बालकको हत्यारा खोज्न कुकुरसहित प्रहरी टोली विनायकमा (भिडिओ) – Nepal Press

बालकको हत्यारा खोज्न कुकुरसहित प्रहरी टोली विनायकमा (भिडिओ)

सुर्खेत । अछामको पञ्चदेवल विनायक नगरपालिका-४ कालिकास्थान, कुच्चीका १६ वर्षीय विनोद शाहीको हत्यारा पत्ता लगाउन प्रहरीले कुकुरको सहायता लिएको छ ।

प्रदेश प्रहरी कार्यालय सुदूरपश्चिमबाट तालिमप्राप्त कुकुर घटनास्थल पुर्‍याइएको छ ।

घटनाको निष्पक्ष छानबिनको माग गर्दै मृतकका आफन्तले शनिबार इलाका प्रहरी कार्यालयमा घेराबन्दी गरेका थिए । प्रदर्शनको क्रममा प्रहरीले लाठी चार्ज गर्नुका साथै हवाई फायर गरेको थियो ।

१० कक्षामा अध्ययनरत शाही हराएको पाँच दिनपछि शनिबार घर नजिकको जंगलमा शव भेटिएको थियो ।

चुनावको विषयलाई लिएर कालिकास्थानमा नेकपा एमाले र नेपाली कांग्रेसका कार्यकर्ताहरूबीच भएको झडपपछि उनी बेपत्ता भएको बताइएको छ ।

घटनाले अहिले राजनीतिक रूप लिएको छ । उनी नेकपा एमाले निकट भएको बुझिएको छ । एमाले कार्यकर्ताहरूले कांग्रेसका कार्यकर्ताबाट शाहीको हत्या भएको आरोप लगाएका छन् ।

मतदानको क्रममा कांग्रेसका कार्यकर्ताले अर्कै मतदाताको नाममा मत हाल्न खोजेको भन्दै स्वास्थ्यचौकीमा रहेका दुईवटा बुथमा झगडा भएको थियो । झडपमा एमाले कार्यकर्ताहरू चक्र शाहीलगायत घाइते भएका थिए । त्यही घटनाले उग्र रूप लिएको हो ।

चुनावपछि एमाले कार्यकर्ताहरूको कुटाइबाट आफ्ना नेता सुरज शाही घाइते भएको भन्दै कांग्रेसले प्रशासनमा दिएको उजुरीका आधारमा प्रहरीले १७ गते राति एमाले कार्यकर्ताको घरमा धरपकड गरेको थियो ।

प्रहरीले सुरज शाहीमाथि आक्रमणको घटनामा संलग्न रहेको आरोपमा देवेन्द्र शाही र मंगल शाहीलाई पक्राउ गरेको छ । कृष्ण शाही, निराजन शाही, हिम्मत शाही, कमल शाही, भद्र शाही, राजेन्द्र शाही र विनोद शाही फरार भएको डीएसपी रविराज थपलियाले बताएका थिए ।

मध्यरात कांग्रेस जनप्रतिनिधिसँगको साँठगाँठमा प्रहरीले घरमा हस्तक्षेप गरेलगत्तै बेपत्ता भएका विनोद शाहीको शव हिजो भेटिएको हो । नेकपा एमालेका पूर्व जिल्ला सदस्य बलबहादुर शाहीका छोरा मृतक किशोरको चुनावी रिसिवीकै कारण हत्या भएको आरोप छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर