भावुक बन्दै देउवाले भने- भारतको लखनउ, गुवाहटी-रक्सौल हुँदै पहिलोपटक काठमाडौं आएको हुँ (भिडिओ) – Nepal Press

भावुक बन्दै देउवाले भने- भारतको लखनउ, गुवाहटी-रक्सौल हुँदै पहिलोपटक काठमाडौं आएको हुँ (भिडिओ)

सुदूरपश्चिममा विकासका सम्भावना धेरै छन्

काठमाडौं । सुदूरपश्चिमाञ्चल सरोकार मञ्चको ११ औं साधारणसभामा प्रधानमन्त्री शेरबहादुर देउवा भावुक मुद्रामा देखिएका छन् ।

भाषणका क्रममा उनले आफ्नो काठमाडौंको पहिलो यात्रा सम्झिए । साथै सुदूरपश्चिमको गरिबी, बेरोजगारी समस्या र सम्भावनाबारे पनि भाषणमा छोटो सम्बोधन गरे ।

‘पहिला डोटीको उच्चाकोटबाट एसएलसी पास गरेपछि काठमाडौं पढ्न आएको हुँ,’ उनले भने, ‘धनगढीसम्म पैदल, धनगढीबाट रेल चढेर लखनउ, लखनउबाट गुवाहटी, त्यहाँबाट रेल चेञ्ज गरेर रक्सौल पुगे । रक्सौलबाट गाडी चढेर काठमाडौं आएको हुँ । त्यस्तो अवस्था थियो पहिला ।’

अहिले कम्तीमा त्यस्तो समस्या नरहेको उनले बताए । ‘अहिले त बाटो जोडिएको छ । सुदूरपश्चिम जाने बाटो बनेको छ । जिल्ला जाने बाटो बनेको छ,’ उनले भने ।

तर, सुदूरपश्चिम अझै पनि विकासबाट निकै पछाडि रहेको प्रधानमन्त्री देउवाले बताए । उनले भने, ‘गरिबी अझैपनि घटेको छैन । हाम्रा युवाहरू अझै बम्बई जाने, मद्रास जाने गर्छन् । लाहुर जाने भन्छन् । यस्तो अवस्था छ ।’

सुदूरपश्चिमको आर्थिक अवस्थाका विषयमा पनि उनले चिन्ता प्रकट गरे । ‘सुदूरपश्चिमको आर्थिक अवस्था अझैपनि उठ्न सक्या छैन,’ उनले भने ।

सुदूरपश्चिममा विकासको सम्भावना देखाउँदै प्रधानमन्त्री देउवाले भने,‘महाकाली त्यहीँ छेन, सेती त्यहीँ छ । त्यसको विकास गर्न सकेको खण्डमा अवश्य नै सुदूरपश्चिम धनी हुन्छ ।’

मातृभूमिको विकासका विषयमा चासो र चिन्ता प्रकट गरी सुदूरपश्चिम सरोकार मञ्च नेपालले १६ वर्षदेखि काम गर्दै आएकोमा प्रधानमन्त्री देउवाले धन्यवाद दिए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर