पोखराको ल्यान्डफिल साइट भरत पोखरीमा सारिने – Nepal Press

पोखराको ल्यान्डफिल साइट भरत पोखरीमा सारिने

पोखरा । पोखरा महानगरपालिकाको पहिलो कार्यपालिका बैठक बसेको छ । बैठकले हाल सञ्चालनमा रहेको ल्यान्डफिल साइट पोखरा(३३ भरत पोखरीमा सार्ने निर्णय गरेको छ ।

अहिले पोखरा(१४ मा रहेको ल्यान्डफिल निर्माणाधीन अन्तर्राष्ट्रिय विमानस्थलका कारण तत्कालै सार्नुपर्ने सर्त छ । त्यसकै आधारमा कार्यपालिका बैठकले पहिलो निर्णय गरेर भरत पोखरीमा सार्ने र आवश्यक पूर्वाधार बनाउन बजेट विनियोजन गर्ने जनाएको हो ।

बैठकले पोखरामा एक वर्षभित्रमा विभिन्न ठाउँमा सार्वजनिक शौचालय बनाउने र त्यसअघि बैंक, होटल, रेस्टुरेन्ट र विभिन्न संघसंस्थाका शौचालयमा सर्वसाधारणले प्रयोग गर्ने गरी समन्वय मिलाउने निर्णय गरेको छ । त्यसका लागि दुई पक्षबीच सम्झौता गरिने मेयर धनराज आचार्यले जानकारी दिए ।

पोखरा महानगरपालिकाले तत्काल आपत्कालीन सेवा सञ्चालनमा ल्याउने भएको छ । सडकमा रहेका खाल्डाखुल्डी पुर्ने, आगलागी तथा विभिन्न घटनामा तत्काल जनशक्ति परिचालन गर्ने गरी पूर्वाधार महाशाखाको क्षमता विकास गर्ने र कर्मचारीसमेत भर्ना गरेर सेवामा प्रभावकारिता ल्याउने निर्णय गरिएको हो । छाडा चौपाया सडकबाट हटाउने र ढल तथा नाला सफाइ अभियान सुरु भइसकेको छ ।

तालचोक(बेगनास सडकको निर्माणको ठेक्का बोलपत्र स्वीकृत गरेको छ । करिब तीन किलोमिटर दूरीको सडकलाई चार लेनमा विस्तार गर्ने गरी विश्व बैंकले आर्थिक सहयोग गर्ने यसअघि नै सम्झौता गरिएको छ ।

पोखरा महानगरको प्रशासकीय भवन निर्माणका लागि पनि जग्गा छनोट गर्न तीन सदस्यीय समिति गठन गरिएको छ ।

वडाध्यक्षहरू दिवशमान प्रधानाङ्ग, राधिका शाही र पूर्वाधार महाशाखा प्रमुख पूर्णबहादुर गुरुङ सदस्य रहेको टोली गठन गरिएको र आउँदो बैठकमा प्रतिवेदन पेस गर्नुपर्ने कार्यादेश दिइएको मेयर आचार्यले जानकारी दिए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर