७ सय पालिकामा एक्लै लडेको एमालेलाई ५३ ठाउँको तालमेल कति फाइदाजनक ? (सूचीसहित) – Nepal Press

७ सय पालिकामा एक्लै लडेको एमालेलाई ५३ ठाउँको तालमेल कति फाइदाजनक ? (सूचीसहित)

कांग्रेसले गठबन्धनबाट १२८ पालिका प्रमुख जित्दा एमालेले ७ मात्र जित्यो

काठमाडौं । गठबन्धन दलहरुले पछिल्लो समय भाषण र अन्तर्वार्ताहरुमा जोड दिएर भन्ने गरेका छन् कि स्थानीय तहमा एमाले एक्लै लडेको हो । तर, उसले पनि देशभर भेटे जतिसँग गठबन्धन गरेको हो ।

निर्वाचन आयोगको अन्तिम तथ्यांक र जिल्लाहरुको रिपोर्टका आधारमा एमाले ७ सयवटा स्थानीय तहमा एक्लै प्रतिस्पर्धामा उत्रिएको थियो । उसले ५३ पालिकामा भने सत्ता गठबन्धनको राष्ट्रिय जनमोर्चाबाहेक सबै दलसँग फरक फरक पालिकामा तालमेल गरेको थियो । राप्रपा, विप्लव र स्वतन्त्र (बागी) हरुसँग पनि तालमेल गरेको देखिन्छ ।

तर, एमालेले जितेका २०५ पालिका प्रमुखमा गठबन्धनको सहायताले जितेको संख्या भने नगन्य छ । एमालेले गठबन्धनबाट ७ ठाउँमात्रै जितेको छ । बाँकी १९८ पालिका प्रमुख अधिकांश ठाउँमा एमालेले गठबन्धनलाई हराएर जितेको हो ।

कांग्रेसले सार्वजनिक गरेको प्रतिवेदनअनुसार गठबन्धनबाट उसले १२८ पालिका प्रमुख जितेको छ । कांग्रेसले जितेका ३२९ पालिका प्रमुखमध्ये एक्लै जितेको २०१ ठाउँमा हो । गठबन्धन नभएको अवस्थामा कांग्रेस र एमालेको शक्ति बराबरी देखिन्छ । लोकप्रिय मतको हिसाबले पनि दुवै दल बराबर छन् । तर, गठबन्धनबाट कांग्रेसले राम्रो फाइदा पाएको छ ।

एमालेले विभिन्न जिल्लामा कांग्रेसका असन्तुष्टहरुसँग चुनावी तालमेल गरेको थियो । तनहुँमा पूर्वकांग्रेस नेता गोविन्दराज जोशीको समूहले तीन तहमा भागबन्डासहित एमालेसँग तालमेल गरेको थियो । डडेलधुरामा कांग्रेसले कारबाही गरेका कर्ण मल्ल समूहले नेपाली कांग्रेस बीपीबाट पाँच तहमा भागबन्डासहित तालमेल गर्दा दुई तहमा एमालेलाई निःशर्त सहयोग गरेको थियो ।

एमालेले तालमेल गरेका ५३ तहमध्ये बढीजसोमा सत्तारूढ गठबन्धनमा आवद्ध दलहरूसँग चुनावी गठबन्धन भएको देखिन्छ । जसअनुसार एमालेको तालमेल भएको संख्यामा झण्डै ५५ प्रतिशत हिस्सा सत्तारूढ गठबन्धनभित्रकै दलहरूले लिन्छन् । एमालेले २९ तहमा सत्तारूढ गठबन्धनकै दलहरूसँग चुनावी तालमेल गरेको छ । उसले सबैभन्दा बढी १६ तहमा नेपाली कांग्रेससँग चुनावी तालमेल गरेको छ । दुई तहमा कांग्रेससँगै विप्लव नेतृत्वको नेकपा जोडिएको देखिन्छ ।

त्यस्तै माओवादी केन्द्रसँग ८ तहमा तालमेल गरिएको छ । जनता समाजवादी पार्टीसँग ३ तहमा तालमेल गरेको देखिएको छ । आफू विभाजित भएर जन्मिएको पार्टी नेकपा एकीकृत समाजवादीसँग समेत एमालेले २ तहमा तालमेल गरेको देखिएको छ ।

यसबाहेक दलीय आधारमा एमालेले राजेन्द्र लिङ्देन नेतृत्वको राप्रपासँग ६, नेपाली कांग्रेस बीपीसँग ५ र लोकतान्त्रिक समाजवादी पार्टीसँग १ तहमा चुनावी तालमेल गरेको छ । एमालेले यसपटक विभिन्न दलका असन्तुष्ट, बागी र स्वतन्त्र उम्मेदवारहरूसँग पनि भागबन्डाका आधारमा तालमेल गरेको देखिएको छ । यसमा तनहुँमा पूर्वकांग्रेस नेता जोशीको समूहसँग तीन तहमा र विभिन्न पार्टीका बागी र स्वतन्त्र उम्मेदवारहरूसँग ९ तहमा तालमेल गरेको छ ।

एमालेले यसरी गठबन्धन गर्दा ११ नगरपालिकामा मेयर, २० गाउँपालिकामा अध्यक्ष, ६ नगरपालिकामा उपमेयर र १५ गाउँपालिकामा उपाध्यक्ष पद लिएर तालमेल गरेको छ ।

रोल्पाका दुई गाउँपालिकामा वडाध्यक्षमात्रै लिएर पनि एमालेले तालमेल गरेको छ । जसमा थवाङ गाउँपालिका र सुनछहारी गाउँपालिका छन् । यहाँ कांग्रेस र नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपा समर्थित उम्मेदवारसँग एमालेको तालमेल भएको थियो ।

एमाले घाटामा गएको तालमेल

५३ तहमा एमालेले तालमेल गरे पनि बहुसंख्यक ठाउँमा उसले हार व्यहोर्नुपरेको छ । कुल भागबन्डा भएका पदहरूमध्ये एकतिहाइ कम १५ तहमा मात्रै एमालेले सफलता पाएको छ ।

कांग्रेससँग भागबन्डा हुँदा एमालेले पाएका ४ उपमेयरमध्ये एकजनामात्रै जितेको छ । यस्तै ३ वटा गाउँपालिका अध्यक्षमध्ये एउटामा जित्दा २ वटामा हारेको छ । ७ उपाध्यक्षमध्ये ३ मा जित्दा ४ मा हारेको छ ।

यस्तै स्वतन्त्रसँग भएको तालमेलमा पाएको १ मेयर जित्दा, ६ अध्यक्षमध्ये २ जितेर ४ हारेको छ । यस्तै २ उपाध्यक्ष हारेको छ । माओवादी केन्द्रसँग भागबन्डामा पाएका २ वटै मेयर एमालेले हारेको छ । ३ अध्यक्ष पदमा जितेको छ भने एउटा हारेको छ । यस्तै ३ उपाध्यक्ष पदमा २ जितेर १ हारेको छ ।

नेकपा एससँग तालमेल गरेर भागबन्डामा पाएका २ अध्यक्ष पदमा एमाले पराजित भएको छ । जसपासँग भागबन्डा भएका १ मेयर, २ अध्यक्ष र १ उपाध्यक्ष सबै पदमा एमाले हारेको छ ।

यस्तै राप्रपासँग तालमेल भएका ५ मेयरमध्ये १ मेयर जित्दा ४ मा एमाले हारेको छ । एक अध्यक्ष पद जितेको छ । उता लोसपासँग वीरगञ्ज महानगरपालिकाको मेयर लिएर तालमेल गरेको एमाले त्यहाँ पनि पराजित भयो ।

कांग्रेसको कारबाही भोगिरहेका कांग्रेसका पूर्वसहमहामन्त्री जोशीको समूहसँग तनहुँमा भएको तालमेल पनि पूर्ण रुपमा कामयाव देखिएन । जहाँ एक मेयर र एक उपमेयरमा एमालेले हार व्यहोर्‍यो भने एक अध्यक्ष जितेको छ ।

यस्तै प्रकृतिको डडेलधुरामा कांग्रेसबाटै कारबाही पाएका कर्ण मल्लको समर्थनमा पाँच स्थानीय तहमा कांग्रेस बीपीसँगको तालमेल पूर्ण रुपमा असफल देखियो । जहाँ एक उपमेयर, दुई अध्यक्ष र दुई उपाध्यक्ष पदमा एमाले उम्मेदवार पराजित भए ।

यस्तै रोल्पाका थवाङ र सुनछहरी गाउँपालिकामा माओवादी केन्द्रविरुद्ध कांग्रेस र नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपा समर्थित स्वतन्त्र उम्मेदवारसँग भएको तालमेलमा पनि एमाले सफल देखिएन ।

थवाङमा गठबन्धन असफल भए पनि एमालेले एउटा वडा जित्यो । सुनछहरीमा पनि गठबन्धन असफल हुँदा कांग्रेसले एउटामात्रै वडा जित्न सक्यो ।

एमालेको तालमेलः कहाँ सफल कहाँ असफल ?
प्रदेश १
१. ताप्लेजुङको मेरिङदेउ गाउँपालिकामा उपाध्यक्षमा माओवादीका वागी स्वतन्त्र उम्मेदवार दावा छिरिङ शेर्पासँग तालमेल गरेर पनि अध्यक्ष हारेको ।

२. ताप्लेजुङ सिदिङ्वा गाउँपालिका उपाध्यक्षमा माओवादीका बागी स्वतन्त्र उम्मेदवार जीवनकुमार ताम्लिङसँग तालमेल गरेर अध्यक्ष जितेको ।

३. पाँचथर फाल्गुनन्द गाउँपालिका केही वडा दिएर जसपासँग तालमेल गरेर पनि अध्यक्ष/उपाध्यक्ष हारेको ।

४. पाँचथरको फिदिम नगरपालिकामा राप्रपासँग तालमेल गरेर पनि मेयरमा हारेको ।

५. झापाको कचनकवल गाउँपालिकामा कांग्रेससँग तालमेल गरेर उपाध्यक्ष जितेको ।

६. भोजपुरको आमचोक गाउँपालिकामा कांग्रेससँग तालमेल गरेर पनि अध्यक्ष हारेको ।

७. खोटाङको हलेसी तुवाचुङ नगरपालिकामा माओवादी केन्द्रसँग तालमेल गरेर पनि मेयरमा पराजित ।

८. ओखलढुंगाको मानेभञ्ज्याङ गाउँपालिकामा जसपासँग तालमेल गरेर पनि अध्यक्षमा पराजित ।

मधेस प्रदेश
९. वीरगञ्ज महानगरपालिका लोसपासँग तालमेल गरेर पनि मेयर पदमा पराजित ।

बागमती प्रदेश
१०. दोलखाको वैत्तेश्वर गाउँपालिकामा उपाध्यक्ष पदमा कांग्रेसका बागी उम्मेदवार स्वतन्त्र छविलाल तामाङसँग तालमेल गरेर पनि अध्यक्षमा हारेको ।

११. नुवाकोटको किस्पाङ गाउँपालिकामा माओवादी केन्द्रसँग तालमेल गरेर अध्यक्ष जितेको ।

१२. सिन्धुपाल्चोकको सुनकोशी गाउँपालिकामा माओवादी केन्द्रसँग तालमेल गरेर अध्यक्ष जितेको ।

१३. चितवनको भरतपुर महानगरपालिकामा राप्रपासँग तालमेल गरेर पनि मेयरमा हारेको ।

१४. चितवनको माडी नगरपालिकामा राप्रपासँग तालमेल गरेर मेयर जितेको ।

गण्डकी प्रदेश
१५. गोरखाको पालुङटार नगरपालिकामा जसपासँग तालमेल गरेर पनि उपमेयर हारेको ।

१६. मनाङको नासोँ गाउँपालिकामा उपाध्यक्ष पदका स्वतन्त्र उम्मेदवार अर्विन गुरुङसँग तालमेल गरेर पनि अध्यक्ष हारेको ।

१७. मनाङको मनाङ ङिस्याङ गाउँपालिकामा उपाध्यक्षका स्वतन्त्र उम्मेदवार छिरिङ गुरुङसँग तालमेल गरेर अध्यक्ष जितेको ।

१८. तनहुँको व्यास नगरपालिकामा गोविन्दराज जोशी समूहसँग तालमेल गरेर उपमेयर हारेको ।

१९. तनहुँको ऋषिङ्ग गाउँपालिकामा माओवादी केन्द्रसँग तालमेल गरेर पनि अध्यक्षमा हारेको ।

२०. तनहुँ बन्दीपुर गाउँपालिकामा गोविन्दराज जोशी समूहसँग तालमेल गरेर अध्यक्ष जितेको ।

२१. तनहुँको भानु नगरपालिकामा गोविन्दराज जोशी समूहसँग तालमेल गरेर पनि मेयरमा हारेको ।

२२. नवलपरासी (बर्दघाट सुस्तापूर्व)को गैंडाकोट नगरपालिकामा राप्रपासँग तालमेल गरेर पनि मेयरमा हारेको ।

२३. बागलुङको बागलुङ नगरपालिकामा राप्रपासँग तालमेल गरेर पनि मेयरमा हारेको ।

लुम्बिनी प्रदेश
२४. गुल्मीको धुर्कोट गाउँपालिकामा माओवादी केन्द्रसँग तालमेल गरेर उपाध्यक्ष जितेको ।

२५.रुकुम पूर्वको सिस्ने गाउँपालिकामा कांग्रेससँग तालमेलमा उपाध्यक्ष जितेको ।

२६. रोल्पाको त्रिवेणी गाउँपालिकामा कांग्रेससँग तालमेल गरेर अध्यक्ष जितेको ।

२७. रोल्पाको थवाङ गाउँपालिकामा विप्लव र कांग्रेससँग तालमेल गरेर १ जना वडाध्यक्ष जितेको ।

२८. रोल्पाको परिवर्तन गाउँपालिकामा कांग्रेससँग तालमेल गरेर पनि उपाध्यक्ष हारेको ।

२९.रोल्पाको माडी गाउँपालिकामा कांग्रेससँग तालमेल गरेर पनि अध्यक्ष हारेको ।

३०. रोल्पाको सुनछहारी गाउँपालिकामा कांग्रेस र विप्लवको स्वतन्त्र समूहसँगको तालमेल नै हारेको ।

३१. प्यूठानको झिमरुक गाउँपालिकामा माओवादी केन्द्रसँग तालमेल गरेर पनि उपाध्यक्ष हारेको ।

कर्णाली
३२. सल्यानको कुमाख गाउँँपालिकामा कांग्रेससँग तालमेल गरेर उपाध्यक्ष जितेको ।

३३. सल्यानको बनगाड कुपिण्डे नगरपालिकामा उपाध्यक्ष पदमा कांग्रेसका बागी उम्मेदवार दिपेन्द्र विष्टसँग तालमेल गरेर पनि मेयर हारेको ।

३४. जुम्लाको गुठिचौर गाउँपालिकामा कांग्रेससँग तालमेल भएर पनि उपाध्यक्षमा हारेको ।

३५. कालिकोटको तिलागुफा नगरपालिकामा कांग्रेससँगको तालमेलमा उपमेयर जितेको ।

३६. कालिकोटको पचालझरना गाउँपालिकामा कांग्रेससँगको तालमेलमा पनि उपाध्यक्ष हारेको ।

३७.कालिकोटको महाबैमा माओवादी केन्द्रसँग तालमेल गरेर उपाध्यक्ष जितेको ।

३८. हुम्लाको अदानचुली गाउँपालिकामा उपाध्यक्षका स्वतन्त्र उम्मेदवार लोकेन्द्र भण्डारीसँग तालमेल गरेर पनि अध्यक्ष हारेको ।

३९. हुम्लाको खार्पुनाथ गाउँपालिकामा नेकपा एससँग तालमेल गरेर पनि अध्यक्षमा हारेको ।

४०. हुम्लाको नाम्खा गाउँपालिकामा अध्यक्षका स्वतन्त्र उम्मेदवार सूर्यबहादुर लामासँग तालमेल गरेर पनि उपाध्यक्ष हारेको ।

४१. रुकुम पश्चिमको आठबीसकोट नगरपालिकामा कांग्रेससँग तालमेल गरेर उपमेयर हारेको ।

४२. रुकुम पश्चिमको चौरजहारी नगरपालिकामा कांग्रेससँग तालमेल गरेर पनि उपमेयर हारेको ।

४३. रुकुम पश्चिमको मुसिकोट नगरपालिकामा कांग्रेससँग तालमेल गरेर पनि उपमेयरमा हारेको ।

४४. रुकुम पश्चिमको सानीभेरी गाउँपालिकामा कांग्रेससँग तालमेल गरेर पनि उपाध्यक्षमा हारेको ।

सुदूरपश्चिम
४५. बाजुराको त्रिवेणी नगरपालिकामा माओवादी केन्द्रसँग तालमेल गरेर पनि मेयर हारेको ।

४६. बाजुराको बुढीनन्दा नगरपालिकामा उपमेयरका स्वतन्त्र उम्मेदवार रामबहादुर बोहरासँग तालमेल गरेर मेयर जितेको ।

४७. अछामको मेल्लेख गाउँपालिकामा नेकपा एससँग तालमेल गरेर पनि अध्यक्ष हारेको ।

४८. बैतडीको सुर्नया गाउँपालिकामा राप्रपासँग तालमेल गरेर अध्यक्ष जितेको ।

४९. डडेलधुराको अजेयमेरु गाउँपालिकामा नेपाली कांग्रेस बीपीसँग तालमेल गरेर पनि अध्यक्षमा हारेको ।

५०. डडेलधुराको अमरगढी नगरपालिकामा नेपाली कांग्रेस बीपीसँग तालमेल गरेर पनि उपमेयरमा हारेको ।

५१. डडेलधुराको गन्यापधुरा गाउँपालिकामा नेपाली कांग्रेस बीपीसँग तालमेल गरेर पनि उपाध्यक्षमा हारेको ।

५२. डडेलधुराको नवदुर्गा गाउँपालिकामा नेपाली कांग्रेस बीपीसँग तालमेल गरेर पनि उपाध्यक्षमा हारेको ।

५३. डडेलधुराको भागेश्वर गाउँपालिकामा नेपाली कांग्रेस बीपीसँग तालमेल गरेर पनि अध्यक्षमा हारेको ।

तालमेलको स्थिति जनाउने तालिका


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर