न्याय माग्दै रेशमले कारागारबाटै लेखे- श्रीमान् ! न्याय देऊ हामीलाई क्षमा चाहिँदैन
कैलाली । टीकापुर घटनामा दोषी भन्दै काठमाडौँस्थित डिल्लीबजार कारागारमा रहेका निलम्बित प्रतिनिधिसभा सदस्य रेशम चौधरीले न्यायको याचना गरेका छन् ।
डिल्लीबजार स्थित कारागारभित्रैबाट उनले न्यायको लागि कविता लेखेका हुन् । उनले लेखेको कविता उनकी पत्नी रन्जिता श्रेष्ठले आफ्नो सामाजिक सञ्जाल फेसबुकमा पोस्ट गरेकी छन् ।
रेशम चौधरीको पार्टीले कैलालीमा प्रमुखमा अहिले सबै भन्दा धेरै पालिका जितेको छ । यही सन्दर्भ सङ्केत गर्दै रेशमले कविता कोरेका हुन् ।
यस्तो छ रेशमले कारागार भित्रै कोरेको कविता
बैरीको बन्धनभित्र आफ्नैको घेरो कति खतरनाक ?
जेलभित्रको पनि जेलमा बसेर
मैले निर्णय गरेको छु
आफ्नो मुद्दा आफै लड्ने
समस्यासँग आफै भिड्ने
निर्दोषिताको संघर्षमा ७ साल बित्यो
अझै धेरै संघर्ष बाँकी छ
वार्ता होला, पौठेजोरी होला
शान्तिपूर्ण जनमतको वार्ता
विजय सुनिश्चित छ
जनता भिडेका बेला
शासक नहारेको इतिहास कहाँ छ र ?
जो जो चोर छन्, ठुलै स्वर छ उनको
समाज भाँडिराखे मात्रै चुल्हो बल्छ उनको
अशान्ति बनाई राखे उनैले राज गर्छन्
उनैले जनता मार्छन्, उनै महाराज बन्छन्
श्रीमान् ! न्याय देऊ हामीलाई क्षमा चाहिँदैन
दोषीलाई दण्ड देऊ तर निर्दोषीलाई थुन्न पाइँदैन ।
हाल: डिल्लीबजार, कारागार