संसद गिरीको आरोपः शिक्षा क्षेत्र अस्तव्यस्त हुँदा सरकार मुकदर्शक बन्यो – Nepal Press

संसद गिरीको आरोपः शिक्षा क्षेत्र अस्तव्यस्त हुँदा सरकार मुकदर्शक बन्यो

काठमाडौं । देशको शैक्षिक क्षेत्र अस्तव्यस्त रहेका बेला सरकारले शिक्षामा छुट्याएको बजेटप्रति संसदमा असन्तुष्ट व्यक्त भएको छ । पर्वतका एमाले सांसद पदम गिरीले शिक्षामा छुट्याइएको बजेटले शैक्षिक पूर्वाधार र प्रविधिको विकास सम्भव नहुने टिप्पणी गरे ।

संसद बैठकमा बोल्दै उनले समाजवादको नारा दिएको सरकार व्यवहारमा उल्टो बाटो हिँडिरहेको आरोप लगाएका थिए ।‘नर्कको ठेगाना लिएर स्वर्गमा पुगिँदैन । तर यो सरकारका गतिविधि भने त्यतैतिर परिलक्षित छन्,’ उनले भने ।

त्रिभुवन विश्वविद्यालयमा ५ महिनादेखि तालावन्दी जारी रहँदा सरकार मुकदर्शक बनेको पनि गिरीको आरोप छ । विश्वविद्यालयका उपप्राध्यापकलाई गठवन्धननिकटकै विद्यार्थी संगठनले सांघातिक आक्रमण गरे पनि आक्रामणकारीमाथि कारवाही नभएको उनले बताए ।

‘अदालतले उनीहरुलाई ३५ लाख धरौटीमा छोडेको छ । त्यो धरौटी पनि विश्वविद्यालयले तिर्नुपर्ने भनिरहेका छन्,’ गिरीले भने ।

सरकारले विद्यालयहरुमा पाठ्यपुस्तकसमेत पुर्याउन नसकेको भन्दै गिरीले आलोचना गरे । कक्षा १ देखि १० सम्म अध्ययनरत ६४ लाख ५ हजार ३३२ जना विद्यार्थीका लागि जनक शिक्षा सामग्री केन्द्रले पर्याप्त पाठ्यपुस्तक छाप्न नसकेको उनको भनाइ छ ।

गिरीले शिक्षामा बजेट नै कटौति भएको दावी समेत गरे । उनले भने, ‘शिक्षा क्षेत्रमा १०.९५ प्रतिशत मात्रै बजेट छ्याइएको छ । अंकमा हेर्दा ०.३ प्रतिशत वृद्धि देखिन्छ । तर, यो खासमा वृद्धि होइन । शिक्षकहरुको तलव नै १५प्रतिशतले बढाइएको अवस्थामा यो वृद्धिले थेग्न सक्दैन । शैक्षिक पूर्वाधार र प्रविधिलाई पर्याप्त बजेट दिइएको छैन ।’

गिरीले संघीय शिक्षा ऐन ल्याएर सामुदायिक विद्यालयहरु मर्ज गर्नुपर्ने धारणा राखे ।

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर