रवि लामिछानेभन्दा पहिल्यै दाइ हरिशरणको उम्मेदवारी घोषणा, रेडियो नेपालको ३० वर्षको जागिर छोड्ने – Nepal Press

रवि लामिछानेभन्दा पहिल्यै दाइ हरिशरणको उम्मेदवारी घोषणा, रेडियो नेपालको ३० वर्षको जागिर छोड्ने

काभ्रे–२ वा काठमाडौं–२ बाट लड्छु : लामिछाने

काठमाडौं । लोकप्रिय सञ्चारकर्मी रवि लामिछाने संसदीय चुनावमा उम्मेदवार लड्ने चर्चाका बीच उनका साक्खै दाजु हरिशरण लामिछाने पनि चुनावी दौडमा सामेल भएका छन् ।

रेडियो नेपालका पुराना समाचारवाचक लामिछानेले काठमाडौं वा काभ्रेबाट स्वतन्त्र उम्मेदवारी दिने अनौपचारिक घोषणा गरेका हुन् ।

दुई दिनअघि सामाजिक सञ्जालमा लामिछानेले आफूलाई अन्तस्करणले सिंहदरबारबाट बाहिरिएर देश र जनताको सेवामा फरक भूमिकामा पेस हुन प्रेरित गरेको बताएका थिए ।

‘परिवर्तन सम्भव छ भन्ने मान्यतासहित आगामी संसदीय निर्वाचनमा प्रतिस्पर्धा गर्ने तयारीमा छु, सबैको साथ र समर्थनमा यो अभियानमा होमिने छु,’ उनले लेखेका छन् ।

नेपाल प्रेससँगको कुराकानीमा लामिछानेले आफू काभ्रे वा काठमाडौंमध्ये एक जिल्लाबाट चुनाव लड्ने बताए ।

उनको गृहजिल्ला काभ्रे हो भने कार्यक्षेत्र काठमाडौं हो ।

‘काठमाडौं–२ वा काभ्रे–२ मध्ये एउटा रोज्नुपर्ला, साथीभाइहरूसँग छलफलपछि निर्णयमा पुग्छु,’ उनले भने ।

केही स्वतन्त्र उम्मेदवारहरूले टिम नै बनाएर अगाडि बढ्ने गृहकार्य गरिरहेकाले पनि आफूले पर्खेको लामिछानेले बताए ।

‘म कसैसँग सम्पर्कमा त आइसकेको छैन, तर स्वतन्त्रहरू मिलेर जाँदा राम्रो हुन्छ भन्नेमा म पनि सहमत छु,’ उनले भने ।

हरिशरणका भाइ रवि लामिछानेले पनि चुनावमा उठ्नेबारे गृहकार्यमा छन् । हरिशरणले भने रवि चुनाव लड्ने सम्भावना कम रहेको संकेत गरे ।

‘उसको कुरा पनि पहिलेदेखि नै आइरहेको छ । तर, मेरो विचारमा उसले अहिले चुनाव लड्दैन होला । भर्खरै टेलिभिजन सेट अप भइरहेको छ । त्यहाँ उसको जिम्मेवारी हुन्छ । त्यो नै उसका लागि प्लेटफर्म हो नि जनताको काम गर्ने,’ लामिछानेले भने ।

चुनावमा उम्मेदवार बन्ने विषयमा दाजुभाइबीच सरसल्लाह नभएको उनले बताए ।

‘भाइसँग मेरो छलफल भएको छैन । यदि हामी दुवैले उम्मेदवारी दियौँ भने पनि त्यसलाई स्वभाविकरुपमै लिनुपर्छ,’ लामिछानेले भने ।

रेडियो नेपाल छोड्ने

हरिशरण ३ दशकभन्दा लामो समयदेखि सञ्चारक्षेत्रमा छन् । उनले रेडियो नेपालमा समाचारवाचकको रूपमा जागिर सुरु गरेको नै करिब ३० वर्ष भइसक्यो । हाल उनी रेडियो नेपालका प्रधान सम्पादक हुन् ।

रेडियो नेपालको जागिर छोडेर राजनीतिमा आउने हरिशरणको तयारी छ । उनी भन्छन्, ‘उम्मेदवारीको औपचारिक घोषणासँगै रेडियो नेपालको जिम्मेवारीबाट अलग हुन्छु ।’

सरकारले संसदीय निर्वाचनको मिति घोषणा गरेपछि आफूले पनि उम्मेदवारीको औपचारिक घोषणा गर्ने लामिछानेले बताए ।


प्रतिक्रिया

One thought on “रवि लामिछानेभन्दा पहिल्यै दाइ हरिशरणको उम्मेदवारी घोषणा, रेडियो नेपालको ३० वर्षको जागिर छोड्ने

  1. केही गर्नुपर्दैन घोषणा जसजसले जे जे गरे नि भयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर