पेन्सन पकाउने संघर्षशील व्यक्ति बनेका छन् ।
अझै रोचक विषय त भारतीय सेनाबाट निवृत्तपछि पढेर पास भएर शिक्षक बने अनि त्यहाँबाट पनि सेवानिवृत्त बनेर अहिले गाउँमै सामाजिक सेवा गरेर उदाहरणीय पात्र बनेका छन् उनी ।
अर्घाखाँचीको साबिक अर्घातोष गाविस वडा नं ९ हाल मालारानी २ पटौटी गाउँमा बुवा बिनबहादुर पछाई र आमा धनकला पछाईको कोखबाट २००६ साल साउन १५ गते जन्मेका पृतम सानैदेखि अनौठो स्वभावका थिए ।
७३ वर्षीय पछाई अहिले पनि ऋष्टपुस्ट छन् । देख्दा खाईलाग्दो अग्लो शरीर भएका उनी निरोगी मात्रै छैनन् अनुहारमा उस्तै चमक छ अहिले पनि । खेलकुदले शारीरिक मानसिक र बौद्धिक विकास गर्ने भएकोले आफूमा अहिले पनि जवानीमा जस्तै जोश जाँगर भएको उनको भनाइ छ ।
स्थानीय डाँडाकटेरी प्रावि, चौरी प्रावि हुँदै गुल्मी तम्घासको महेन्द्र माविमा अध्ययन गर्दैगर्दा उनी भारतीय सेनामा प्रवेश गरेका थिए ।
त्यो बेला भारतको गोरखपुरबाट नेपालका गाउँगाउँमा भारतीय सेनामा भर्ना गर्न विभिन्न टोली आउने गर्दथे जसलाई गल्लावाला भनिन्थ्यो । त्यही टोलीले २०२१ साल असोजमा भर्ना लियो र उनलाई भारत लग्यो । सानैदेखि विभिन्न खेल क्षेत्रमा रुची राख्ने र खेल्ने पृतमले भारतीय सेनामा रहँदा पनि त्यही रुची अनुसारको क्षेत्रमा जिम्मेवारी दियो ।
भारतीय सेनामा सँगै काम गरेका गुल्मी शान्तिपुरका ७९ वर्षीय तुलबहादुर कुँवर पृतमको क्षमतालाई स्मरण गर्दै सधै खेल्ने,रमाइलो गराउने र पल्टनमा रहँदा समय गएको पत्तै नदिने गराउने बताउँछन् ।
‘हामी सँगै पल्टनमा गएको हो, उनले उताको पेन्सन खाएर यता आएर फेरी पढेर मास्टर भएछन् यता पनि पेन्सन पड्काएछन्, मैले नि सँगै भारतमा पेन्सन खाएको हुँ, यता आएर घरमै बसेर दिन कटाइयो’ कुँवर स्मरण गर्छन्,‘उनी त पल्टनमा हुँदा पनि खाली खेल्ने, पढ्ने, नयाँ कुरा सिक्ने गर्थे, यता आएर तरक्की गरेछन्, बेलाबेलामा फोनमा कुरा हुन्छ, भेटमा पल्टनका कुरा सम्झन्छौं, रमाइलो लाग्छ अझै उस्तै फुर्तिफार्ती छ उनको त । ’
‘सुरुमा भारतीय सेनामा पुगेपछि खेल क्षेत्रमा तालिमसँगै खेलकुदमा सहभागी बने, सेनाको खेल विभागमा १५ वर्ष सेवा गरेपछि अवकाश लिएर आएँ, बस्न त अरु पनि पाइन्थ्यो यता आएर केही गरौं भन्ने सोँचले पेन्सन पाएपछि तुरुन्तै आएँ’ पृतमले भन्छन् ।
भारतीय सेनाबाट निवृत्तभएपछि उनी पुन महेन्द्र मावि तम्घास गुल्मीमा कक्षा १० मा भर्ना भए र २०३७ सालमा ३१ वर्षको उमेरमा एसएलसी उत्तीर्ण गरे । गाउँमा त्यो समयमा शिक्षकहरुको समस्या थियो र पढेका व्यक्तिहरु पनि उस्तै कमी थिए ।
त्यसपछि उनी २०३८ सालमा अहिलेको वीरेन्द्र मावि मरेङ अमिलेमा शिक्षकमा नियुक्ति भएर निरन्तर २०६६ सालसम्म सेवा दिए । २०६६ साउन २४ गते शिक्षकबाट अनिवार्य अवकाश लिएर अहिले उनी सामाजिक काममै गाउँमै बसेका छन् ।
भारतीय सेनामा मात्रै होइन विद्यालयमा रहँदा पनि उनी अध्यापनसँगै खेल शिक्षकको भूमिकामै धेरै परिचित बनेका थिए ।शिक्षकको अलावा खेलकुद आयोजना (त्यो बेला बिरेन्द्र शिल्ड प्रतियोगिता) भएको ठाउँमा कुशल निर्णायक (रेफ्री)को रूपमा जिम्मेवारी निर्वाह गर्ने उनको जिम्मेवारीमा पर्दथ्यो ।
अर्घाखाँचीमा मात्र होइन उनको कुशल रेफ्रीको क्षमतालाई मान्यता दिंदै गुल्मी, पाल्पालगायत अन्य जिल्ला र विभिन्न विद्यालयमा समेत खेलकुद प्रतियोगिता सम्पन्न गर्न जिम्मेवारी उनले पाउने गर्दथे ।
त्यो समयमा उनी कपिलवस्तु जिल्लामा भएको अंचलस्तरीय फुटबल प्रतियोगितामा गोलकिपर खेलाडीको रूपमा भाग लिएका थिए भने पाल्पा, रुपन्देही नवलपरासीमा भएका भलिबल खेल प्रतियोगितामा अर्घाखाँची जिल्लालाई तृतीय बनाउन सफल भएका थिए ।
उनले नेपाल सरकारबाट शारीरिक तथा रेफ्री तालिमको लागि छनौट भै पोखरामा तालिम लिएकाले यसमा उनको विज्ञता थपिएको थियो । अध्यापन र खेलसँगै उनले आफ्नो पढाईलाई पनि निरन्तरता दिएका थिए । २०४६ सालमा उनले प्राइभेटरूपमा युपीबोर्ड बनारसबाट आई.ए. उत्तीर्ण गरेका थिए ।
गाउँमा शिक्षकहरुको जिम्मेवारी पढाउने मात्रै नभएको पृतमले सम्झने गर्दछन् । ‘गाउँमा हुने सबै समस्याको समाधान शिक्षकले गर्नुपर्ने हुन्छ, सामान्य विवाद मिलाउनेदेखि विवाह, पूजाआजा टुंगाउनेसँगै विभिन्न राजनीतिक आन्दोलनकोसमेत अगुवाई गर्नुपर्ने बाध्यता थियो’उनी भन्छन् । २०४६ को जनआन्दोलनपछि खेलकुद प्रतियोगिता आयोजना कम भए तैपनि उनी भलिबल र फुटबल खेलाडी भएको नाताले विद्यालयमै धेरै खेल आयोजना गरेर सबैलाई सहभागिताका लागि ऊर्जा थप्ने गर्दथे ।
पछाईले विद्यालयमा रहँदा खेल क्षेत्रका धेरै जिम्मेवारीको सम्पादन र उपाधि हात पारेका छन् । उनी २०३९ सालमा जिल्ला खेलकुद विकास समितिको सदस्य २०४० सालमा जिल्ला भलिबल संघको सचिव हुनुको साथै २०४५ र २०४६ सालमा शिक्षा दिवसको उपलक्ष्यमा २ पटक राष्ट्रिय पुरस्कार शिक्षा पुरस्कार प्राप्त गरेका छन् ।
उनको परिचय एउटा मात्रै छैन । निवृत्त भारतीय सेना, सेवा निवृत्त शिक्षक, रेफ्री तथा खेलाडी मात्र होइन कलाकारितामासमेत उनको राम्रो दख्खल छ । खेल्ने, गाउने, बजाउने, गीत रचना गर्ने, हार्मोनियम,मादल, बाँसुरी बजाउन सबै जानेका छन् । यति धेरै क्षेत्रमा अब्बल क्षमता राख्ने उनी राजनीतिक आन्दोलनमा पनि सहभागिता छन् यो बीचमा ।
२०३६ को विद्यार्थी आन्दोलन हुँदै नेकपा मालेको विभिन्न जिम्मेवारी, नेकपा एमालेको वडा कमिटी, सदस्य इलाका सदस्य जनसाँस्कृतिक महासंघ जिल्ला उपाध्यक्ष बनेर उनले आफ्नो भूमिका बहन गरेका छन् । उनी नेकपा एमालेले संचालन गरेको मेचिमहाकाली राष्ट्रिय अभियानमा समेत खटिएका थिए । उनी शिक्षकबाट अवकाशपछि स्थानीय राजनीति र सामाजिक काममा निरन्तर क्रियाशील छन् ।
विद्यालय तहमा सँगै अध्यापन गराएका सेवानिवृत्त शिक्षक ऋषिराम आचार्य उनको अत्यन्तै सरल र अनुशासित स्वभावले धेरै प्रगति गर्न सकेको बताउँछन् ।
‘पृतम सरले भारतीय सेनाबाट रिटायर्ड भएपछि निरन्तर संघर्ष गरेर पढ्नुभयो, शिक्षक बन्नुभयो, गाउँमै बस्नुभयो, नेपाली खेल, शैक्षिक र राजनीतिक क्षेत्रमा पुर्याउनुभएको योगदानको उच्च सम्मान हुनुपर्दछ’ आचार्य भन्छन् ‘उहाँबाट नयाँ पिँढीले सिक्नुपर्ने धेरै कुरा छन्, हामीले लामोसमय सहकार्य गरेर धेरै सिक्ने अवसर पाएका छौं, अहिले पनि दुईवटा पेन्सन लिएर गाउँकै सेवामा खटिनुभएको छ यो अत्यन्तै उदाहरणीय पक्ष हो ।’
परिवारसहित गाउँमै बसेका उनको शैक्षिक अभियानमा छोरा कमल पछाईले पनि साथ दिएका छन् । उनका छोरा कमल वीरेन्द्र शिक्षा क्याम्पसको प्राचार्य बनेका छन् ।