विपद् जोखिम पूर्वतयारी तथा प्रतिकार्यमा गम्भीर हुन गृहमन्त्रीकाे निर्देशन (भिडिओ) – Nepal Press

विपद् जोखिम पूर्वतयारी तथा प्रतिकार्यमा गम्भीर हुन गृहमन्त्रीकाे निर्देशन (भिडिओ)

काठमाडौं । गृहमन्त्री एवं विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन कार्यकारी समितिका अध्यक्ष बालकृष्ण खाणले मनसुनजन्य विपद्का घटनाहरुबाट जनधनको क्षति न्यून गर्न पूर्वतयारी तथा प्रतिकार्यमा गम्भीर भएर लाग्न सम्बन्धित मन्त्रालय, विषयगत निकायहरु तथा सुरक्षा निकायलाई निर्देशन दिएका छन् ।

विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन कार्यकारी समितिको साेमबार बसेको १३ औं बैठकमा मन्त्री खाणले यो वर्षका लागि भएका तयारी, जनशक्तिको अवस्था एवं साधनस्रोतको विवरणसहितको विस्तृत कार्ययोजना आजै लिखित रुपमा मन्त्रालयमा पेश गर्न पनि निर्देशन दिएका छन् ।

बैठकमा मनसुन पूर्वतयारी तथा प्रतिकार्य राष्ट्रिय कार्ययोजना २०७९ लगायतका एजेण्डामा विस्तृत छलफल भएको छ । बैठकमा स्वास्थ्य तथा जनसंख्यामन्त्री विरोध खतिवडाले प्रतिकार्यमा जिम्मेवार निकायहरुको आपतकालीन सम्पर्क नम्बरहरु सर्वसाधरणसम्म पुग्नेगरी सञ्चार गर्न सुझाव दिएका थिए ।

सहरी विकासमन्त्री रामकुमारी झाँक्रीले एकीकृत विकासमा विपद्सम्बन्धी विषयवस्तुलाई समावेश गरिनुपर्ने धारणा राखिन् ।

मुख्यसचिव शंकरदास बैरागीले उद्दार र राहतमा तलदेखि माथिसम्मका निकायबीच समन्वय र रणनैतिक स्थानहरुमा पर्याप्त मात्रामा उपकरणहरुको व्यवस्था गर्न आवश्यक रहेकोमा जोड दिए ।

कार्यक्रममा विभिन्न मन्त्रालयका सचिव, सुरक्षा निकायका प्रमुख तथा प्रतिनिधिहरु, नेपाल रेडक्रस सोसाइटी एवं नेपाल चेम्बर अफ कमर्शका प्रतिनिधिहरुले आफ्ना मन्त्रालय तथा निकायबाट भएको पूर्वतयारीको अवस्था तथा प्रतिकार्यको योजनाबारे जानकारी गराएका थिए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर