बालेन्द्रको होम भिजिटपछि फेरिए मुकुन्द रिजाल ! दोस्रो कार्यपालिका बैठकमा यति नरम प्रस्तुति (भिडिओ) – Nepal Press

बालेन्द्रको होम भिजिटपछि फेरिए मुकुन्द रिजाल ! दोस्रो कार्यपालिका बैठकमा यति नरम प्रस्तुति (भिडिओ)

काठमाडौं । काठमाडौं महानगरपालिकाको पहिलो नगर कार्यपालिका बैठकमा चर्को अभिव्यक्ति दिएर भाइरल बनेका वडाध्यक्ष मुकुन्द रिजाल दोस्रो बैठकमा आइपुग्दा भने फेरिएका छन् । आज भएको दोस्रो कार्यपालिका बैठकमा उनले मेयर साहको पक्षमा खुबै सदाशयता देखाए ।

कार्यपालिका बैठकले मेयरद्वारा प्रस्तुत विभिन्न एजेन्डा पारित भइसकेपछि वडाध्यक्षहरूले आ–आफ्ना वडाका विभिन्न समस्याहरू सुनाउन थालेका थिए । त्यसमा असन्तुष्टि जनाउँदै १६ नम्बर वडाका वडाध्यक्ष रिजालले मेयरको व्यस्त समयलाई ध्यान दिन आग्रह गरे ।

‘हाम्रो आजको एजेन्डा पास भइसकेको छ । अब हामीले मेयर सा’बको धेरै समय लिनु हुँदैन । उहाँले हामीभन्दा पनि अरू धेरै स्टेकहोल्डरहरुसँग वार्ता र छलफल गर्नुपर्ने भएकाले यहाँ धेरै नअल्मल्याउँ,’ रिजालले भनेका थिए ।

उनले मेयरको ऊर्जा र वडाध्यक्षहरूको अनुभवलाई मिलाउन सके काठमाडौं बन्न समय नलाग्ने बताए ।

आजको वैठकमा रिजालको भनाइ जस्ताको तस्तैः

हामीले एजेन्डामा आज आएका कुरा आएका कुराहरु लगभग पास गरिसक्यौं । हाम्रो प्रमूखज्यू, उपप्रमुखज्यूहरु सबै समस्या समाधान गर्न अघि बढिसक्नुभएको छ । हामी बोल्नका लागि बोल्नेभन्दा पनि काम गर्नका लागि आएका हौं ।

आज हाम्रो ३–४ वटा एजेन्डा थिए । ती एजेन्डा टुंगिएको जस्तो लाग्छ । समग्र काठमाडौंको बारेमा कुरा राख्नुभन्दा ती एजेन्डामै केही कुरा राखेको भए राम्रो हुन्थ्यो । हाम्रो प्रमुखज्यूलाई हामीसँग भन्दा पनि धेरै अरु स्टेकहोल्डरसँग वार्ता गर्नुपर्ने स्थिति छ । उहाँले वार्ता गरेर ल्याइसकेपछि त्यो हाम्रो सम्पत्ति हो ।

त्यसो भएको हुनाले हामीले यी समस्याहरुलाई समाधान कसरी गर्ने भनेर समितिमार्फत पेश गरिसकेपछि प्रमुख, उपप्रमूखज्यू, प्रशासकीय प्रमुख र विभागीय प्रमूखज्यले त्यो निराकरण गर्नुहुन्छ । उहाँहरुले गर्नुभएन भने हामी प्रमूखज्यूसमक्ष प्रत्यक्षरुपमा कुरा गर्न सक्छौं । १२ वटा समिति बनेका छन् । मलाई पूर्वाधार समितिमा राखिएको रहेछ । त्यसको बारेमा म आजैदेखि होमवर्क गर्छु । सबैलाई म के भन्छु भने समस्या पहिले समितिमा पठाउनुस । समितिबाट त्यो कार्यान्वयन भएन भने प्रमुखसमक्ष पेश गर्नेछौं । 

यो वडाध्यक्षले के भन्यो भन्नुभयो होला । तर एजेन्डावाइज गयौं भने प्रमुखज्यूको टाइम सड्यूलललाई पनि राम्रो होला जस्तो लाग्छ । सम्भवत प्रमुखज्यूको अहिले अन्त पनि विशेष मिटिङ भएको जस्तो लागेको छ । उहाँलाई हामीले धेरै ईंगेज गराउनुभन्दा… उहाँले यी समस्या सबै बुझ्नुभएको छ । बुझेको समस्या समाधान गर्न हामीले विभागीय प्रमुखलाई पनि कुरा गर्दा हुन्छ । 

धेरै बोल्ने भन्दा पनि गर्ने बेला छ । टाइम लिमिटलाई हेरौं । प्रत्यक्ष प्रशारण पनि भइरहेको छ । एजेन्डा एउटा छ, कुरा अर्को गरिरहेका छन् भन्ने जनमानसमा सन्देश जाला । प्रमुख–उपप्रमुखको व्यस्ततालाई पनि हेर्दिनुपर्छ कि ?

अबको प्रत्येक वडाको वडाध्यक्ष र वडासदस्य सबै एउटै परिवार हो । प्रमुख–उपप्रमुख तपाईं–हामी नै हौं । हामीले नसकेका कुरा मात्रै प्रमुखज्यूलाई भनेर अगाडि बढ्न पाए राम्रो हुन्छ । प्रमुखज्यूलाई समस्याको गाँठो मात्रै देखाएर हुँदैन समाधान कसरी गर्ने ? जुट्नका लागि हामी लागिसक्यौं । हाम्रो ४२ जनाको टिम र महानगरका २२ सय कर्मचारीको टिम जुटिसकेको छ ।

आजदेखि प्रमुख, उपप्रमुखको मात्रै मुख ताक्ने होइन, यहाँको समस्यालाई निराकरण गर्न हामी नै लाग्ने हो । जहाँ रोकिन्छ त्यहाँ प्रमुखज्यूलाई भन्ने हो । प्रमुखज्यूसँग उर्जा छ । उहाँभन्दा उमेरमा पाको भएकाले हामीमा बढी अनुभव होला । त्यो दुईवटा मिलाएर काठमाडौं बनिहाल्छ नि ।


प्रतिक्रिया

One thought on “बालेन्द्रको होम भिजिटपछि फेरिए मुकुन्द रिजाल ! दोस्रो कार्यपालिका बैठकमा यति नरम प्रस्तुति (भिडिओ)

  1. धेरै राम्रो ।अब हाम्रो पालकाे राजधानि बाट नै सबै काम कुरा ब्यबहार,एकता मितब्यियता,सामुहिक कार्य सबै एकताबद्ध हुनुपर्छ भन्ने शिक्षाको बिस्तार हुने अाशा गर्दछु।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर