रुपन्देही दुर्घटना : चालक निदाएर गाडी खसेको अनुमान, छोरी अन्माएर फर्केका बाबुछोराको मृत्यु
रुपन्देही । पहाडी जिल्लामा भएका सवारी दुर्घटनामा धेरै यात्रुले ज्यान गुमाए पनि तराईका समथर क्षेत्रमा हुने दुर्घटनामा ठूलो संख्यामा यात्रुको ज्यान जाने गरेका घटनाहरू कम नै छन् । तर आइतबार बिहान रुपन्देहीमा भएको दुर्घटनामा ९ जना यात्रुले ज्यान गुमाए भने, दुई दर्जन घाइते भएका छन् ।
जनकपुरबाट भैरहवातर्फ आउँदै गरेको लु २ ख ३८४१ नम्बरको यात्रुवाहक बस भैरहवा–परासी सडक खण्ड अन्तर्गत रोहिणी पुलबाट बिहान ४ बजेर २० मिनेट जाँदा नदीमा खसेको थियो ।
पुलको रेलिङ भाँचेर खोलामा यात्रु भएकै साइडबाट बस बज्रन गएकाले धेरै क्षति भएको स्थानीय तथा प्रहरीको भनाइ छ । यति धेरै मानवीय क्षति भए पनि दुर्घटनाको वास्तविक तथ्य भने अझै खुलेको छैन । बिहानको समय भएकाले चालक निदाएकै कारण यस्तो भएको अनुमान स्थानीयको छ ।
दुर्घटनामा एकै परिवारका पाँच जना परेका छन् । उनीहरूमध्ये दुई जनाको मृत्यु भएको छ । बस दुर्घटनामा २४ जना घाइते भएका छन् । मृतकमध्ये ८ जनाको मात्रै पहिचान खुलेको छ । घाइतेको भैरहवास्थित युनिभर्सल मेडिकल कलेजमा उपचार भइरहेको छ ।
५६ वर्षीया नन्देश्वर शर्मा र उनका छोरा ४० वर्षीय अरविन्द्रको मृत्यु भएको छ । अरविन्द्रको श्रीमती सीता, छोरी ५ वर्षीया संदीपा र छोरा ४ वर्षीया यश शर्मा घाइते छन् । उनीहरू पाँचै जना जनकपुरमा रहेको घरमा विवाहका लागि गएका थिए । नन्देश्वरका चारमध्ये साइली छोरीको विवाह थियो । छोरीको विवाह सकेर छोराबुहारी र नातीनातिनासहित उनी बुटवलमा रहेको घरमा फर्कँदै थिए । उनीहरूको जनकपुरसँगै बुटवल उपमहानगरपालिका–६, टाइटन टोलस्थित सुकुम्बासी बस्तीमा पनि घर छ । तर घर नपुग्दै बाटोमा बाबुछोराले ज्यान गुमाएको आफन्त रन्जु शर्माले बताइन् ।
चालक सुमन क्षेत्री गम्भीर घाइते छन् । अस्पतालमा उपचार गराइरहेका उनले अगाडिबाट आएको सानो गाडीले फोकस लाइट बाल्दा आफू झुक्किन पुगेर दुर्घटना भएको प्रतिक्रिया दिएका छन् ।
प्रहरीले चालक निदाएर अथवा तीव्र गतिले दुर्घटना भएको प्रारम्भिक अनुमान गरे पनि वास्तविकता अझै पत्ता लगाएको छैन । यसबारे अनुसन्धान भइरहेको जिल्ला ट्राफिक प्रहरी कार्यालय रुपन्देहीका प्रहरी निरीक्षक केशव केसीले बताए ।
बस दुर्घटना हुँदा सहचालक तुलसीराम चौधरी निद्रामा थिए । उनले के–कति कारणले दुर्घटना भयो भन्नेबारे पत्तो नपाएको बताउँछन् । बसमा रहेका तीन जनाले बसको झ्यालको सिसा फोडेर ज्यान बचाउन सफल भएका छन् । बाराको जितपुर सिमरा उपमहानगरपालिकाका–१३ का रोहन चौधरी र धनुषाको हंसपुर नगरपालिका–३ का मुफिद मन्सुरीसहित तीन जनाले सिसा फोडेर ज्यान जोगाएका हुन् ।
चालक, सहचालक र प्रहरीले तत्काल जुनसुकै प्रतिक्रिया दिए पनि केही न केही गम्भीर त्रुटिका कारण बस दुर्घटना भयो र ठूलो मानवीय क्षति भएको छ ।