वातावरण दिवसको शुभकामना दिँदै राष्ट्रपतिले भनिन्ः हरित मानवीय जीवन पद्दति आजको आवश्यकता – Nepal Press

वातावरण दिवसको शुभकामना दिँदै राष्ट्रपतिले भनिन्ः हरित मानवीय जीवन पद्दति आजको आवश्यकता

काठमाडौं । आज विश्व वातावरण दिवस देशभर विभिन्न कार्यक्रम गरी मनाइँदैछ । वातावरण दिवसको अवसरमा राष्ट्रपति, प्रधानमन्त्रीलगायतले शुभकामना सन्देश जारी गरेका छन् ।

वातावरण दिवसको अवसरमा शुभकामना दिँदै राष्ट्रपति विद्यादेवी भण्डारीले हरित मानवीय जीवन पद्दतिको विकास नै आजको आवश्यकता भएको बताएकी छन् ।

वातावरण संरक्षणमा सबै एकजुट हुन आग्रह गर्दै उनले सरोकारवाला सबै निकायबीच समन्वयन हुनपर्नेमा जोड दिएकी छन् ।

शुभकामना सन्देशमा उनले भनेकी छन्–

संयुक्त राष्ट्रसंघको आह्वानमा पचास वर्ष अघिदेखि मनाउन थालिएको ‘विश्‍व वातावरण दिवस’को सान्दर्भिकता हरेक वर्ष बढ्दै गएको छ । प्रकृतिको स्वाभाविक सन्तुलनमाथि नकारात्मक दवाब उत्पन्न गर्ने मानवीय क्रियाकलापका कारण पृथ्वीको पारिस्थितिक प्रणाली, वर्षाचक्र र जलवायु सन्तुलनमा अस्वाभाविक परिवर्तन आउन थालेको वैज्ञानिक प्रमाण उपलब्ध भएसँगै वातावरण दिवसप्रतिको संवेदनशीलता वृद्धि भएको हो ।

जलवायु परिवर्तनले विश्वव्यापी संकटको स्वरूप ग्रहण गरिरहेको परिवेशमा हामी प्रकृति र मानव सभ्यताको दिगो सहअस्तित्वका लागि ‘केवल एउटै पृथ्वी’ भन्ने मूल विषयमा आधारित भई यस वर्षको विश्‍व वातावरण दिवस मनाइरहेका छौँ । हामीसँग पृथ्वी जस्तो सजीव ग्रह एउटै मात्र भएकोले प्रकृतिका अन्य अवयवहरूको संरक्षण गर्दै सबैखाले प्राकृतिक स्रोतको दिगो उपभोगका लागि जीवनशैलीमा परिवर्तन ल्याई स्वच्छ र हरित मानवीय जीवन पद्दतिको विकास गर्ने कुरा आज प्रमुख चुनौतिको रूपमा रहेको छ ।

वातावरण संरक्षणको क्षेत्रमा हामीले अन्तर्राष्ट्रिय‚ राष्ट्रिय र स्थानीय स्तरमा विभिन्न नीति‚ योजना तथा कार्यक्रमहरू निर्माण गरी तिनको कार्यान्वयनका लागि आवश्यक कानुन र संस्थागत संरचनाहरू समेत निर्माण गरेका छौँ । हाम्रा राष्ट्रिय प्रतिबद्धताहरू विभिन्न समयमा अभिव्यक्त भएका छन् । नेपाल आफैं ठूलो मात्रामा कार्बन उत्सर्जन गर्ने राष्ट्र नभएतापनि हाम्रा हिमालहरू पग्लने क्रम बढेको छ, पानीका मूलहरू सुक्दै गइरहेका छन्, हाम्रा नदी र प्राणवायुले प्रदूषणको शिकार हुनु परिरहेको छ । हाम्रो जस्तै अन्य पर्वतीय मुलुकहरूले भोग्नुपरेको संकटको प्रवृत्ति उस्तै छ भने टापु राष्ट्रहरूले सम्भावित अस्तित्वको संकट झेल्नु परिरहेको छ ।

तसर्थ‚ हामीले वातावरण अनुकूलनका कार्यक्रमहरूलाई प्रभावकारी ढङ्गले अगाडि बढाउनुका साथै सतप्रतिशत हरित वा स्वच्छ ऊर्जाको प्रयोग, विद्युतीय सरसामानहरूको बहुउपयोग तथा इको यातायातको प्रवर्द्धनमा विशेष जोड दिन आवश्यक छ । हरेक परिवारले उत्सर्जन गर्ने कार्बन र अन्य हरितगृह ग्यासहरू कम गरेका खण्डमा सौर्य मण्डलको सजीव पिण्डको रूपमा रहेको हाम्रो पृथ्वीको पर्यावरण थप बिग्रनबाट रोकिने र मानव अस्तित्व सहज रूपले चलिरहने आशा गर्न सकिन्छ । यसका लागि नगण्य कार्बन उत्सर्जन गर्ने नेपाल जस्ता पर्वतीय राष्ट्रले टापु राष्ट्रहरूको समेत साझा आवाज निर्माण गरी अन्तर्राष्ट्रिय मञ्चहरूमा जवाफदेहिता र ठोस प्रतिवद्धताको अभियान चलाउन अत्यावश्यक भैसकेको छ । वायु, जल र भूमि प्रदूषणबाट परिरहेको असरलाई कम गर्न नेपालले हासिल गरेका उपलब्धिलाई सुदृढ गर्नुका साथै विभिन्न द्विपक्षीय एवं बहुपक्षीय मञ्चहरूमा उठान गरेका विषय र व्यक्त गरेका प्रतिबद्धता कार्यान्वयन गर्न आजको दिनले थप उत्प्रेरणा दिनेछ भन्ने विश्‍वास लिएको छु ।

अन्तमा, वातावरण संरक्षणको गहन अभिभारा पूरा गर्ने काममा संलग्न संघीय वन तथा वातावरण मन्त्रालय, पूर्वाधार विकासमा संलग्न मन्त्रालयहरू, प्रदेश तथा स्थानीय सरकार, सुरक्षा अङ्गहरू, स्थानीय समुदाय, विकास साझेदार एवं सम्बद्ध सबैलाई धन्यवाद दिंदै पृथ्वीको रक्षा गर्ने महान लक्ष्यमा निरन्तर अघि बढ्न सबैमा आह्वान गर्दछु ।

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर