अलपत्र विद्युतीय गाडी सञ्चालन गर्न डेढ वर्षपछि कार्यविधि निर्माणको तयारी
रुपन्देही । बुद्ध जन्मस्थल लुम्बिनीमा विद्युतीय गाडी सञ्चालन कार्यविधि बन्ने भएको छ । लुम्बिनी विकास कोषले यस विषयमा कार्यदल बनाएर काम थालेको हो । विकास कोषको बैठकले कोषका कोषाध्यक्ष ढुण्डीराज भट्टराई (सिद्धिचरण) को संयोजकत्वमा ३ सदस्यीय कार्यदल गठन गरेको हो । कार्यदलमा कोषका सदस्य विश्वराज पौडेल र राजेश शाक्य सदस्य छन् ।
सञ्चालन कार्यविधि नबन्दै अनुदानमा लुम्बिनी आएका विद्युतीय गाडी डेढ वर्षदेखि अलपत्र थिए । लुम्बिनी आउने पर्यटकलाई लुम्बिनी क्षेत्र र बुद्ध सर्किटमा घुमाउन सहज होस् भनी एसियाली विकास बैंक (एडीबी) को करिब ३५ करोड अनुदानमा डेढ वर्ष पहिले विद्युतीय गाडी लुम्बिनी आइपुगेका थिए ।
सञ्चालन कार्यविधि नहुँदै डेढ वर्षअघि वातानुकूलित, अपाङमैत्री र स्वःचालित ढोकासहितका पाँच वटा सुविधा सम्पन्न बस र १४ वटा ट्याक्सी लुम्बिनी ल्याइएको थियो । जुन अहिलेसम्म खुला आकाशमुनि राखिएको छ ।
विद्युतीय गाडी सञ्चालन गर्न र गाडी चार्जिङको लागि चार्जिङ स्टेशनसहित सोलार जडानका लागि सन् २०१८ जनवरी ९ तारिखमा एसियन क्लिन इनर्जीसँग सम्झौता गरिको थियो । सम्झौताअनुसार गाडी ल्याउने, सोलार जडान गर्ने र चार्जिङ स्टेशन बनाउने सम्पूर्ण काम सकिए पनि एडीबीले पर्यटन नागरिक उड्डयन तथा संस्कृति मन्त्रालयको नाममा पठाएका विद्युतीय गाडी सरकारले अहिलेसम्म लुम्बिनी विकास कोषलाई हस्तान्तरण गरेको छैन ।
कोषका सदस्यसचिव सानुराजा शाक्यले कोष आफैले गाडी सञ्चालन गर्ने अवस्था नभएको हुँदा अहिले कार्यविधि बनाइरहेको बताए । उनका अनुसार निजी कम्पनीलाई के कसरी सञ्चालन गर्न दिने भन्ने विषयमा कार्यविधि बनिरहेको हो । कार्यविधिपछि विद्युतीय गाडी सञ्चालनको टुंगो लाग्ने सदस्यसचिव शाक्यले स्पष्ट पारे ।
एडीबीले यो प्रोजेक्टमा बस र ट्याक्सीको लागि मात्रै भन्सार शुल्कसहित २१ करोड तिरेको छ । १३ करोडमा ल्याएका ५ वटा बस र १४ वटा ट्याक्सीको लागि भन्सार शुल्कमात्रै ८ करोड बुझाइएको थियो । त्यसैगरी सोलार जडान र चार्जिङ स्टेशन निर्माणमा १३ करोड ९० लाख रुपैयाँ लगानी भएको छ ।
अहिले एसियन क्लिन इनर्जीले बेलाबेला गाडी चार्ज गर्ने र स्टार्ट गर्दै आएको छ । १९ सिट क्षमताका अन्तर्राष्ट्रिय स्टान्डर्डका बसमा कार्ड भुक्तानी गर्ने अटोमेटिक सिस्टमसमेत जडान गरिएको छ ।
इन्धनको मूल्यवृद्धि भइरहेको अवस्थामा विद्युतीय गाडी सञ्चालन भए लुम्बिनी आउने पर्यटकलाई घुमफिरको लागि सहज हुने निश्चित छ । विद्युतीय बस एकपटक फुल चार्ज गरेपछि चार सय किलोमिटरसम्म गुड्ने कोषको दाबी छ ।
कोषका कोषाध्यक्ष ढुण्डिराज भट्टराईले मन्त्रालयको नाममा रहेका विद्युतीय गाडीहरू कोषको नाममा ल्याउने र कार्यविधि बनाएर सञ्चालन गर्ने कामलाई प्राथमिकता दिइएको बताए ।
गाडी कोषलाई हस्तान्तरण नगरिँदा कार्यविधि बनाउन र सञ्चालन गर्न ढिलाइ भएको उनको भनाइ छ । उनका अनुसार गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनमा आएसँगै लुम्बिनीमा पर्यटकहरुको चापसमेत बढ्न थालेकाले जतिसक्दो छिटो विद्युतीय गाडी सञ्चालन गर्नुपर्छ ।
बुद्ध जन्मस्थल लुम्बिनी, कपिलवस्तुको तिलौराकोट, नवलपरासीको रामग्राम, रूपन्देहीकै देवदहलगायतका क्षेत्र बुद्ध सर्किटअन्तर्गत रहेको र ती क्षेत्रभित्र विद्युतीय गाडी सञ्चालन गर्ने गरी कार्यविधि बनाइने कोषले बताएको छ ।
रुपन्देहीमा यसअघि सुन्दर यातायातले परीक्षणका लागि विद्युतीय बस सञ्चालन गरेको छ ।