अमेरिकी जनरल फ्लिनले गरे वीरेन्द्र सैनिक तालिम केन्द्र र सैनिक कलेजको भ्रमण
काठमाडौं । नेपालको औपचारिक भ्रमणमा रहेका अमेरिकाका यूएसएआरपीएसी कमान्डर जनरल चार्लेस ए फ्लेनले वीरेन्द्र शान्ति कार्य तालिम केन्द्र र सैनिक कमाण्ड तथा स्टाफ कलेजको भ्रमण गरेका छन् ।
पाँचखालमा फ्लेनले शान्ति स्थापना कार्यको दौरान आवश्यक पर्ने विभिन्न प्रदर्शनीको अवलोकन समेत गरेका थिए । साथै, अन्तरक्रियामा नेपाली सेनाका रथीवृन्द तथा अधिकृतहरू र उक्त भ्रमणदलका सदस्यहरूबिच संयुक्त राज्य अमेरिकाबाट शान्ति स्थापना कार्यको लागि प्राप्त सहयोग भविष्यमा थप वृद्धि गर्दै लैजाने लगायत विविध विषयमा छलफल भएको थियो ।
शिवपुरीस्थित सैनिक कमाण्ड तथा स्टाफ कलेजमा उनले शिक्षाध्यक्षसँग भेटघाट तथा तालिमरत शिक्षार्थी अधिकृतहरूसँग अन्तरक्रिया गरेका छन् । साथै उनले कलेज परिसरमा वृक्षारोपण समेत गरेका थिए ।
नेपालको चार दिने औपचारिक भ्रमण सम्पन्न गरी उक्त भ्रमण दल आजै स्वदेश फिर्ता हुने कार्यक्रम रहेको छ ।