चुनावी तालमेलका लागि खुल्ला छौँ : जनमत पार्टी – Nepal Press

चुनावी तालमेलका लागि खुल्ला छौँ : जनमत पार्टी

जनकपुरधाम । आगामी प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनमा अन्य पार्टीसँग तालमेल गर्ने भएको छ ।

अगामी निर्वाचनका लागि दलहरूले गठबन्धन बनाउँदै गर्दा जनमत पार्टी पनि चुनावी तालमेल गर्ने पक्षमा रहेको सो पार्टीका नेता बिपी साहले बताए ।

उनले भने, ‘हालै सम्पन्न स्थानीय निर्वाचनमा हामी विरुद्ध अधिकांश दलहरूले मोर्चा बन्दी गरेका थिए । हामी एक्लै चुनावमा जाँदा अपेक्षित परिणाम आउन सकेन । त्यसैले अगामी निर्वाचनमा हामी पनि तालमेल गर्ने पक्षमा छौँ ।’

कुनै पनि पार्टीसँग तालमेलका लागि आफूहरू खुल्ला रहेको उनले सुनाए । ‘यो वा त्यो पार्टीसँग तालमेल वा गठबन्धन गर्ने भन्ने विषयमा हामी सङ्कीर्ण छैनौँ । निर्वाचनका लागि जुनसुकै पार्टीसँग पनि तालमेल हुन सक्छ ।’

नेता साहले भने, ‘अहिले पाँच दलीय गठबन्धन छ । अर्को गठबन्धन बनाउने प्रयास पनि भइरहेको अवस्थामा हामी एक्लै बस्नुको औचित्य छैन ।’

मधेस केन्द्रित दल भनिएका जसपा र लोसपासँग गठबन्धन वा तालमेल हुन सक्छ कि सक्दैन भन्ने प्रश्नमा साहले भने, ‘लोसपा वा जसपाको जनाधार पनि मदेसमै देखियो । हाम्रो जनाधार पनि यही क्षेत्रमा छ। उहाँहरूसँग तालमेल भए झन् राम्रो । तर, उहाँहरू कतिपय कुरामा क्लियर हुनुपर्छ ।’

आगामी निर्वाचनका लागि जनमत पार्टीले उम्मेदवार चयनका विषयमा छलफल पनि अगाडि बढाइ सकेको उनको भनाई छ । नेता साहका अनुसार आगामी निर्वाचनमा पार्टी बाहिर वा भित्रका जोसुकैलाई पनि टिकट दिन सकिने छ ।

‘जनविश्वास भएका, छवि राम्रो भएका व्यक्तिलाई जनमत पार्टीले टिकट दिनेछ,’ उनले भने, ‘स्थानीय निकायको निर्वाचन जस्तै आउँदो निर्वाचनमा पनि आर्थिक मापदण्ड तोकिनेछ । निर्वाचन आयोगले तोकेको खर्च उम्मेदवार स्वयम्ले व्यवस्था गरी प्रचार(प्रसार समिति समक्ष पेस गर्नुपर्नेछ ।’


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर