आईजीपी नियुक्तिसम्बन्धी मुद्दा हेर्दाहेर्दैमा – Nepal Press

आईजीपी नियुक्तिसम्बन्धी मुद्दा हेर्दाहेर्दैमा

काठमाडौं । नेपाल प्रहरीको आईजीपी नियुक्तिविरुद्धको रिट निवेदनमाथिको सुनुवाइ हेर्दाहेर्दैमा रहेको छ । कामु प्रधानन्यायाधीश दीपक कार्की र न्यायाधीश कुमार चुँडालको संयुक्त इजलासमा भएको सुनुवाइ नटुंगिएपछि हेर्दाहेर्दैमा रहेको हाे ।

तत्कालिन तीन जना डीआईजीले एआईजी बढुवा सिफारिसविरुद्ध हालेको रिट र एआईजी विश्वराज पोखरेलले धिरजप्रताप सिंहको आईजीपी बढुवाविरुद्ध हालेको रिटको एकै ठाउँमा राखेर सुनुवाइ भइरहेको छ। सुरुमा एआईजी सिफारिसविरुद्धको रिटमा बहस भइरहेको थियो ।

एआईजी विश्वराज पोखरेलले आफूभन्दा १७ महिना जुनियर एआईजी सिंहलाई आईजीपी बनाएको भन्दै त्यसविरुद्ध सर्वोच्च अदालतमा रिट दर्ता गरेका थिए । गत वैशाख २२ गते सर्वोच्च अदालतले पोखरेलको रिटमा प्रारम्भिक सुनुवाइ गर्दै अन्तरिम आदेश दिन अस्वीकार गरे पनि जेठ १७ गतेका लागि पेसी सार्न नमिल्ने गरी अन्तिम सुनुवाइ तोकेको थियो ।

तर, त्यसको तीन दिनपछि अवकाश पाइसकेका तीनजना डीआईजीको रिटको सुनुवाइ गर्दै सर्वोच्च अदालतले उनीहरूको मुद्दामा पोखरेलको मुद्दासमेत सँगै राखेर एकै ठाउँमा हेर्ने आदेश गरेको हो ।

अवकाश पाइसकेका डीआईजीले हालेको रिटमा विपक्षी बनाइएकाहरूलाई म्याद तामेल नभएको र उनीहरूको लिखित जवाफसमेत नपरेको भन्दै जेठ १७ लाई पेसी सारिएको थियो ।

गत वैशाख १९ मा अवकाश पाइसकेका डीआईजीहरू घनश्याम अर्याल, ईश्वरबाबु कार्की र प्रकाशजङ कार्कीले एआईजी सिफारिसविरुद्ध दर्ता गरेको रिटमा पोखरेलले आईजीपी बढुवाविरुद्ध दर्ता गरेको रिटलाई पनि एकसाथ राखेर हेर्ने अदालतले आदेश गरेको थियो ।

सरकारले गत चैतमा थपिएका तीन एआईजी दरबन्दीमा धिरजप्रताप सिंह, बसन्त पन्त र रवीन्द्रबहादुर धानुकलाई बढुवा गरेको थियो । सरकारले वरिष्ठता मिचेर उनीहरुलाई बढुवा गरेको निवेदकहरुको दावी छ ।

सरकारले सिंहलाई आईजीपी बनाएसँगै पोखरेल बिदामा छन् । उनको एक महिनाको बिदा स्वीकृत भएर पछिल्लोपटक १० दिन थप्न खोज्दा आईजीपी सिंहले अस्वीकृत गरेका छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *