११ महिनामा १२०१ फर्मलाई कारबाही, डेढ करोडभन्दा बढी जरिबाना – Nepal Press

११ महिनामा १२०१ फर्मलाई कारबाही, डेढ करोडभन्दा बढी जरिबाना

काठमाडौं । बाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले बजार अनुगमनका क्रममा गत साउनदेखि हालसम्म १२०१ फर्मलाई कारबाही गरेको छ ।

विभागका महानिर्देशक लीलाप्रसाद शर्माका अनुसार कारबाहीमा परेका ती फर्मबाट १ करोड ५० लाख ८६ हजार रूपैयाँ जरिबाना असुल गरिएको छ ।

चालु आर्थिक वर्षको हालसम्म २७१३ वटा फर्ममा अनुगमन गरिएको शर्माले जानकारी दिए । कैफियत देखिएका अन्य व्यापारिक फर्मलाई भने सचेत गराइएको छ ।

जेठ महिनाको २५ गतेसम्म मात्रै २७६ फर्मलाई अनुगमन गरी १६ लाख र वैशाखमा ३०२ फर्म अनुगमन गरी १६ लाख ३५ हजार रूपैया जरिबाना तिराइएको विभागले जनाएको छ ।

विभाग हाल अत्यावश्यकीय उपभोग्य वस्तुसहित मूल्य, गुणस्तर तथा मौज्दातसँग सम्बन्धित उच्च जोखिम भएका वस्तु, फर्म तथा क्षेत्रमा अनुगमनकेन्द्रित गरेको बताए ।

महानिर्देशक शर्माले विभागले एक्लै तथा नेपाल आयल निगम, खाद्य प्रविधि तथा गुण नियन्त्रण विभाग, औषधी व्यवस्था विभाग, गुणस्तर तथा नापतौल विभाग, वातावरण विभाग, स्वास्थ्य सेवा विभाग, जिल्ला प्रशासन कार्यालयसहित संयुक्तरूपमा समेत अनुगमन भइरहेकोले जानकारी दिए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *