वेटिङ मन्त्री जीवनरामको आरोप- मेलम्चीमा स्ट्यान्डर्डअनुसार काम भएन, मिलेमतो छ – Nepal Press

वेटिङ मन्त्री जीवनरामको आरोप- मेलम्चीमा स्ट्यान्डर्डअनुसार काम भएन, मिलेमतो छ

काठमाडौं । नेकपा एकीकृत समाजवादीका सांसद जीवनराम श्रेष्ठ पार्टीबाट मन्त्री पदमा सिफारिस भएका छन् । उनी पर्यटनमन्त्री हुने तय भएको छ । यसकारण अबको केही दिनभित्रै उनी मन्त्री बन्दैछन् ।

यिनै सांसद श्रेष्ठले मेलम्ची खानेपानी आयोजनामा स्ट्यान्डर्डअनुसार काम नभएको बताएका छन् । प्रतिनिधिसभामा आजको बैठकमा बोल्दै उनले यस्तो बताएका हुन् ।

‘काठमाडौं उपत्यकाको मेलम्ची आयोजना प्रोजेक्टको हिसाबले स्ट्यान्डर्ड प्रोजेक्ट हो’, उनले भने, ‘तर, यसको कामको अवस्था हेर्ने हो भने काठमाडौंका सडकहरू बिग्रिने, सडकमाथिबाट पानी बग्ने, काठमाडौंमा सधैँ नै अव्यवस्थित हुने सम्भावना एकदम देखिएको छ ।’

यसको स्ट्यान्डर्डअनुसार काम नभएको र धेरै त्रुटिहरू भएको सांसद श्रेष्ठले बताए । उनले भने, ‘यसका लागि जुन ढंगका मेटेरियलहरू जसरी डिजाइन गरिएका छन्, त्यसअनुसार बिल्कुलै काम भएको छैन ।’

अहिले हेरे पनि काठमाडाैंका ठाउँठाउँमा भर्खरै बनाएका सडकमाथिबाट पानी बगेको देखिने उनले बताए । ‘त्यो केको पानी भन्दा मेलम्चीको पाइप फुटेको पानी । यो प्राविधिक रुपमा सही ढंगबाट काम नभएको हुनाले यो समस्या आइलागेको हो’, उनले भने ।

यसमा मन्त्रालयका इन्जिनियरदेखिको मेकानिज्मको मिलेमतोमा काम भइरहेको सांसद श्रेष्ठले दाबी गरे । ‘स्ट्यान्डर्डको रुपमा ठेक्का भएको छ । तर, काम एउटा ज्यामीलाई पेटी ठेक्काका रुपमा सय-सय फिटको दिइएको छ’, उनले भने, ‘ज्यामी नै इन्जिनियर, ठेकेदार सबै हो । त्यो स्तरमा काम भइरहेको छ ।’

यसमा मन्त्रालयबाट तुरुन्तै छानबिन समिति बनाएर अनुगमन र निरीक्षण गर्न उनले आग्रह गरे ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर