जनप्रतिनिधिलाई विकास र लगानीकाे लागि प्रतिस्पर्धा गर्न वरिष्ठ उपाध्यक्ष ढकालको आग्रह – Nepal Press

जनप्रतिनिधिलाई विकास र लगानीकाे लागि प्रतिस्पर्धा गर्न वरिष्ठ उपाध्यक्ष ढकालको आग्रह

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष चन्द्रप्रसाद ढकालले स्थानीय तहका जनप्रतिनिधिहरुले विकास र लगानीका लागि एकापसमा प्रतिस्पर्धा गर्नुपर्ने बताएका छन् ।

बुटवल उद्योग वाणिज्य संघ रुपन्देहीद्वारा आयोजित नवनिर्वाचित स्थानीय जनप्रतिनिधिहरुलाई बधाई तथा सम्मान कार्यक्रममा प्रमुख अतिथिको रुपमा सम्बोधन गर्दै वरिष्ठ उपाध्यक्ष ढकालले सो कुरा बताएका हुन् ।

स्थानीय जनप्रतिनिधिहरुले आफ्नो स्थानीय तहमा धेरैभन्दा धेरै उद्योग व्यवसायहरु सञ्चालन गर्ने, स्वदेशी तथा विदेशी लगानी भित्र्याउने र रोजगारी सृजना गर्ने विषयमा एकापसमा प्रतिस्पर्धा गर्नुपर्ने अवस्था रहेको उनले बताए ।

तीन तहका सरकार तथा निजी क्षेत्रको सहकार्यले मात्र जनअपेक्षाअनुरुपको विकास र सम्मृद्धि हासिल गर्न सम्भव हुने बताउँदै ढकालले निजी क्षेत्रसँगको सहकार्यको महत्वलाई बुझेर अगाडि बढ्न जनप्रतिनिधिहरुलाई आग्रह गरे ।

‘स्थानीय सरकार र निजी क्षेत्र दुवैको साझा लक्ष्य विकास र समृद्धिमार्फत जनतालाई सुखी तुल्याउने हाे । त्यसैले राज्य र निजी क्षेत्रबीच बलियो साझेदारीका लागि म यहाँहरुलाई आह्वानसमेत गर्दछु’, उनले भने ।

छोटो समयमा मलेसियाले हासिल गरेको विकासको उदाहरण प्रस्तुत गर्दै वरिष्ठ उपाध्यक्ष ढकालले भने, ‘स्थानीय निकायहरुले लगानीका लागि अनुकूल वातावरण बनाई निजी क्षेत्रको लगानी आकर्षित गर्ने हो भने राज्यले विनालगानी धेरैभन्दा धेरै फाइदा लिन सकिन्छ ।’

उनले निजी क्षेत्र मुलुकभित्र लगानी वृद्धि, रोजगारी सृजना, औद्योगिक व्यवसायिक विकासमार्फत आम नेपालीको आमूल परिवर्तनमा निरन्तर क्रियाशील रहँदै आएको बताए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *