सिसडोलमा पक्राउ परेका ढुंगानाको शर्त – १० अर्ब दिए हामी १० हजार रोपनी छाड्न तयार छौं (भिडिओ) – Nepal Press

सिसडोलमा पक्राउ परेका ढुंगानाको शर्त – १० अर्ब दिए हामी १० हजार रोपनी छाड्न तयार छौं (भिडिओ)

काठमाडौं । बञ्चरेडाँडाका स्थानीय बासिन्दाले अवरोध गरेपछि सरकारले बल प्रयोग गरेर काठमाडौंको फोहोर खसाल्न सुरू गरेको छ । अवरोध हटाउने क्रममा प्रहरीले ३० जनालाई पक्राउ गरेर भ्यानमा कोचेको छ । पक्राउ परेकामध्ये एक हुन् श्रीराम ढुंगाना ।

स्थानीयवासीले बनाएको संघर्ष समितिका संयोजक ढुंगानासँग नेपाल प्रेसले दुई दिनअघिको स्थलगत रिपोर्टिका क्रममा विस्तृत कुराकानी गरेको थियो । राज्यले वर्षौंदेखि मौलिक हक, मानवअधिकारको हनन गरेकाले आफूहरू आन्दोलित हुन बाध्य भएको उनी बताउँछन् । बाँच्न पाउने अधिकारलाई कुल्चिएर राज्यले ज्यादतीपूर्ण तवरले स्थानीय जनतालाई पेलेर गएको उनको आरोप छ ।

ढुंगाना भन्छन्, ‘काठमाडौंको फोहोर रामकोटमा फाल्नका लागि तत्कालीन स्थानीय विकासमन्त्री रामचन्द्र पौडेल रामकोट जाँदा त्यहाँका जनताले उहाँको दाहिने करङ ड्यामेज गरिदिएका थिए । यसपछि सरकारले गोरखापत्रमा सूचना छापेर सुविधा उपलब्ध गराउने भनेपछि हामीले ठाउँ दिएका थियौं । तर, हाम्रो उदारतालाई राज्यले कमजोरी ठानिदियो ।’

महानगर र राज्यले यहाँका लाखौं जनताको भविष्य अन्यौलतामा धकेलिदिएको ढुंगानाको गुनासो छ । उनी आक्रोशित हुँदै भन्छन्, ‘अन्याय कहाँ भयो ? रत्नपार्कमा बस्ने महानगरको कर्मचारीलाई पर्‍यो ? सिंहदरबारमा बस्ने मान्छेलाई पर्‍यो ? हामी उल्टो प्रश्न गर्छौं । काठमाडौंका मान्छेका लागि हामी एक लाख मान्छे मरिदिन पर्‍यो ? हाम्रा सन्तति मरिदिनुपर्‍यो ? हामी समाप्त हुनुपर्‍यो ? त्यहाँको वातावरण समाप्त हुनुपर्‍यो ?’

महानगर र राज्यले गरेको जघन्य अपराधको विरुद्ध आफूहरू अन्तिम लडाइँमा होमिएको ढुंगानाको भनाइ छ । सिसडोलका स्थानीय जनतालाई महानगर र राज्यले मृत्यु मात्रै दिएको उनले दाबी गरे ।

उनी भन्छन्, ‘हामी प्रभावित क्षेत्रका जनताको भविष्य सकियो । हाम्रो ठाउँ नेपालको नक्साभित्र छ कि छैन ? एक लाख जनताले बाँच्ने अधिकार छ कि छैन ? हामी एक करोड जनताको जीवन रक्षाका लागि तयार छौं । हामी फोहोर मैला विरोधी होइनौं । हामीले कसरी योगदान गर्नुपर्छ तयार छौं । तर, राज्यले हामीमाथि निरन्तर ज्यादती गरिरहनुभएन ।’

तीन वर्षको सम्झौता गरिएको सिसडोलमा १७ वर्षसम्म निरन्तर फोहोर फालिएको छ । हुँदाहुदा सिसडोलको कुनै व्यवस्थापन नगरिकन बन्चरे डाँडामा लगेर फोहोर फाल्न थालिएको ढुंगानाले बताए । खेतीपातीदेखि स्वासप्रश्वास र गम्भीर रोगहरूको शिकार भएका जनतालाई सरकारले नजरअन्दाज गरिरहेको उनको गुनासो छ ।

‘फोहोरमैला नजिक मान्छे बस्न सक्छन् भने त्यो फोहोरलाई काठमाडौंमै राखौं । तर यदि त्यो ठाउँमा लाने हो भने त्यहाँका छ–सातवटा गाउँका मान्छेलाई अलग गरिदिनुस् । हामीलाई राज्यले प्रचलित दरमा खरिद गरिदेओस् । नौ दश अर्बमा हामी दश हजार रोपनी छाड्न तयार छौं । हामीलाई फोहोरबाट अलग गरिदिनुस्,’ ढुंगाना भन्छन्, ‘छोराछोरी बिरामी हुँदा हाम्रो जग्गा बैंकमा नचल्ने, विदेश जान पर्दा जग्गा धितो राख्न नपाइने अवस्था छ । बैंकबाट ऋण निकाल्न नपाइने जग्गालाई आफ्नो सम्पत्ति भनेर बस्नुपर्ने विडम्बना छ । यसलाई हल गर्ने अभिभारा त राज्यको हो नि !’


प्रतिक्रिया

One thought on “सिसडोलमा पक्राउ परेका ढुंगानाको शर्त – १० अर्ब दिए हामी १० हजार रोपनी छाड्न तयार छौं (भिडिओ)

  1. Rastra ko jaga jamin Sabai rastrikan garnu parxa .. government vane jasto desh bikash ko kaam maa badh adchan aaudaina..

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर