कोलकाताको सडकमा नेपाली युवालाई प्रश्न- भाइ आप काश्मिर से हो ?
भारतको कोलकाता र नेपालको इटहरीबीच स्थलमार्गको दूरी १३ घन्टा हाराहारी हो । इटहरीदेखि जोगबनी सार्वजनिक सवारीमा एक घन्टाभन्दा छिटो पुगिन्छ । जोगबनीबाट कोलकाता पुग्न रेलमा १२ घन्टा हाराहारी लाग्छ । यो कोणमा इटहरीबाट काठमाडाैं पुगेकोभन्दा केही घण्टामात्रै बढी समय हो कोलकाता पुग्न । प्रदेश १ को संधियारी तीन भारतीय प्रदेशमा सिक्किमको राजधानी गान्तोक पुगे पनि बिहारको पटना र पश्चिम बंगालको कोलकाता पुग्ने मौका मिलेको थिएन । जान तयार साथीहरु भएका थिएनन् ।
कोलकाता पुग्ने मेरो क्रेज भने धेरै पुरानो हो । राजनीतिक, आर्थिक र पर्यटकीय साइनोमा नेपाल र कोलकाताको धेरै पुरानो इतिहास छ । नेपाल कम्युनिस्ट पार्टीको स्थापना कोलकातामा भएको थियो । बीपी/मात्रिकाको नेपाली राष्ट्रिय कांग्रेससँग मिसिएर नेपाली कांग्रेस बनाउने सुवर्ण शमशेर/महावीर शमशेरको नेपाली प्रजातान्त्रिक कांग्रेसको जन्मभूमि पनि कोलकाता नै हो । नेपालको महावाणिज्य दूतावास कोलकातामा सञ्चालन हुनु अगाडि खोलिएको राणाकालीन अलैंची कोठा हुने दुई ठाउँ पटना र कोलकाता थिए । नेपालमा मनसुन ल्याउने बंगालको खाडी र नेपालको समुन्द्र व्यापारको पहिलो मुकाम कोलकाता नै हो ।
अझ रोचक कुरा काठमाडौंसँग कोलकाता दिल्लीभन्दा पहिले जोडिएको थिया । सन् १९११ डिसेम्बर १२ मा बेलायती उपनिवेशी सत्ताले भारतको राजधानी दिल्ली सार्ने औपचारिक निर्णय गरेर राजधानीको औपचारिक उद्घाटन सन् १९३१ को फेब्रुअरी १३ मा मात्रै गरेको थियो । यी दुई घटनाक्रमभन्दा अगाडि नेपाल–दिल्ली सीधा र सक्रिय साइनो थिएन, नेपाल–कोलकाता भने थियो ।
नेपालमा सन् १९५५ मा रोयल होटल खोलेर होटल क्षेत्रमा क्रान्ति गरेका रुसी नागरिक बोरिस लिसानेभिच कोलकाताबाटै नेपालसँग जोडिएका थिए । यी र यस्ता थुप्रै किस्साहरु छन्, जसले नेपाल र कोलकाताको सीधा र ऐतिहासिक सम्बन्ध देखाउँछ । यही कुराले ममा कोलकाता क्रेज थियो । टेलिग्राफ, द स्टेट्सम्यान जस्ता भारतको संघीय राजधानीभन्दा बाहिरका चलेका अखबारको मुख्यालय भएको, एसियाका प्रथम नोवेल पुरस्कार विजेता रवीन्द्रनाथ टैगोरको होमटाउन भएकाले थप क्रेज थियो नै ।
यस्तो भावुक सम्बन्ध भएको कोलकाता जाने चार दिने प्रस्ताव मित्र उमेश भण्डारीले ल्याउँदा मैले तत्काल ‘ओके’ गरिहालेँ । मेरो ओकेको अर्को आकर्षण थिए मित्र सुरज अग्रवाल । सुरजले कोलकातामै सीए पढेका हुन् । उनका आफन्तहरु कोलकाताका गिनेचुनेका व्यक्तित्व हुन् । यी कुराले मेरो कोलकाता जाने तीन सदस्य समूहमा कुनै बिमति भएन ।
हाम्रो टु-वे रेल टिकट बुक भयो । जेठ २६ गते दिउँसो नेपाली समयअनुसार ३ बजे हामी जोगबनी स्टेसनबाट चितपुर एक्सप्रेसको बी ३ डब्बामा बसेर चार दिने यात्रामा निस्कियौँ । जोगबनी दिल्ली रेल यात्राको अनुभव आधा दशक अगाडि गर्दा मैले पुलकित भएर योजना बनाएको थिएँ– अबको अर्को यात्रा मेरो जोगबनी कोलकाता हुनेछ । त्यही वर्ष योजना पूरा त भएन । तर, ढिलै भए पनि अहिले पूरा भयो ।
मैले यो योजना ल्याउने मित्रहरु उमेश भण्डारी र सुरज अग्रवाललाई धन्यवाद भनेँ । मुखले भनिनँ । मनमनै भनेँ । मनमनै धन्यवाद मैले मात्रिका/बीपी/गिरिजा कोइरालाका पिता कृष्णप्रसाद कोइरालालाई पनि भनेँ । उनै कोइरालाको जोडबलमा भारतीय रेल विराटनगरको सिमानासम्म ‘नेपालजञ्ग एक्सटेन्सन’ को नाममा आएको थियो । मात्रिकाप्रसाद कोइरालाको पुस्तक ‘कोशीको कथा’मा यसको व्याख्या छ । कृष्णप्रसाद कोइरालाकै कारण हामीले दसजगा काट्नासाथ रेलमा चढेर सीधै कोलकाता जान पाएका थियौं । आधा दशक अगाडि यस्तै यात्रामा मैले कृष्णप्रसाद कोइरालालाई धन्यवाद भन्न पाइँन किनभने मलाई त्यो समयमा उनको यो कामको जानकारी थिएन । ‘धन्यवाद’ र ‘जानकारी’को सम्बन्ध कस्तो सीधा हुँदोरहेछ ! धन्यवाद छ ‘जानकारी’लाई ।
चार वटा शताब्दीसँगै बाँचिरहेको एक्लो सहर
बिहान साढे ३ बज्न लाग्दा रेल चितपुर स्टेसन पुग्यो । स्टेसनमा राखिएको वातानुकूलित आरामगृहमा प्रतिघन्टा प्रतिव्याक्ति तीस रुपैयाँ भारु तिरेर हामी एक घण्टा बस्यौं । स्टेसन परिसरको सित्तैमा बस्ने सुन्दर ठाउँ छोडेर त्यही परिसरको सःशुल्कमा छिर्ने तीन कारण थिए । एक, कोलकाताको गर्मी छल्न । दुई, स्वच्छ शौचालय प्रयोग गर्न र तीन, राम्रोसँग मोबाइल चार्ज गरेर वाइफाई चलाउन ।
एक घन्टा बढी आराम गरेर हामी श्यामबजारतर्फ पैदल लाग्यौं । बाटैभरि देखिए धेरै अगाडिका एम्बासडर कार । सन् १९५८ मा भारतमै पहिलोपटक बनेको कार हो एम्बासडर कार । हिन्दूस्तान मोटर्सले बनाएको यो कारको उत्पादन सन् २०१४ बाटै बन्द भएको थियो । तर, कोलकाताका सडकमा पहेँलो रंगमा यो कारले आफ्नो भव्य उपस्थिति जनाइरहेको छ । बीसौँ शताब्दीको कोलकाताको बिम्ब हो यो कार र यसको क्रेज ।
यस्तै उन्नाइसौं शताब्दीको कोलकाताको बिम्ब बोक्ने अर्को यातायात देखियो हाते रिक्सा । उन्नाइसौं शताब्दीमा कोलकाता भित्रिएको बंगाली भाषामा ‘ताना रिक्सा’ भनिएको यो रिक्साको अझै गज्जब उपस्थिति देखियो कोलकाताको सडकमा । सडकभरि छरिएर रहेका यस्ता हाते रिक्साले चढेको तस्बिर खिचेको एक सयभन्दा कम लिन मानेनन् । उनीहरुको भाडा अरु रिक्सा र टेम्पोको तुलनामा धेरै महँगो छ । तर पनि यसको व्यापार राम्रो छ । चढ्नेहरु खुसी छन् । चढाएर कमाउनेहरु खुसी छन् ।
कोलकाताका चर्चित फोटोग्राफर सौम्य शंकर घोसलले सन् २०१९ डिसेम्बर ९ मा सहपेडिया डटओआरजी ब्लगमा लेखेअनुसार कोलकातामा पाँच हजार यस्ता रिक्साहरु लाइसेन्स लिएर सञ्चालनमा छन् । उन्नाइसौं शताब्दीकै विद्युतीय ट्राम पनि कोलकातामा छन् । सडकमा ट्रामवे ट्रयाकहरु धेरै ठाउँमा देखिन्छन् ।
एक्काइसौं शताब्दीको विकासको बिम्ब बोक्ने मेट्रो रेल चलाउने कोलकाता त भारतकै नेतृत्व गर्ने सहर हो । भारतको संघीय राजधानीभन्दा पहिले मेट्रो कोलकाताले चलाएको हो । भारतीय रेलवेको आधिकारिक पोर्टलअनुसार सन् १९६९ मा मेट्रो निर्माणको योजनाले संस्थागत रुप लियो । पहिलो मेट्रोको सञ्चालन सन् १९८४ बाटै भएको हो ।
अहिले कोलकाताको मेट्रोले सहिद खुदीरामदेखि रामकृृण परमहंशले साधना गरेको दक्षिणेश्वरसम्म सेवा दिन्छ । हामीले शुक्रबार र शनिबार मेट्रोको भरपुर आनन्द लियौं । मेट्रोको भीड थामिनसक्नुको थियो । बस्न नपाइने भीड । तर, त्यो भीड आफैमा कम भएको कोलकाताका अखबारले लेखेका थिए । कोभिड १९ आएपछि दैनिक सात लाखको मेट्रो यात्रु घटेर चार लाख ७० हजार हाराहारी पुगेको मिलेनियम पोस्ट नामक दैनिक अखबारले लेखेको थियो । हामी चढ्नुभन्दा एक दिन अगाडि बिहीबार चार लाख ५१ हजार यात्रुले यात्रा गरेको लेखिएको थियो । हामीलाई भीड लागेको मेट्रो त आधा भीडको मात्रै पो रहेछ । आधा भीड नै धेरै लाग्ने हामीलाई पूरा भीड देख्या भए कस्तो हुन्थ्यो होला ?
कोलकाताले बाइसौं शताब्दीको समेत झल्को देखाइसकेको छ । सिंगापुरलाई धेरैले ‘सिटी अफ फ्युचर’ अर्थात् भविष्यको सहर भन्छन् । त्यसो भन्नुमा आधुनिकता र प्रकृति दुवैको संयोजन गर्नुले काम गरेको छ ।
‘सिटी अफ फ्युचरः सिंगापुर’ नामक नेसनल जियोग्राफिक च्यानलले बनाएर तीन वर्ष अगाडि युट्युबमा अपलोड गरेको डकुमेन्ट्री ढेड करोड बढीले हेरेका छन् । सिंगापुरले सुरु गरेको भर्टिकल फरेस्टलाई बाइसौं शताब्दीको विकास भनेर धेरैले भन्ने गर्छन् । यस्तै काममा कोलकाताले नेतृत्व गरेको छ । फोर्टिटु स्ट्रिटको ६५ तले भवनदेखि जेसर रोडको इमामी सिटीसम्मले यसको प्रयोग गरेका छन् अर्थात् कोलकाताले एकै समयमा उन्नाइस, बीस, एक्काइस र बाइसौं शताब्दी बोकेर बसेको छ ।
कोलकाता यी सबै बोकेर थाकेको र बिरक्तिएको देखिएन । बरु यसैमा रमेको पो देखियो । दुनियाँले जस्तो लय लियोस् कोलकातालाई ‘बाल’ छैन । दुनियासँग हिँड्न मन लागेको कुरामा कोलकातासँगै हिँड्छ । दुनियाँले हिँड्न छोडेको बाटो भन्दैमा कोलकाताले बेवास्ता गर्दैन । ऊ आफ्नै लयमा हिँड्छ । सहरहरुलाई दिल्ली हुन त सजिलो छ । गोआ हुन नि सजिलो छ । कोलकाता हुन गाह्रो छ, धेरै गाह्रो छ ।
दिदीको ब्रान्ड र मोदीको महिमा
हामीले रेलका डिब्बामा भेटिएकालाई प्रश्न गर्यौं । सडकमा भेटिएकालाई प्रश्न गर्यौं । बस, मेट्रो, ट्याक्सीमा यात्रा गर्दा पनि प्रश्न गर्यौं । प्रश्न दिदीबारेमा थियो । दिदी अर्थात् दिदी नामले चर्चित कोलकाता राजधानी भएको पश्चिम बंगालकी मुख्यमन्त्री ममता बेनर्जी । बेनर्जीका विरोधी भेटिएनन् । खासगरी महिलाहरु र तल्लो तहका श्रमिकहरुले ममता मन पराएको पाइयो । महिलाहरुले ममताले गर्दा महिलाको आत्मबल बढाएको भने ।
कोलकाताको कलेज स्ट्रिटको न्यू योर्क टाइम्स, धेरै माध्यमबाट चर्चामा आएको कोलकाताको लिजेन्ड्री कफी सपमा भेटिएकी न्युरोसाइन्सकी रिसर्चर सोमुना रोय भन्दै थिइन्, ‘मलाई भारतकै सबैभन्दा धेरै मनपर्ने नेता दिदी हो ।’
सुरज अग्रवाललाई एक खिल्ली चुरोट मागिदिने मेरो जिम्मेवारीअन्तर्गत रोयसँग कुरा गर्ने बहाना बनेको थियो । उनी भन्दै गइन्, ‘महिलालाई ममता मुख्यमन्त्री भएकाले धेरै आनन्द महसुस भएको छ ।’
सोमुना रोयको तर्क र उनीसँग कफी गफ भएकै दिन आएको कोलकाता डेटलाइनका भारतीय हेडलाइनहरुले पनि त्यो पुष्टि गरेको थियो । समाचारअनुसार रेनु खातुन नर्स बन्न चाहन्थिन् । उनका श्रीमानलाई कुरा पचेन । उनले दुई साथीको सहयोगमा उनको हत्केला काटे । यो सूचना मुख्यमन्त्री ममता बेनर्जीकहाँ पुग्यो । बेनर्जीले तत्काल नर्सिङकै जागिर दिने घोषणा गरिन् । दुई दिनभित्रै उनको नियुक्तिपत्र आयो । हत्केला नभएकोमा गैरनर्सिङ क्षेत्रमै रेनुले काम पाउने भइन् ।
मोदीबारेमा हामीले कुरा गरेका धेरै नकारात्मक थिएनन् । पश्चिम बंगालको प्रमुख प्रतिपक्षी दल बीजेपीका समर्थकले समेत दिदीको गुनगान गाए । दिदीका समर्थक हिन्दूहरुले मोदीको पक्षमा नरम कुरा गरे । दिदीको वितरणमुखी राजनीति र मोदीको धर्मको राजनीति दुवैलाई फापेको देखियो । इमामी सिटीको छैटौं तलामा हामीसँग गफिएकी सुधा अग्रवाल मोदी र दिदी दुवैका समर्थक भएको भन्दै थिइन् । मित्र सुरज अग्रवालकी ठूलोममी उनी भन्दै थिइन्, ‘म त बीजेपीको समर्थनमा छु । मलाई बीजेपी नै मनपर्छ । तर, मेरो घरमा काम गर्नेहरु सबै दिदीका फ्यान छन् ।’
हामीले भेटेकाहरुलाई आम आदमी पार्टी, कम्युनिस्ट पार्टीको बारेमा पनि प्रश्न गरेका थियौं । कांग्रेसका बारेमा पनि गरेका थियौँ । तर, ती दलहरुका समर्थकहरु हाम्रो यात्राको दौरानमा एक जना पनि भेटिएनन् ।
उसो त हामी हिँडेका सडक नजिकै थियो पश्चिम बंगालको प्रदेशसभा भवन । त्यो सभामा समेत छैनन् एक जना पनि कांग्रेस, आम आदमी र कम्युनिस्ट पार्टीका सदस्यहरु । सडकमा हाम्रो अनुभवकै कुराको छायाँ रहेछ संसदीय गणितमा पनि । कस्तो मिलेको !
प्रादेशिक मिडियाको वैश्विक सम्पादकीय
भारत विश्वको जनसंख्या, आर्थिक, सैन्य क्षेत्रको एक प्रमुख शक्ति हो । उसका दृष्टिकोणहरु क्रमशः वैश्विक बन्दै गएको देखिन्छ । त्यसको झल्को सडकमा हुने कुराकानी, मिडियाका सम्पादकीयमा पाइन्छ । नेपालबाट आएको भनेपछि गफिएका कोलकाता रनर्समा जोडिएका धावक उज्ज्वल अग्रवाल भन्दै थिए, ‘नेपालको राजनीति बिग्रेर होला नेपालले प्रगति गर्न सकेन । बंगलादेशले धेरै गरेको छ ।’
अग्रवालले जसरी छिमेकीबाट आफ्नो विश्व धारणा दिए त्यस्तै धारणा स्थानीय पत्रिकाका सम्पादकीयमा समेत देखियो । जस्तै शनिबारकाे द टेलिग्राफमा सम्पादकीय बेलायती महारानीको जोकलाई बिम्ब बनाएर अब राजतन्त्र पनि जोक नै भएको तर्क गरेको छ । यस्तै मिलेनियम पोस्टले सुडानको लोकतन्त्र बलियो बनाउनुपर्नेबारेमा शनिबारकै सम्पादकीय छापेको छ । इस्टर्न क्रोनिकल नामक अर्को प्रादेशिक दैनिकले बेलायती प्रधानमन्त्रीको संसदीय संकटबारेमा प्रमुख आलेख छापेको छ । यो पनि शनिबारकै अंकको कुरा हो ।
भारतको सबैभन्दा धेरै बिक्ने अंग्रेजी अखबार द टाइम्स अफ इन्डियाको शनिबारको कोलकाताबाट प्रकाशित संस्करणको एक सम्पादकीयमा थाइल्याण्डले खुला गरेको गाँजाको बारेमा लेख्दै भारतमा पनि खुला हुनुपर्ने तर्क गरेको छ । सन् १९८० को दशकमा अमेरिकी दबाबमा भारतमा गाँजा अवैधानिक बनाइएको भन्दै सम्पादकीयले थाइल्याण्डबाट सिक्न सुझाएको छ ।
हिन्दू-मुसलमान राजनीतिले जकडिएको सामाजिक मनोविज्ञान !
हामी जाँदै थियौं कोलकाताको चर्चित कलेज स्ट्रिटतर्फ । बाटैमा भेटिए एक युवा जुस ज्यामी । अरुको जुस पसलमा आफू काम गरेको बताउने उनी मुसलमान थिए । मेरो ब्रोकन हिन्दी सुनेपछि उनले सोधिहाले, ‘भाइ आप काश्मिर से हो ?’ कसरी ठ्याक्कै मिलाउनु भएको भनेर मित्रहरु उमेश भण्डारी र सुरज अग्रवालले प्रश्न गरेपछि उनले दाह्री र ज्यानतर्फ संकेत गरे । हामी उनको अनभिज्ञता सम्झेर हाँस्यौं । उनी आफूले सही अनुमान गरेछु भन्ने सम्झेर हाँसे । जे होस् हामी हाँस्यौं । जुसवालाले मलाई मुसलमान सम्झेर जस्तो प्यार देखाए ठीक त्यसविपरीत सोचेकी रहेछ्नि इमामी सिटीकी रैथाने सुधा अग्रवालले । पूजा गरेर हाउरा ब्रिजमा रहेको मन्दिरबाट लामो यात्रा गरेर आएकी उनी घरमा मुसलमान आएको सम्झेर अचम्म भइछिन् । कुरा गर्दै जाने क्रममा म मुसलमान नभएको प्रस्ट भएपछि उनले यो रहस्य खोलिन् ।
सडकका जुसवाला, महलकी सुधाको धार्मिक धारणा प्रमुख भएर आउनुमा राजनीतिले काम गरेको छ । हिन्दू र मुसलमान धर्मको कुरामा यस्तो सक्रिय चासो सडकदेखि महलसम्ममा मात्रै थिएन । मैले जोगबनीबाट मालदाह पुगेर खरिद गरेको मे अंकको आउट लुकको कभर स्टोरी, टाइम्स अफ इन्डिया, इन्डियन एक्सप्रेसको शुक्रबारका प्रमुख आलेख धर्मकै थिए । आउटलुकले ‘ल एन्ड फेथ’ अर्थात् कानुन र आस्था विषयमा कभर स्टोरी बनाएर अयोध्याको राम मन्दिरको समस्या समाधान भए पनि मथुरादेखि काशीसम्म यस्तै समस्याहरु बढेको चर्चा गरिएको थियो ।
टाइम्स अफ इन्डियामा रोहित सरनले ‘हिन्दू–मुस्लिमः फ्याक्टस् एन्ड फियर’ अर्थात् हिन्दु मुसलमानः तथ्यहरु र डर विषयमा लामो लेख लेखेर हिन्दूहरुको संख्या घट्ने र मुसलमानको मात्रै बढेको हल्लामात्रै भएको भन्दै दुवै समुदाय मिल्नुको विकल्प नभएको तर्क गरिएको छ । यस्तै इन्डियन एक्सप्रेसमा मौवा मैत्राले बीजेपी सबैभन्दा ठूलो दल भएर पनि एक जना मुसलमान सांसद प्रदेशदेखि केन्द्रसम्म नभएको भन्दै उनीहरुलाई समेट्न बीजेपी असफल र अनिच्छुक भएको तर्क गरेकी छन् ।
यसरी सडकदेखि सञ्चारसम्म हिन्दू–मुसलमान विभाजनका रेखाहरुले कोलकातामा डाम छाडिसकेका रहेका छन् । त्यो डाममा हामी पनि पर्यौं । यसलाई रोक्न पश्चिम बंगाल र भारत सरकारले के गर्दैछन्, त्यो उनीहरुको कुरा हो । तर, धर्मको नाममा यस्ता सामाजिक मनोवैज्ञानिक अनि राजनीतिक विभाजनका डामहरु दशगजा कटेर नेपाल आउन नदिन हामी सबै नेपाली उत्तिकै चनाखो हुनुपर्छ ।
बोरिस, सुवर्ण, महावीर र जयपृथ्वीको भव्य सम्झना !
कोलकाता उत्रेकै दिन हाम्रो बसाइ होटल हिन्दूस्तान इन्टरनेशनलमा भयो । पार्क स्ट्रिटमा रहेको गोबल रिच नामक संस्थामा मित्र उमेश भण्डारीको सानो छलफल भएकाले हाम्रो मुकाम त्यहाँ हुन गयो । रोचक संयोग यो रहेछ कि नेपालमा सन् १९५५ मा पहिलोपटक पर्यटकस्तरीय होटल ‘रोयल’का सञ्चालक बोरिस लिसानेभिचले राणाकालमै कोलकातामा खोलेको ‘३०० क्लब’ यही क्षेत्रमा थियो । बोरिसले कामले कोलाकाता आएका नेपालका तत्कालीन राजा महेन्द्रलाई महावीर, सुवर्ण भेट्न सहयोग गर्ने मुकाम त्यही क्लब थियो ।
बोरिसको आत्मकथा ‘टाइगर फर ब्रेकफास्ट’मा लेखक माइकल पिसाईले त नेपालको राणा शासन फाल्ने छलफल राजा र सुवर्ण महावीरलगायतको त्यही भएको लेखेका छन् । उसो त न अहिले कोलकातामा बोरिसको क्लबको कुनै देखिने अवशेष छ न त उनको हालको निर्वाचन आयोगको भवन भएको कार्यालयमा रहेको रोयल होटलकै कुनै रहलपहल चिनारी छ । केही छ त सम्झना छ । म त्यही सम्झना बोकेर रातभर गमे । बोरिसलाई मिस गर्दै सुतेँ ।
बोरिससँगै मिस गरेको अर्का व्यक्ति थिए महावीर शमशेर । उनी कोलकातामै टाइगर सिनेमा चलाउँथे । उनीसमेतको अगुवाइमा नेपाली प्रजातान्त्रिक कांग्रेस खोलिएको थियो । उनी बोरिसका मिल्ने साथी थिए । काठमाडौंको गौचरनमा अवतरण भएको पहिलो जहाज कम्पनी हिमालय एभिएसनका एक मालिक महावीर पनि भएको पिसाईले लेखेका छन् । उनै महावीर मात्रिका कोइरालाको प्रधानमन्त्रीत्वकालमा मन्त्रीसमेत भएका थिए । भारतसँगको कोशी सम्झौताको हस्ताक्षरकर्ता भएकाले उनको बारेमा सोच्दा झोंक त चल्यो नै । उनको राणा सत्ता ढाल्ने सक्रिय नेतृत्व र उद्योग खोल्ने अभियान सम्झेर खुसी पनि लाग्यो ।
पार्क स्ट्रिट नजिकै छ क्यामेक स्ट्रिट भन्ने बुझेर म औधी खुसी भएको थिएँ । बिहान पुग्नेबित्तिकै होटल अगाडि नै रहेको क्यामेक स्ट्रिट पुगेँ । त्यो स्ट्रिटमै बस्थे सुवर्ण शमशेर । उनले त्यही मुकाम बनाएर नेपाली कांग्रेस स्थापनामा सहयोग गरे । आर्थिक, भौतिक सहयोग छँदै थियो, सैन्य सहयोगमा समेत सुवर्णविनाको २००७ सालको नेपाली कांग्रेसको क्रान्ति अपूरो हुने थियो । सुवर्णले यो स्ट्रिटमा हजारौँ नेपाली कांग्रेसका नेता–कार्यकर्ताहरुलाई पालेका थिए, चन्दा दिएका थिए । अहिले क्यामेक स्ट्रिटको नाम परिवर्तन भएर अवनिन्द्रनाथ ठाकुर शरनी भएको छ । तर, सुवर्णको नेपाली क्रान्ति र कांग्रेसको राजनीतिको योगदानमा कुनै परिवर्तन भएको छैन । उही छ । सुवर्णविनाको नेपाली कांग्रेस, २००७ को क्रान्ति र नेपाली राणा सत्ता हटाउने अभियान अपूरो हुन्छ ।
पार्क स्ट्रिटको बसाइ सकेर हामीले कोलकाताका प्लानेटोरियस आसपास, भिक्टोरिया पार्क हुँदै हाउरा बिज्र आदि सबै भ्यायौं । हामी एसियाका प्रथम नोवेल पुरस्कार विजेता रवीन्द्रनाथ टैगोरको जन्मघर ठाकुरबाडी पुग्यौं । हाल विश्वविद्यालय बनेको टैगोरका कोठा कोठामा प्रवेश गर्न हामी सफल भएनौं । १० बजेपछि मात्रै आउने गार्डको उर्दी पनि हाम्रो यात्रा तालिका खलबलिने स्तरको थियो । त्यसैले हामीले टैगोरको जन्मघर बाहिरबाटै हेर्यौं । टैगोरको भूमि टेक्नु नै हाम्रो मुख्य खुसीको क्षण हो । टैगोर मुकाम पुग्दा मैले नेपालका जयपृथ्वी बहादुर सिंह सम्झिएँ ।
सिंहले सन् १९३१ मा प्रकाशन भएको गोल्डेन बुक अफ टैगोरमा शुभकामना दिएका थिए । शुभकामना दिने उनी एक्ला नेपाली थिए । साहित्य र कलाका हस्ती टैगोर र मानवतावादी दार्शनिक सिंह आज यो धर्तीमा छैनन् । मेरो हातमा सिंहको ‘मानतावाद’ भन्ने पुस्तक थियो । सामुन्ने थियो टैगोरको जन्मघर ।
गहिराे, गजब ।
शब्द लेखन बबाल 😍यसमा लभ कहानी थोरै तिनै भयको भय उपन्यास भन्दा कम लागेन 🤩🤩
लु गज्जब लाग्यो !! एक सासमा पढिसिध्याइयो!! बधाई छ बिराट जि!
गज्जब लेखन। कोलकाता मेरो पनि प्रिय स्थान हो। तर मेरा रुचिका विषय धार्मिक, साहित्यिक तथा सांस्कृतिक छन्। दक्षिणेश्वर मन्दिर र बेलुर मठ छुटेछन् कि क्या हो? अनि बिरला मन्दिर? बङ्गाली अखबार आनन्द बाजार पत्रिका? तीन पटक कोलकाता घुमिसकेको मलाई फेरि कहिले जाऔँ जस्तै बनायो लेखले।
म आफू पनि तपाईहरु सङै कोलकाता घुमफिर गरिरहेको महसुस गरे, कोलकातासङको नेपाली आर्थिक तथा राजनीतिक सम्बन्ध लगायत १९ औ देखी २२ औ शताब्दीको बिकासको समष्टिगत झल्को, हाते रिक्सा, एम्बेस्डर, त्याहाको राजनीतिक चित्रण सबै गजब लाग्यो, 🙏🙏🙏!!!
सुक्ष्म अध्यन, गहिरो बिस्लेषण !! यात्रा साहित्यलाई राजनीतिसंग तुलना गर्दै लेखिएको एउटा पठनिय आलेख !!
सुन्दर र सुललित लेखन। कति धेरै जानकारी हाे बिराट जिसँग। हुन त पत्रकारकाे काम नै जानकारी बटुल्ने। तर सुचनालाइ यति मिहिन र राेचक ढंगले प्रस्तुत गर्नु लेखककाे माैलिक स्ट्रेन्थ मान्छु म।